साढे चार हजारभन्दा बढीमा परीक्षण हुँदा २७ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ । पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या नौ लाख ६१ हजार ७८१ पुगेको छ । निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । बिहीबार संक्रमणबाट कसैको पनि निधन भएको छैन ।

मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन, कास्की र बाँके रहेका छन् । शून्य संक्रमित भएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन् । नेपालमा संक्रमणदर १७.८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ३०२, संस्थागत आइसोलेसनमा ७४, आइसीयुमा २८ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ । पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया