सार्वजनिक स्थलमा यौन दुव्र्यहार गर्ने खोज्दै बाँके प्रहरी, ११ समातिए

सार्वजनिक स्थल तथा सार्वजनिक सवारी साधनमा महिलामाथि हुने हिंसा नियन्त्रण गर्न बाँके प्रहरीले सेफ्टी पिन अभियान सुरु गरेको छ । सार्वजनिक स्थल तथा यातायातमा हुने भीडभाडको फाइदा उठाएर महिलाहरुलाई जिस्काउने, असहज महसुस हुने खालका गतिविधि गर्ने, यौन दुव्र्यवहारका घटना नियन्त्रण गर्न प्रहरीले सेफ्टी पिन अभियान सुरु गरेको हो ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले महिला तथा बालिकाहरुको सुरक्षाका लागि सेफ्टी पिन अभियान सुरु गरिएको जानकारी दिएका छन् । अभियान अन्तर्गत बाँके प्रहरीले सार्वजनिक स्थल तथा बसमा प्रहरीलाई साधा पोशाकमा खटाउन सुरु गरेको हो । ‘प्रहरीको निगरानी छ भन्ने बित्तिकै पनि सार्वजनिक स्थलमा महिला माथि हुने हिंसाका घटनामा कमी आउन सक्छ’, प्रहरी उपरीक्षक रानाले भने, ‘महिलाहरु जिस्काउने खालका गतिविधि गर्नेलाई सम्झाउने, अभिभावकको जिम्मा लगाउने र गम्भीर खालका दुव्र्यवहार गर्नेलाई, यौन हिंसा गर्नेलाई कानुनी दायरामा ल्याइने छ ।’

प्रहरीले सार्वजनिक स्थलमा हुने त्यसखालका हिंसाका घटनाको प्रमाण जुटाउन समेत आन्तरिक योजना बनाएको प्रहरी प्रमुख राना बताउँछन् । ‘दोषीलाई कानुनी कठघरामा पुर्याएर सजाय दिलाउनका लागि प्रमाण आवश्यक पर्छ, हामी त्यस्ता घटनामा दोषी उम्कन नपाउन् भनेर प्रमाण समेत जुटाउने छौं’, उनले भने ।

बाँके प्रहरीले सार्वजनिक स्थल, यातायातमा रातीको समयमा समेत प्रहरी परिचालन गरेको छ । साधा पोशाकमा रहेका महिला तथा पुरुष प्रहरीले महिला प्रताडिन हुन सक्ने स्थलको अध्ययन गरी खटिने, प्रमाण जुटाउने र कारवाहीका लागि पक्राउ गर्ने सम्मका कार्य गर्नेछ । ‘दुव्र्यवहारका घटनामा अब तत्काल एक्सन लिइनेछ’, प्रहरी प्रमुख राना भन्छन् ।
प्रहरीले सार्वजनिक यातायातका कम्पनीहरुसँग पनि त्यसबारे समन्वय गरेको छ । ‘महिलाहरुलाई सुरक्षित महसुस गराउने उद्देश्य प्रहरीको हो’, उनले भने ।

यसैबीच प्रहरीले दुई दिनमा ११ जनालाई महिला तथा किशोरीहरुलाई जिस्काएको, अभद्र व्यवहार गरेको आरोपमा शुक्रबार नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ११ पुरुषलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया