९ महिना सिनेमा हल बन्द हुँदा २ अर्ब बढी घाटा, पौष १० गतेबाट खोल्ने

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि करीब ७ महिना देशका हरेक क्षेत्र बन्द भए । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दियो । अहिले फिल्म क्षेत्रबाहेक लगभग सबै क्षेत्र खुलिसकेका छन् । दशैंदेखि फिल्मको छायांकन पनि सुरु भएका छन् । तर, ९ महिनादेखि ताला लागेको सिनेमा हल अझै खुल्न सकेको छैन ।  फिल्म सम्बद्ध संघ-संस्थाहरुले फिल्म निर्माण, प्रदर्शन र वितरण खुल्ला गर्न प्रधानमन्त्रीदेखि सरकारी निकायका विभिन्न व्यक्तिसँग छलफल गर्दा समेत सरकारले फिल्म क्षेत्रलाई सञ्चालन गर्न चासो देखाएको छैन ।

सरकारले फिल्म क्षेत्रलाई सौतेनी व्यवहार गरेको भन्दै हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले पौष १० गतेबाट सिनेमा हल खोल्ने एकपक्षिय निर्णय गरेको छ । सोमवार आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल चलचित्र संघले ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्ने जानकारी दिएको हो । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने पनि संघले बताएको छ । सरकार र डब्लूएचओले जारी गरेको सुरक्षा सुरक्षाका मादण्ड अपाएर सिनेमा हल खोल्ने संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए ।  उनले कोरोनाका कारण ९ महिनादेखि देशभरका सिनेमा हल पूर्ण रुपमा बन्द हुँदा २ अर्बभन्दा बढी घाटा भएको बताएका छन् । उनले भने- ‘९/१० महिनाको अवधिमा २ अर्बभन्दा बढी घाटा भएको अनुमान गरिएको छ ।

मल्टीप्लेक्सको अपरेटिङ खर्च नै महिनाको १० लाखभन्दा बढी छ । सिंगल हलको खर्च पनि त्यस्तै छ । सरकारसँग वार्ता गर्न जाँदा यसको डाटा लिएर जान्छौं ।’

source : filmykhabar.com

प्रतिक्रिया

प्रतिक्रिया