बर्दियामा : हजारौँ घर डुबानमा, बजार पनि जलमग्न,

भावुक योगी/ बर्दिया
बर्दियाको बबई नदी सहित स्थानिय खोलामा आएको बाढीका कारण हजारौँ घर डुबानमा परेका छन । बाढीका कारण सदरमुकाम गुलरिया सहित भुरीगाउँ, बाँसगढी, मगरागढी, ठाकुरद्धारा लगायतका मुख्य बजार पनि जलमग्न भएका छन । बाढीका कारण सदरमुकाम नेपालगञ्ज गुलरिया र भुरीगाउँ वेलवा गुलरीया जोडने हुलाकी सडक समेत अवरुद्ध भएको छ ।
बाढीका कारण बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको जिल्ला अस्पताल समेत डुवानमा परेको छ । बाढीका कारण गुलरियाको बालापुर, सूर्यगौडी, ईन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुर लगायतका गाउँ डुवानमा परेपछि त्यस क्षेत्रका हजारौं स्थानीयबासी प्रभावित बनेका छन ।
बाढीका कारण ठाकुरबाबा नगरपालिकाको आम्वासा, भुरीगाउँ बजार, रानीपुर, नेउलापुर, बगनाह, मिर्चैया, ठाकुरद्धारा, सूर्यपटुवा यसैगरी बारबर्दिया नगरपालिका पदनाहा, घोरपिट्टा, रानीपुर, धधवार, मगरागाडी र बाँसगढी नगरपालिका लगायतका वस्तीका हजारौं स्थानीय विस्थापित भएका छन । बाढीबाट विस्थापितहरु सुरक्षित स्थानको खोजी गर्दै विद्यालय, सामुदायिक भवन तथा सडकका किनारमा आश्रय लिएर बसेका छन ।
यस्तै घरको भित्ता भत्कीँदा ठाकुरबाबा नगरपालिका २ की ७० वर्षीया साउनी थारुको ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रवार बबई नदीमा दाउरा झिक्ने क्रममा बारबर्दिया नगरपालिका १० का २९ बर्षीय राजेन्द्र थारु बेपत्ता भएका थिए ।
सुरक्षाकर्मीद्धारा बाढीमा फसेको उद्धार जारी, २ सय परीवारको उद्धारका लागि हेलीकप्टर माग
बाढीका कारण पुर्व पश्चिम राजमार्ग र गुलरिया नेपालगञ्ज सडक केही ठाउँमा भत्किएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरत बहादुर बोहोराका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढीमा फसेकालाई उद्धार गरी सुरक्षित स्थानतर्फ पुर्याईरहेका छन । नेपाली सेनाले डुङ्गा मार्फत पनि उद्धार गरेको
छ ।

 
सदरमुकाम गुलरीयाको संगम बस्ती, बालापुर, मस्जीदीया, खैरापुर लगायतका स्थानमा बाढीमा फसेकालाई उद्धार गर्न नसकिएपछी हेलोकप्टरबाट उद्धारका लागि आग्रह गरीएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीका अनुसार करिव २ सय घर परीवारलाई उद्धार गर्न हेलीकप्टर माग गरीएको हो ।
बबई नदीको बाढी बस्तिमा आउने जोखिम कायमै बबई नदीमा बाढी आउँदा बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकाका केही वडा डुबानको जोखीममा छन ।

 
बबई नदीमा अझैँ पनि खतराको सतह भन्दा माथि पानी रहेकाले दिनभरि नै बाढीको खतरा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले बताउनुभयो । पानीको सतह मापन केन्द्र बबई चेपागंमा विहान साढे आठ बजे पानीको सतह बढेर १० मिटर पुगेको थियो ।
बाढी मानवबस्ती सम्म आईपुग्न झण्डै ३ घण्टा देखि ६ घण्टा लाग्ने जनाईएको छ । मध्यान्न १२ बजे देखि ३ बजे सम्म बबई नदीको बाढी गाउँमा आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान प्रमुख जिल्ला अधिारी विष्णु बहादुर थापाले अनुरोध गर्नु भएको छ । अहिले चेपांगमा पानीको सतह घटदो क्रममा ८.४५ मिटर रहेको छ ।
बबई नदीमा बाढी पूर्व सूचनाका लागि सल्यानको घुयावारी, बबईको चेपाङ्ग र भादापुलमा जडान गरिएका जलमापन मिटरमा राती देखि नै खतराको संकेत देखिएको छ ।
तिन दिन देखि बबई नदीका तटीय क्षेत्रहरु चेपाङ्ग, तुल्सीपुर, घोराई, पदमपुर, अम्वापुर लगायतका क्षेत्रहरुमा मुसलधारे वर्षा भएपछि बबई नदीमा बाढी आएको हो ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि गृहमन्त्री गुलरियामा आउँदै बर्दियाको सदरमुकाम गुलरीयामा बाढी प्रभावित क्षेत्रमा भईरहेको उद्धार र राहतको विषयमा जानकारी लिन गृृहमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली केहीबेरमा गुलरीया आउने बताईएको छ ।

 

बर्दियामा बाढीबाट हजारौँ नागरिक प्रभावित भएको र अझैँ पनि बबई नदीको बाढी गाउँ पस्ने खतरा भएपछी गृहमन्त्रि स्थलगत निरीक्षण गर्न हेलिकप्टरबाट गुलरीया आउन लाग्नु भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया