नेपालमा किंघरियनहरुको जनसंख्या करिब १ हजार ३ सय ५० रहेको छ ।
बिशाल रानामगर

नेपालगन्जन्यूज । बाँकेको सदरमुकाम नेपालगन्जबाट करिब ६ किलोमिटर पुर्वको एउटा गाउँ, करिब अढाई सय घरधुरी रहेको गाउँको अधिकांश घर माटोको गारो र फुसको छानोले बनेका छन् । गाउँ भित्र मुस्किलले तीन मिटरको बाटो छ, बाटोमै जोडिने गरी घरहरु बनाइएका छन् । बिहान पख त्यही साँघुरो बाटोमा कोही भाडा माझिरहेका हुन्छन्, कोेही दाँत माझिरहेका भेटिन्छन् । गाँउकै बिचमा रहेको सानो चोकमा बिहानैदेखि भिडभाड हुन्छ । चोकमै दर्जनबढि साना पसलहरु छन् । केही पकौडा, समोसाका, केही पान अनि गुटखाका अनि कोही किराना र मासुका पसलहरु । यो नेपालभित्र बाँकेमा मात्र बसोबास रहेको किंघरियन जातीहरुको बसोबास रहेको किंघरियनपुर्वा गाउँको बिहानी दृश्य हो ।

कुनै समय गाउँ नै ‘किंगरी’ बजाएर गुजारा चलाउँथ्यो जसका कारण उनिहरुको समुदायको नाम नै किंघरियन रहन गयो । किंगरिलाई किंघरियनहरु ‘चिकारा’ पनि भन्छन् । यो काठ तथा भेडा, बाख्राको छालाबाट बनाइने सारंगीजस्तै आकार भएको एक प्रकारको बाजा हो । किंघरियनहरु किंगरी बजाउँदै विभिन्न गाउँहरुमा डुलेर पैसा अनि खानेकुरा संकलन गरी ल्याउने र परिवार चलाउने काम गर्थे । अहिले यो पेसा लोप हुँदै गएको छ । किंघरियन जातीमा हाल एक मात्र व्यक्ति छन् सुफी मोहम्मद किंघरियन जसले अहिले पनि किंगरी बजाएर गाउँ सहर डुल्दै मागेर परिवार पालिरहेका छन् ।

करिब ६ पुस्ता अगाडि किंघरियनहरु भारतको राजस्थानबाट नेपाल आएर बाँकेको साविकको पुरैनी गाविसको वडा नं. ७ र ८ मा बसोबास गर्ने गरेका किंघरियन समुदायका वृद्धहरु बताउँछन् । राष्ट्रिय जनगणना २०६८का अनुसार नेपालमा किंघरियनहरुको जनसंख्या करिब १ हजार ३ सय ५० रहेको छ । भारतको लखनउ, बहराइच, गोण्डा, बारबंकि क्षेत्रमा समेत किंघरियन जातिको बसोबास रहेको छ । किंघरियन समुदायका ७५ बर्षिय फैज किंघरियनले आफ्ना पुर्खाहरुले किंगरी बजाएरै परिवार पाल्ने गरेको सम्झिए । शिक्षा तथा चेतनाको स्तर अहिले पनि कमजोर रहेको किंघरियन समुदायका फैजले भने, ‘तर अहिलेका धेरै केटाकेटीहरुलाई आफ्नो पुख्र्यौैली पेशाको बारेमा थाहा छ्रैन । अनि माग्ने पेशाको कुरा गर्दा लाज मान्ने गर्छन ।’

किंघरियन समुदायका व्यक्तिहरु किंगरी बजाएर माग्ने पेशाका साथै राजा रजौटा हुने समयमा उनिहरुको दरबारमा गएर नाचगान गर्ने, सफेडा, बिरहा तथा बरेठा नाच गीतहरु देखाउने गर्थे । केहीले जंगलबाट दाउरा तथा फल टिपेर ल्याएर बेची गुजारा चलाउने गरिरहेका छन् । हालै यो समुदायका ३ जना काम गर्न विदेश उडेका छन् यसले पनि किंघरियन समुदायका युवाहरु फरक पेशा तर्फ आकषर््िात हुन थालेको देखाउँछ ।

गाउँमै एउटा प्रावि तहको विद्यालय र एउटा मदरसा पनि सञ्चालनमा छ । त्यस विद्यालयमा २४० जना किंघरियन बालबालिकाहरु भर्ना भएका छन् । जसमा ९४ जना बालिकाहरु छन् । तर विद्यालयका प्रधानाध्यापक सुमन शाह विद्यालय भर्ना गर्ने र छात्रवृत्ति बाँड्ने बेलामा मात्र किंघरियन बालबालिकाहरु विद्यालय आउने गरेको दुखेसो गर्छन् । ‘हामीले घरदैलो तथा अभिभावकहरुसँग छलफल गरेर नियमित विद्यालय ल्याउन प्रयास गर्यौ तर सुधार हुन सकेको छैन’, प्रअ शाहले भने, ‘अभिभावकहरुलाई विद्यालय पठाउन देखाउँदैनन् ।’

बिद्यालयका अनुसार अहिले पनि किंघरियन समुदायमा बालविवाह प्रचलन कायमै छ भने विद्यालय छाड्ने दर पनि २५ प्रतिशत भन्दा बढि छ । बालबालिकाहरु शिक्षित नहुनुको एउटा प्रमुख कारण बालविवाह हो । पुरुषप्रधान संरचना रहेको किंघरियन समुदायमा बालबालिकाहरुको प्राय १२ देखि १४ वर्षको बिचमा विवाह हुने गरेको किंघरियन समुदायबाट पहिलो पटक एसएलसी पास गरेका राहिल किंघरिया बताउँछन् ।

राहिलले भारतबाट एसएलसी र प्रविणता प्रमाणपत्र तह सम्मको अध्धयन गरेका छन् । हाल नेपाल विद्युत प्राधिकरण नेपालगन्जमा कार्यरत राहिल यो समुदायबाट सरकारी जागिर खाने पहिलो व्यक्ति पनि हुन् । उनि पछि उनका दुई छोराहरुले एसएलसी पास गरी हाल भारतमा उच्च शिक्षा हासिल गरिरहेका छन् । राहिल र उनका दुई छोरा गरी हालसम्म किंघरियन समुदायबाट एसएलसी उत्तिर्ण गर्ने तीन जना मात्र हुन् ।

गाउँमा प्रावि तह सम्म र २ कक्षा सम्मको मदरसा मात्र रहेकाले निमावि तहबाट अध्ययन गर्न अर्को गाउँ जानु पर्ने भएकाले पनि विशेषत बालिकाहरुको पढाई प्रावि तहमै टुंगिने गरेको राहिल बताउँछन् । ‘हाम्रा पुर्खाले गाउँने बजाउने र माग्ने पेसा गरे, तर अहिलेका युवाहरु यो पेशाको साटो मजदुरी, कपडा बेच्ने, दाउरा बेच्ने खालका पेशा गरिरहेका छन् तर शिक्षामा अझै पनि हामी पछाडी छौं ।’ राहिल भन्छन् ।

राहिलकै पहलमा गाउँमै मदरसा स्थापना गरिएको छ जसमा हाल १९२ जना विद्यार्थीहरु पढि रहेका छन् । शिक्षा, सचेतना र सरकारी कार्यक्रमहरु नपाएका कारण गाउँको विकास हुन नसकेको मदरसा अहमदिया दारुल इस्लामका व्यवस्थापन समितिका अध्यक्ष खालिद हुसैन किंघरिया बताउँछन् ।

मुस्लिम समुदाय भित्रका सीमान्तकृत किंघरियनहरुको स्थानीय विवाद समाधानको लागि आफ्नै मान्य समुह अहिले पनि प्रचलनमा छ । तत्कालिन राणाहरु तथा राजाको पालामा समेत किंघरियनहरुको मान्य समूहले गाउँका विवादहरु गाउँमै मिलाउने अभ्यास गर्ने गर्थे । गाउँलेको सहमतिमा चौधरी, नायब र कोतवालको रुपमा मान्य समुह बनाउने गरिन्छ । जसमा कोतवालले गाउँमा सूचना तथा खबर पु्र्याउने, नायबले सल्लाह दिने र चौधरीले निर्णय गर्ने, तथा कारवाही गर्ने काम गर्थे ।

हालपनि कोतवालको भूमिकामा रहेका ६५ वर्षीय याकुव किंघरिया ‘मान्य’ परम्पराले समुदायको विवाद समुदायमै समाधान गर्न सहयोग पुगेको बताउँछन् । ‘कोर्ट कचहरी गर्दा समय र पैसाको बर्वादी हुन्छ त्यसैले गाउँमै मिलाउने कोशिश गरिन्छ’, याकुबले भने, ‘प्रहरी प्रशासनको बढ्दो उपस्थितिले अहिले किंघरियनपुर्वामा हुने विवाद समाधान मान्य समुहबाट हुन नसकेमा प्रहरीकोमा जाने गरिन्छ ।’

एक दशक अघि किंघरियन समुदायका बारेमा ‘पहिचान’ नामक किताब लेखेका पत्रकार शुक्रऋषि चौलागाई दश वर्ष अघि र अहिलेको अवस्थामा किंघरियन समुदायमा खासै परिवर्तन आउन नसकेको बताउँछन् । ‘दश वर्ष पहिले र अहिले किंघरियनहरुको शिक्षाको अवस्था, बालविवाह, चेतना तथा सरसफाईको अवस्थामा खासै फरक छैन ।’ चौलागाई भन्छन् ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षसमेत रहेका चौलागाई सरकारले किंघरियनहरुलाई मुस्लिम समुदायको रुपमा गणना गर्नेभएकाले पनि उनिहरुका बारेमा एकिन सरकारी तथ्यांक नभेटिने बताए । ‘किंघरियन समुदाय मुस्लिम जातिनै भएपनि उनिहरुको चाल चलन रहन सहनमा भिन्नता छ’, चौलागाईले भने, ‘तर सरकारले उनिहरुको अस्तित्वलाई जोगाउन र विकासको मुलधारमा ल्याउन लक्षित कार्यक्रम संचालन गरेको छ्रैन जसले उनिहरुको पहिचान नै लोप हुने खतरामा छ ।’

 

प्रतिक्रिया

प्रतिक्रिया