मतदान पर्खंदै जनता

पटकपटक निर्वाचनको तिथि सर्दै गएपनि आम जनता मतदानका लागि पर्खिरहेको धारणा सम्बद्धहरुले व्यक्त गरेका छन् । बिहीबार नेपालगन्जमा गरिएको एउटा कार्यक्रममा सहभागी नागरिक समाजका विभिन्न प्रतिनिधिहरुले आमजनता मताधिकारका लागि आतुर भएको धारणा राखे ।

‘सबै राजनीतिक दलहरुको सहभागिता हुन्छ भने यो पर्खाइको सार्थकता रहन्छ’, स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले नेपालगन्जमा आयोजना गरेको टेलिभिजन संवादमा सहभागीहरुले भने । उनीहरुले आमजनता सिंहदरबारको अधिकार आफ्नो गाउ“टोलमा देख्न चाहेकाले पनि निर्वाचनको व्यग्र प्रतिक्षा रहेको तर्क गरे । ‘यतिबेला कुनै दल निर्वाचनको सहभागिताबाट पछाडी हटे भने उनीहरु स“धैका लागि पछाडी पर्छन्’, सहभागीहरुको भनाइ थियो ।

जिल्लाका विभिन्न भागबाट कार्यक्रममा आएका सहभागीहरुले राजनीतिक दल इमान्दारिता साथ निर्वाचनमा भाग लिए स्वच्छ निर्वाचनका लागि कुनै समस्या नदेखिएको धारणा राखे ।

‘हामी गाउगाउ पुगेका छौं जनता आफ्नो मताधिकार प्रयोग गर्न दिन गन्दैछन्’, बा“के क्षेत्र नं. २ का सांसद दिनेश चन्द्र यादवले भने, ‘कुनै वहानामा पनि दलहरु निर्वाचनबाट भाग्ने अवस्था छैन ।’ अर्का सांसद देवराज भारले निर्वाचनको स्वच्छतामा आयोगको प्रभावकारिता देखिने तर्क गरे । ‘निर्वाचनका बेला मुलुकको शासन संयन्त्र निर्वाचन आयोगको हातमा हुनुपर्छ’, सांसद भारले भने, ‘निष्पक्षताको सुनिश्चितता आयोगले नै गर्न सक्नुपर्छ ।’

अर्का सांसद बादशाह कुर्मीले आफु दुई पटकसम्म स्थानीय निकायको गाविस नेतृत्व स्मरण गर्दै जनता आफ्नो विकासका लागि पनि स्थानीय तहको निर्वाचन पर्खिरहेको बताए । ‘हामीले दुई दशक पर्खायौं’, सांसद कुर्मीले भने, ‘अब पनि एकाध दल समेत निर्वाचनबाट वञ्चित नहुन् भनेरै पटकपटक सार्नुपरेको हो ।’

स्थानीय सामुदायिक टेलिभिजन, भिजन टेलिभिजनको सहकार्यमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले संवाद आयोजना गरेको हो । अभियानमा इन्सेक, ह्युरोन, इओसी नेपाल, नेशनल युथ फेडरेशन नेपाल, युथ एलाइन्स फर इलेक्सन, अकोराब र डि–प्लान लगायतका संस्था संगठित छन् ।

अभियानको नेतृत्व गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जनतालाई अधिकार सम्पन्न बनाउने कुरामा स्थानीय तहको निर्वाचन महत्वपूर्ण पहल कदमी भएको बताए । कार्यक्रममा आफ्ना धारणा राख्दै प्याकुरेलले आचारसंहिता र कानुनको पालना गरे निर्वाचन स्वच्छ हुने बताए ।

अध्यक्ष प्याकुरेलले मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई आम जनता, नागरिक समाज र राजनीतिक दलहरूको समेत जिम्मेवारी भएको बताउदै निर्वाचन शिक्षामा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

संसारका सबै अधिकारकर्मीले सामाजिक न्याय खोजेको बताउँदै अध्यक्ष प्याकुरेलले सामाजिक न्यायका लागि लोकतन्त्रको प्रणाली, मानव अधिकार तथा कानुनी शासनको कार्यान्वयन हुनु पर्नेमा जोड दिए । स्थानीय तहलाई न्यायिक सम्पादन गर्ने जिम्मेवारी दिइएको प्रसंगमा अध्यक्ष प्याकुरेलले गाउँपालिकाका उपाध्यक्ष तथा नगरका उपमेयरलाई राम्रो अवसर मिलेको बताए ।

मानव जीवनमा आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, वन जङ्गल लगायतका विषय स्थानीय तहले टुङ्गाउने बताउँदै अध्यक्ष प्याकुरेलले पछाडि परेका व्यक्तिलाई स्थानीय तहले अवसर दिएको बताए । पहिलो चरणको निर्वाचनमा ५४ प्रतिशत जनजातीले जितेको बताउँदै अध्यक्ष प्याकुरेलले जितेका उम्मेदवारहरूको क्षमता अभिवृद्धिमा जोड दिए ।

स्थानीय तहको म्याद थप र सीमाङ्कनको विषय जनताका लागि आवश्यक नभएको बताउँदै अध्यक्ष प्याकुरेलले राजनीतिक दलका नेताले आफू अनुकूल गर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष तथा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले निर्वाचन स्वच्छ र भयरहित नभए लोकतन्त्र संस्थागत हुन नसक्ने बताए ।

नेपाली काग्रेस बाकेका सभापति किरण कोइराला, नेकपा एमालेका अध्यक्ष अशोक कोइराला, नेकपा माओवादी केन्द्रका संयोजक आइपी खरेल, फोरम लोकतान्त्रिकका अध्यक्ष फुलाराम थारू लगायतले स्थानीय तह निर्वाचनमा जनताको मन जितेका उम्मेदवारलाई सिफारिस गरिएको बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, महासचिव अजय टण्डन, पूर्व महासचिव श्याम शर्मा लगायतले आचारसंहिताको उल्लङ्घन आर्थिक हिसाबले हुने गरेको बताउँदै दलहरूलाई चन्दा नमाग्न आग्रह गरे ।
पछिल्लो दिनमा निर्वाचन महङ्गो हुँदै गएको बताउँदै सामान्य परिवारका व्यक्ति पनि निर्वाचनमा उठन सक्ने अवस्था हुनु पर्ने सहभागीहरूले सुझाव दिएको इन्सेक नेपालगन्जका संयोजक भोला महतले जानकारी दिए ।

नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कनोडिया, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख गणेश रेग्मी, ह्युरोन बा“केका अध्यक्ष प्रल्हाद बहादुर कार्की, नेपालगन्ज सरसफाई अभियानका संयोजक डा. विनोद कर्ण, बार अध्यक्ष बल बहादुर चन्द लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया