नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा सम्शुद्दिन सिद्दिकी र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ ।
नेकपा एमाले बाकेका सचिव रत्न खत्रीले मेयरमा सम्शुद्दिन र उपमेयरमा शान्तिलाई उम्मेदवार बनाउने फाइनल भएको जानकारी दिए । मेयर पदका उम्मेदवार सम्शुद्दिनले पार्टीले उम्मेदवार बनाएको औपचारिक जानकारी प्राप्त भएको नेपालगन्जन्यूजलाई बताए ।
सम्शुद्दिनले यसअघि उपमेयरका रुपमा सफल कार्यकाल पूरा गरिसकेका छन् ।
यसअघि पार्टी केन्द्रीय स्रोतले मेयरमा विजय कुमार गुप्ता र उपमेयरमा रुबि खानको नाममा निर्णायक दबाब आइरहेको जनाएको थियो ।
तर, पार्टी स्थायी कमिटि बैठकले जिल्ला र प्रदेश हुँदै आएको निर्णय र त्यसको प्राथमिकताका आधारमा आफ्नो निर्णय सुनाएको हो ।
‘मधेसी समुदायबाट मेयरमा उम्मेदवारी दिंदा मुस्लिम समुदायबाट उपमेयरको विकल्प थिएन’, एकाएक रुबि खानको नाम किन चर्चामा ल्याइयो ? पार्टी नेता भन्छन्, ‘त्यसैले विजय कुमार गुप्तासँग खानलाई उपमेयरका रुपमा अघि सारिएको थियो ।’
दुई दिन अघिसम्म सम्शुद्दिन सिद्दिकी र शान्ति ढकालको नाममा सहमति बनेको नेपालगन्जलाई एकाएक विजय कुमार गुप्ता र रुबि खानको नाम अघि सारिएको थियो ।
‘केन्द्रीय नेता विष्णु पौडेलले नै रुबि खानको बारेमा सोधखोज गर्नुपर्ने स्थिति सिर्जना भयो’, एक जिल्ला नेता भन्छन्, ‘गुप्ताले नै आफुलाई मेयरको उम्मेदवारी दिए मुस्लिम समुदायबाट उपमेयर उम्मेदवारी दिनुपर्ने तर्क गरेका रहेछन् ।’
एमालेले घोराहीमा प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता न्यौपाने, तुल्सीपुरमा प्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया आचार्य, बुटवलमा प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।