नेपालगन्जमा आज रोजगार मेला

तपाईलाई कामदार आवश्यक छ ? कि तपाई बेरोजगार हुनुहुन्छ ? दुवैका आवश्यकता सम्बोधनका लागि नेपालगन्जमा आज बिहीबार बाट रोजगार मेला आयोजना हुदैछ ।

नेपाली युवाहरु दैनिक सयौंको संख्यामा वैदेशिक रोजगारीमा जाने स्वदेशमा भएका उद्योग धन्दाले कामदार नपाउने अवस्थालाई मध्यनजर रोजगार मेला आयोजना गरिएको हो । ‘त्यसको मारमा नेपालगन्ज पनि परेको छ’, आयोजनाको उद्देश्य प्रकाश पार्दै नेपालगन्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने, ‘यो एउटा अवसर हो ।’

महासंघले आइएलओ, नेपालगन्ज उद्योग वाणिज्य संघसगको सहकार्यमा दुई दिने रोजगार मेला गर्न लागेको हो । जसमा रोजगार सूचना केन्द्रले समेत साझेदारी गरेको छ । ‘जिल्लामा भएका उद्योग, कलकारखानाका सञ्चालक र मजदुर बीच परिचयात्मक कार्यक्रम पनि हुन्छ’, श्रेष्ठले भने ।

उद्योगी, व्यवसायीहरुका अनुसार, बाकेका उद्योगहरुमा झण्डै ७५ प्रतिशत कामदार भारतीय छन् । ‘नेपाली युवा विदेशिएका छन्, हाम्रा उद्योगहरुमा विदेशीले काम पाएका छन्’, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले दैनिक नेपालगन्जसग भने, ‘यो विडम्वनालाई अन्त्य गर्न पनि रोजगार मेला महत्वपूर्ण अवसर बन्न सक्छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले रोजगार नपाएर बसेका युवाहरुका लागि पनि महत्वपूर्ण अवसर रोजगार मेला भएको जानकारी दिदै भने, ‘रोजगारदाताहरुलाई भेटेर आफ्नो सिप अनुसारको कामका लागि कुरा गर्न सकिन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया