यी हुन निर्वाचनका सन्दर्भमा पालना गर्नु पर्ने आचारसंहिता

निर्वाचन आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न देहायका निकाय वा व्यक्तिले पालना गर्नु पर्ने आचार संहिता तयार गरेको छ ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्टिूय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारसँग सम्बन्धित व्यक्ति, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था,आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले निर्वाचनको आचार संहिता पालना गर्नु पर्ने हुन्छ ।
उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने सामान्य आचरण देहायबमोजिम रहेका छन् ः
धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, वर्ग, क्षेत्र वा समुदायको आधारमा घृणा वा द्वेष उत्पन्न हुने गरी कुनै क्रियाकलाप गर्न वा गराउन हुदैन । उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई आघात पर्ने गरी आलोचना गर्न हुदैन । तर उम्मेदवार वा राजनीतिक दलको सदस्यको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको कामको बारेमा आलोचना गर्न बाधा पर्ने छैन ।

कुनै साम्प्रदायिक भावना फैलाउने गरी मत माग्न वा प्रचार प्रसार गर्न वा गराउन हुदैन । प्रचलित कानूनबमोजिम निर्वाचन सम्बन्धी कसूर मानिने कार्य गर्न वा गराउन वा त्यस्तो कार्य गर्न उक्साउन हुदैन । उम्मेदवार वा राजनीतिक दलले नेपाल सरकार, सार्वजनिक संस्था, स्थानीय तह वा कुनै परियोजनाको साधन स्रोत र सम्पत्ति आफ्नो पक्ष वा अर्काको विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइदैन ।

मतदातालाई नगद, जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन हुदैन । आयोगद्वारा सञ्चालित मतदाता नामावली संकलन, मतदाता शिक्षा लगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी त्यस्ता कार्यक्रमसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउने कार्य कसैबाट गर्न गराउन हुदैन । कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिक स्थल प्रयोग गरी निर्वाचन सम्बन्धी प्रचार–प्रसार गर्न वा गराउन पाइदैन ।

निर्वाचन सम्बन्धी प्रचार–प्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन हुदैन । निजी घरजग्गामा त्यस्तो घर जग्गाधनीको स्वीकृति नलिई राजनीतिक गतिविधि वा प्रचार प्रसार गर्न वा गराउन पाइदैन । महिलाको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार प्रसार गर्न वा गराउन हुदैन ।

अपाङ्गता भएको व्यक्तिको भावनामा आँच आउने किसिमले निर्वाचन प्रचार प्रसार गर्न वा गराउन पनि निर्वाचन आचार संहिताले बन्देज लगाएको छ । यस्तै निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन हुदैन । प्रचलित कानून बमोजिम निषेध गरेको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसार गर्न वा गराउन नहुने ब्यवस्था पनि आचारसंहिताले गरेको छ । सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, र्याली, बैठक, भेला वा प्रचार प्रसार गर्न वा गराउन नहुने । उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न हुदैन ।

जुलुस, आमसभा, र्याली, बैठक, भेलागर्दा पालन गर्नुपर्ने आचरण :
नागरिक वा व्यक्तिको स्वतन्त्रता सम्बन्धी हकको हनन नहुने गरी सभ्य तरिकाले जुलुस तथा आमसभा गर्नु पर्ने तथा कसैको विचारको विरोध गर्दा निजको घरको आसपास विरोध गर्न र प्रदर्शन गर्न वा गराउन नहुने । स्थानीय प्रशासनको अनुमति नलिई उम्मेदवार वा राजनीतिक दलले सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, र्याली, बैठक वा भेला गर्न वा गराउन हुदैन ।

उम्मेदवार वा राजनीतिक दलले जुलुस, आमसभा, ¥याली, बैठक वा भेला गर्नु अघि सुरक्षा प्रवन्धको लागि स्थानीय प्रशासन र प्रहरीलाई समय, मिति, मार्ग र स्थानको बारेमा कम्तिमा ४८ घण्टा अगावै जानकारी गराउनुपर्दछ । उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ फिट × ५ फिट भन्दा ठूलो आकारको ब्यानर वा झण्डा प्रयोग गर्न वा गराउन हुदैन । उम्मेदवारले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ फिट × ३ फिट भन्दा ठूलो आकारको पोष्टरको प्रयोग गरे गराएमा त्यो आचारसंहिता विपरित हुन्छ ।

जुलुस वा आमसभामा भाग लिने व्यक्तिले १० इन्च × १८ इन्च भन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न वा गराउन हुँदैन । उम्मेदवार वा राजनीतिक दलले आयोजना गरेको जुलुस, आमसभा, र्याली, बैठक, भेला वा निर्वाचन कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन कार्य गर्न हुदैन । एकभन्दा बढी उम्मेदवार वा राजनीतिक दलले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, ¥याली, बैठक वा भेला गर्न वा गराउन हुदैन ।

प्रचलित कानून वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री जुलुस, आमसभा, र्याली, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न वा गराउन नहुने । जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्दछ । मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मत परिणामको घोषणा नभएसम्म जुलुस, आमसभा, र्याली, बैठक वा भेला आयोजना गर्न, नारा लगाउन वा राजनीतिक दल वा त्यस्तो दलसँग आवद्ध संस्थाको झण्डा, निर्वाचन चिन्ह वा प्रचार प्रसार हुने कुनै सामग्री प्रयोग वा प्रदर्शन गर्न वा गराउन हुदैन ।

 

आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न पाइदैन । निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकल लगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडा जस्ता सवारी साधनको र्याली गर्न वा गराउन नहुने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरिएको छ ।

 

मौन अवधिमा पालना गर्नुपर्ने आचरण :

निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न हुदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्दछ । एस.एम.एस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक संजालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइदैन ।

उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइदैन । उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न हुदैन ।

मतदानको दिन पालन गर्नुपर्ने आचरण ः मतदान केन्द्रमा रहेको राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा सङ्केत नभएको पहिरन, परिचयपत्र र व्याजमात्र प्रयोग गर्नुपर्दछ । कुनै किसिमको सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने गर्न नहुने । तर शारीरिक रुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सकिन्छ ।

उम्मेदवार, मतदाता, प्रचलित कानूनले अनुमति दिएका व्यक्ति, आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न पाइदैन । मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले कुनै काम गर्न वा गराउन पाइदैन ।

आचारसंहिता अनुगमन सम्बन्धी संयन्त्र :
केन्द्रीय निर्वाचन आचार संहिता अनुगमन समिति, निर्वाचन आचार संहिता अनुगमन इकाई, उच्चस्तरीय अनुगमन टोली र जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति मार्फत आचारसंहिता पालना भए नभएको बिषयमा अनुगमन गर्ने संयन्त्र निमार्ण गरिएको हुन्छ ।

(लेखक निर्वाचन राष्ट्रिय निर्वाचन समिति (नियोक) मा आवद्ध छन्)

प्रतिक्रिया

प्रतिक्रिया