अरु दिन अदालतमा इजलासमा बसेर मुद्दाको सुनुवाई गर्ने न्यायाधीशहरु शनिवार एउटा गाउँमा इलजास बसाले । जहाँ मुद्दाको छिनोफानो भन्दा अदालत बुझाउने काम गरियो । मुद्दा मामिला÷अड्डा अदालत भने पछि तर्सिने सर्वसाधारणहरु आफ्नै गाउँमा अदालती काम कारवाही र कानूनका सुन्न पाएपछि दंग पर्दै मुखामुख गरे ।
न्यायाधीश सहितको उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासको टोली शनिवार बैजनाथ गाउँपालिकाको एचगाउँ स्थित इश्वरी माध्यामिक विद्यालय पुगेर न्यायमा बाह्य पहुँच कार्यक्रम संचालन गरेको हो । जहाँ स्थानीयले कानून र न्यायका बारेमा खुलेर आफ्ना कुराहरु राखेनन् मात्र, अदालतले कानून र न्यायिक काम कारवाहीका बारेमा बिस्तृत रुपमा जानकारी पनि लिए ।
पाको उमेरले सेतै फुलेका बिद्यालयका अभिभावक संघका अध्यक्ष रण बहादुर बमले भन्दै थिए, ‘कार्यक्रमबाट कानूनी प्रक्रिया धेरै कुरा जान्न पाएँ । अब त स्थानीय निकायमा न्यायिक समिति हुन्छ भन्ने सुनेको छु यस बारे पनि बिस्तृत जानकारी पाउँ ।’
महिलाहरुको उल्लेख्य उपस्थिति रहेको ‘न्यायमा बाह्य पुहँच’ कार्यक्रममा भैरवी योगी, कालिदेवी योगी, मीन कुमारी उपाध्याय, रण बहादुर रावत लगायतका स्थानीयले महिला अधिकार, नागरिकता, बिवाहवारी, सम्बन्ध बिच्छेद, लगायतका कानूनी प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए । अदालती काम कारवाही बारे कुनै गुनासो नराखेका स्थानीयले कानून र न्याय प्राप्त गर्ने कार्यविधिका बारेमा बढी नै जान्न उत्सुक देखिन्थे ।
आफ्ना सहकर्मी न्यायाधीशहरु बिर बहादुर डाँगी, लेखनाथ पौडेल, गणेश प्रसाद बरालका साथै अदालतका रजिष्ट्रार भुवन गिरिलाई दायाँ बायाँ राखेर कार्यक्रम संचालन गर्दै थिए, उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश बिष्णुदेव पौडेल । ‘अदालती काम कारवाहीमा यहाँका जनताको कुनै गुनासो रहेनछ,’ पौडेलले अदालत न्यायको मन्दिर भएकाले अदालतका परेका मुद्दाको कानूनी प्रक्रिया अनुसार न्याय सम्पादन गर्ने जानकारी दिंदै भने । अदालत मर्का पर्ने पीडितको लागी न्याय पाउन जाने ठाउँ भएकाले न्याय सम्पादनमा सबैको सहयोग र समर्थनको आवश्यकता रहेको उनको भनाइ थियो ।
अदालतले निष्पक्ष भएर न्याय सम्पादनको कार्य गर्ने भन्दै न्यायाधीश पौडेलले अदालती काम कारवाहीमा कुनै गुनासो भए खुलेर कुरा राख्न आग्रह पनि स्थानीय वासिन्दा समक्ष गरेका थिए । अदालतती काम कारवाहीमा जनसहयोग जुटाउने न्यायिक आस्थामा बढाउने उद्देश्यले कार्यक्रम गरिएको न्यायाधीश पौडेलको भनाइ थियो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रम अदालतका शाखा अधिकृत ठाकुर प्रसाद पौडेलले संचालन गरे । कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका रजिष्ट्रार भुवन गिरिले अदालती काम कारवाही, न्याय सम्पादन र कानूनी प्रक्रियाको बारेमा बिस्तृत रुपमा प्रकाश पारेका
थिए ।
कार्यक्रममा कानून पत्रकार समाजका सचिव समेत रहेका अधिवक्ता बसन्त गौतमले न्याय सम्पादनमा कानून ब्यवसायी, प्रहरी र सरकारी वकिल लगायत सरोकारवालाको महत्वपूर्ण भूमिका महत्वपूर्ण हुने बताए । न्याय दिलाउने नाममा बिचौलियाहरुले अनावश्यक चलखेल गर्न सक्ने प्रति सचेत रहनु पर्नेमा अधिवक्ता गौतमले जोड
दिए । ‘न्यायालय जनतामाझ पुग्दा विश्वास पनि बढ्छ,’ कार्यक्रम बारे गौतमको धारणा थियो ।
सर्वसाधारणलाई न्यायिक संरचना, न्यायिक ब्यवस्था अदालती काम कारवाही, न्यायपालिकाका सुधारका योजना सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले अदालतले सर्वसाधारणसंग अदालतको बाह्य पहुँच कार्यक्रम संचालन गरिएको श्रेस्तेदार भुवन गिरिले जानकारी दिए । उनका अनुसार, न्याय सम्पादनमा अन्य सरोकारवालाहरुको भुमिका, न्याय सम्पादनमा रहेका समस्या समाधानका उपायहरु बारेमा जानकारी र कानूनी ब्यवस्था र आम नागरिकका हक अधिकारबारे पनि प्रष्ट पार्ने गरिएको छ ।