लापरवाही विरुद्ध कानुनी न्यायको बाटोमा पीडित

अस्पतालहरुमा उपचारका क्रममा हुने लापरबाही विरुद्ध न्यायिक प्रक्रियाले औपचारिकता पाएको छ । उपचारका क्रममा आफन्तको मृत्यु भएमा वा उपचारमा लापरवाही भई क्षति पुगेमा हुने अराजकता रोक्दै न्यायिक प्रक्रियामा जान थालिएको हो ।

अस्पतालमा कुनै अप्रत्यासित घटना भएमा शक्ति प्रदर्शन गरि मुढेबलको भरमा अस्पतालसंग क्षतिपूर्ति माग गर्ने प्रवृति बनिरहँदा पछिल्लो समय बाँकेमा कानून सम्मत रुपमा उजुरी दर्ता गराई क्षतिपूर्ति माग्न थालिएको छ ।
लापरवाही पूर्ण अस्पतालको सेवा भएका कारण आफुहरुलाई हानी नोक्सानी पुगेको भन्दै बाँके स्थित जिल्ला क्षतिपूर्ति समितिमा ३ जना उपभोक्ताले १० लाख सम्मको क्षतिपूर्तिको माग दावी सहित उजुरी दर्ता गराएका छन् । उजुरीहरु नेपालगन्जका ठुलाठुला अस्पताल विरुद्ध हुन् ।

 

उपचारका लापरवाही भई हानी पु¥याएको भन्दै भेरी अंचल अस्पताल, फत्तेवाल आँखा अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका बिरुद्धमा क्षतिपूर्ति सम्बन्धि उजुरी परेको जिल्ला क्षतिपूर्ति समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।

 

फत्तेवाल आँखा अस्पतालले ७२ बर्षिया रत्न कुमारी गिरिको आँखाको अप्रेसन गर्दा गम्भीर लापरवाही गरेको आरोप छ । लापरवाहीका कारण आँखाको हेर्ने शक्ति गुमेको दावी गर्दै बर्दिया बढैया गाउँपालिकाका इश्वर कुमार गिरिले आवश्यक कारवाही र क्षतिपूर्ति माग दावी सहित २०७३ चैत्र २८ गते उजुरी दायर गरेका हुन् ।
यसै गरि उपचारका क्रममा गम्भीर लापरवाही गरेको भन्दै भेरी अंचल अस्पतालबाट उचित क्षतिपूर्ति दिलाई पाउँ भन्दै अर्काे उजुरी परेको छ । जिल्लास्थित समितिमा नेपालगन्ज आदर्श नगरका पहलमान सुनारले २०७३ माघ २४ गते उजुरी दायर गरेका हुन् ।

 

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका बिरुद्धमा पनि १० लाख क्षतिपूर्ति माग सहित उजुरी परेको छ । नेपालगन्जकी राज कुमारी शाह कर्णले आफ्नी आमा तेज कुमारी शाहको उपचारमा लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै क्षतिपुर्तिको माग दावी सहित उजुरी दिएकी हुन् । उजुरीमा दश लाख क्षतिपूर्ति दिलाई भराई न्याय निरोपण गरिपाउँ भनी उजुरवाला राजकुमारीले २०७३ मंसिर २० ्गते क्षतिपूर्ति समिति समक्ष उजुरी दिएकी हुन् ।
उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ अनुसार ऐनको बिपरित हुने गरि उपभोग्य बस्तु तथा सेवा बिक्रि वितरण तथा प्रदान गरेको कारणबाट कुनै उपभोक्तालाई कुनै किसिमको हानी नोक्सानी हुन गएमा त्यस्तो उपभोक्ता वा उपभोक्ताको तर्फबाट कुनै उपभोक्ता संस्थाले त्यस्तो उपभोग्य बस्तु वा सेवा बिक्री बितरण वा प्रदान गर्ने ब्यक्तिबाट क्षतिपूर्ति भराई पाउँ भनी निवेदन दिन सक्ने ब्यवस्था छ ।

 

उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २४ अनुसार दफा २२ बमोजिम क्षतिपूर्तिको निमिक्त परेको उजुरी उपर छानविन गरि क्षतिपूर्ति समितिले उपभोक्तालाई हानी नोक्सानी पुग्न गएको ठहर गरेमा हानी नोक्सानीको आधारमा क्षतिपूर्ति वापतको रकम उपभोक्ता वा निजको हकवालालाई दिलाउन सक्ने ब्यवस्था छ ।
क्षतिपूर्ति समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष, र जिल्ला सरकारी अधिवक्ता, जिल्ला मेडिकल अधिकृत, नेपाल सरकारले तोकेको जिल्ला उपभोक्ता सस्थाको प्रतिनिधि, जिल्ला उद्योग बाणिज्य संघका प्रतिधिनि र नेपाल सरकारले तोकेको अधिकृत सदस्य रहने ब्यवस्था छ ।

 

यसै बिच क्षतिपूर्ति समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको अध्यक्षतामा शुक्रवार बसेको बैठकले मेडिकल कलेज उपर परेको मुद्दाको सुनुवाई जेष्ठ ११ गते निर्णय गरेको छ ।

त्यस्तै भेरी अंचल अस्पताल र फत्तेवाल आँखा अस्पतालका बिरुद्धमा परेका उजुरीका सम्बन्धमा समितिले लिखित प्रतिवाद सहित समितिमा उपस्थिति लागी लिखित जानकारी पठाईएको क्षतिपूर्ति समितिका सदस्य एवं उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले जानकारी दिए ।

 

‘कानूनी तवरले उजुरी गर्नु भन्दा पनि दवावमुलक कार्यका माध्यमबाट क्षतिपूर्ति माग्ने कुराले अराजकता निम्त्याउन सक्थ्यो,’ यसअघिका अभ्यास बारे अधिवक्ता समेत रहेका गौतमले भने, ‘कानून सम्मत रुपमा उजुरी मार्फत क्षतिपूर्ति दावी गर्ने कार्य सकारात्मक हो ।’

प्रतिक्रिया

प्रतिक्रिया