गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी)को संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले गरेको धर्ना शुक्रबार दिउँसोबाट टुंगिएको छ।
बलात्कार अभियोगमा पक्राउ परेका सिन्धुलीका एक युवकले प्रहरी हिरासतभित्र ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै रास्वपा सांसदहरू बिहीबार राति ८ बजेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्नामा बसेका थिए।
घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन सुनिश्चित गर्न गृह मन्त्रालयले डिआइजी दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिएको जानकारी प्राप्त भएपछि धर्ना स्थगित गरिएको सांसद आशिष गजुरेलले बताएका छन्।
उनका अनुसार, “समितिलाई आजकै मितिबाट काम सुरु गर्ने गरी सात दिनको समय दिइएको छ। अब हामी समितिसँग छलफल गरी घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्नेछौं।”
समितिमा प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, प्रहरी निरीक्षक इन्द्रजित सुनार, प्रेम रेग्मी तथा प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा सदस्य रहेका छन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतभित्र भएको मृत्यु प्रकरणलाई लिएर निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सांसदहरूको टोली आन्दोलनमा उत्रिएको थियो। रास्वपाका सांसदहरू खगेन्द्र सुनुवार, रिमा विश्वकर्मा, सुषमा स्वर्णकार, खिमा विश्वकर्मा, गणेश विक र आशिष गजुरेलसहित मृतकका परिवार तथा स्थानीयबासी धर्नामा सहभागी थिए।
यसअघि स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको भए पनि सांसदहरूले उक्त समितिप्रति शंका व्यक्त गर्दै उच्चस्तरीय समिति गठनको माग गरेका थिए।
मृतकको मृत्युबारे प्रहरीको प्रारम्भिक दाबी आत्महत्या भएको भए पनि परिवारले प्रहरी कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन्। सांसद खगेन्द्र सुनुवारले घटनास्थलको अवस्थाले आत्महत्याको सम्भावना कमजोर देखिने दाबी गरेका छन्।
हालसम्म मृतकका परिवारले शव बुझ्न र पोस्टमार्टम गर्न अस्वीकार गर्दै आएका छन्। उनीहरूले निष्पक्षताको आशंका गर्दै शव काठमाडौँमा पोस्टमार्टम गर्न माग गरेका छन्।
परिवारका अनुसार, श्रीकृष्ण विक र खोटाङकी एक किशोरीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो र पछि विवाहसमेत भएको थियो। सम्बन्ध विच्छेदका क्रममा केटी पक्षले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गरेपछि उनलाई वैशाख ३ गते पक्राउ गरी इलाका प्रहरी कार्यालय खुर्कोट पठाइएको थियो।
प्रहरीका अनुसार, वैशाख ७ गते इलाका प्रहरी कार्यालयको शौचालयमा विकले आफ्नै सर्ट प्रयोग गरी झुन्डिएर आत्महत्या गरेका थिए।


