म्याराथनलाई एक्सन एडको साथ


धारा छैठौ नेपालगन्ज म्याराथनमा एक्सन एड पनि जोडिएको छ । ‘बाँच्नका लागि हिडौं’भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगन्ज म्याराथनमा साझेदारी गरेको हो । नेपालगन्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ ।


नेपालगन्जलाई देश र विदेशमा चिनाउने अभियानमा गतवर्षदेखि नै धारा तेल, आशीर्वाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक जोडिरहेका छन् । छैठौ संस्करणमा एक्सन एडसमेत जोडिदा अझ खुशीको माहोल बनेको छ । एक्सन एड नेपालकी महिला अधिकार संयोजक निशा लामा कार्कीले नेपालगन्ज म्याराथनसँगको सहकार्यपछि भनिन्, कोरोना महामारीले मानव जीवनमा थोपरेका अनेकन चुनौतीहरुसँग जुध्ने अभियान हो, बाँच्नका लागि हिंडौं । तर, यो यतिमा मात्रै सीमित छैन । न्याय, मर्यादिन जीवन, वरपरको वातावरण र भविष्यसँग पनि यो जोडिएको छ ।’ उनले भनिन् छ, राष्ट्रिय तहमा यो अभियान विशेषतः महिला र बालिकाविरुद्ध हुने हिंसा र बलात्कारविरुद्धको आवाज हो । साथै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलामा कोभिड–१९ को प्रभावमा पनि यो केन्द्रित छ । असमानता र अन्यायको अन्त्य तथा समानता र न्यायको पक्षको आवाज पनि हो यो अभियान–बाच्नका लागि हिंडौं ।’


जहाँ चुनौती, त्यही अवसर । कोरोनाले गर्दा देशमा आठ महिनादेखि खेलकुद ठप्प हुँदा छैठौ नेपालगन्ज म्याराथनको तयारी अघि बढिरहेको छ । अझ टोकियो ओलम्पिकमा जाने नेपाली खेलाडीको यहीबाट छनौट हुने भएकाले नेपालगन्ज म्याराथनको गरिमा बढेको छ । सधैंझै यसपाली पनि नेपालका ‘शीर्ष’ धावकहरु नेपालगन्ज म्याराथनमा सहभागी हुँदैछन् । नेपालगन्ज म्याराथनमा प्रथम हुने धावकले नेपाली राष्ट्रिय झण्डा बोकेर टोकियो ओलम्पिकमा सहभागी हुन पाउने आयोजक अध्यक्ष टीएस ठकुरी बताउँछन् ।


सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गराउन हरेक वर्ष मंसिर पहिलो हप्ता नेपालगन्ज म्याराथन हुँदै आएको छ । कोरोनाले गर्दा प्रतियोगितात्मक यसपटक दुई इभेन्ट पुरुष म्याराथन र महिला हाफ म्याराथन हुँदैछन् । जसका विजेताले राष्ट्रिय झण्डा बोकेर टोकियो जाने अवसर पाउने छन् । शहरका प्रतिष्ठित व्यक्तिहरुलाई सडकमा दौडाउने हाम्रो अभियान जारी नै रहेको छ । प्रतियोगिताको अर्को आकर्षणका रुपमा कर्पोरेट रनमा शहरका हरेक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया