बाँकेमा सुरु भो हुलाकी सडक कालोपत्रे, पहिलो दिन डेढ किलोमिटर

राप्तीपारीको विकास सँग जोडिएको हुलाकी सडक आइतबारदेखि पिच सुरु गरिएको छ । बाँकेको पुरैनीबाट कालोपत्रे सुरु गरेको निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सनले जानकारी दिएको छ । ‘पहिलो दिन डेढ किलोमिटरमा पहिलो चरणको कालोपत्रे गरिएको छ’, कम्पनीका प्रमुख तुलसीराम भण्डारीले भने, ‘बाधा, अवरोध नहुने हो भने निर्धारित समय अगावै काम सक्ने लक्ष्य लिएका छौं ।’
नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईयासम्म ४४ दशमलव ६ किलोमिटर रहेको हुलाकी सडकको बाँके खण्ड निर्माणका लागि २०७३ फाल्गुन ४ गते सम्झौता भई काम अगाडि बढेको थियो । पप्पु लुम्बिनी जेभीको नाममा ठेक्का सम्झौता भएपनि फिल्डमा भने गणपतिले काम गरिरहेको छ । ३० महिनामा उक्त सडक खण्ड पूरा गर्ने गरी निर्माण सम्झौता भएको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नं. ७ फत्तेपुरबाट दुवै तर्फ निर्माण सुरु गरेको गणपतिले गतबर्ष जेठदेखि भुक्तानी पाउन नसकेको जानकारी दिएको छ । ‘१० करोड जति भुक्तानी रोकिएको छ’, कम्पनीका प्रमुख तुलसीराम भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘कुनै पनि कारणले काम रोक्नु परेमा प्रयोग गरिएका जनशक्ति, प्रविधि अन्त लग्नु पर्नेछ, यसले समयमै काम गर्न समस्या हुने भएकाले कम्पनीको लगानीले भ्याएसम्म काम जारी राख्नेछांै ।’ ‘अब निरन्तर पिच गर्ने कम्पनीको योजना छ’, गणपतिका सहायक व्यवस्था इन्द्र बहादुर केसीले भने ।
पप्पु लुम्बनी जेभीले कमला नदीमा पुल बनाउन लिएको ठेक्का पुरा नगरेको र बैंक ग्यारेन्टि समेत रिनो नगराएपछि आयोजनाले उनीहरुको ज्वाइन्ट रहेको अर्को ठेक्काबाट भुक्तानी गर्ने प्रक्रिया अगाडि बढायो । सोही अनुसार बाँकेमा पप्पु लुम्बीनी जेभीले सम्झौता गरेको हुलाकी सडकको बाँके खण्डको भुक्तानी गर्नुपर्ने रकमबाट असुल्ने प्रक्रियामा छ । तर, फिल्डमा सबै निर्माणको काम गणपति ग्रुप अफ कन्स्ट्रक्सन कम्पनी गरिरहेको छ । ‘अन्य ठाउँको विवादले मैले गरिरहेको कामको भुक्तानी रोकिनु हुँदैन भनेर मन्त्रालय, मन्त्री, सांसदसँग अनुरोध गरिरहेको छु’, गणपतिका प्रमुख भण्डारीले भने, ‘सडक बाटो नहुँदा राप्तीपारीको अवस्थालाई ख्याल गरेर यसलाई समयमै सक्न कहीबाट पनि बाधा पुर्याइनु हुँदैन ।’
हुलाकी सडक निर्माण सम्पन्न गर्न समय सीमा अब आठ महिना बाँकी छ । तर, कतिपय ठाउँमा सडक क्षेत्रका लगत कट्टा, मुआब्जा वितरण र विद्युत पोल सार्ने काम भएको छैन । यसले हुलाकी सडकलाई समयमै सक्न समस्या हुने देखिन्छ । ‘सरकारका तर्फबाट हुने काम छिटो गरिदिए काम सहज रुपमा अगाडि बढाउन पाउँथ्यौं’, गणपतिका प्रमुख भण्डारी भन्छन् ।
उसो त हुलाकीलाई निर्माण सामाग्रीको पनि समस्या छ । लामो समय नदीजन्य पदार्थको ठेक्का नहुँदा बाँकेका विभिन्न आयोजना प्रभावित भैरहेको अवस्थामा त्यसले हुलाकी सडकलाई प्रभाव पार्ने देखिन्छ । ‘निर्माण सामाग्री स्टक राखिएको छ, नपुग भएमा जिल्ला प्रशासनसँग व्यवस्थापन गरिएको छ’, भण्डारीले भने, ‘प्रशासनले र सम्बन्धित गाउँपालिकाले सहयोग गरेमा निर्माण सामाग्री अभाव हुँदैन ।’ भण्डारी काम गर्दा पैसा चाहिने भएकाले गरेको कामको भुक्तानीका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउँछन् । ‘फिल्डमा काम गरेको सबै जानकार नै हुनुहुन्छ, पैसा कै अभावमा काम नरोकियो भन्नेमा सरकारको पनि ध्यानाकर्षण हुनुपर्छ’, उनी भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया