Monday, May 11, 2026
घर ब्लग पृष्ठ 303

विद्यार्थीलाई आदर्शको सम्मान

एमविविएसको प्रवेश परीक्षमा नवौं स्थानमा नाम निकाल्न सफल भएका आफ्ना विद्यार्थीलाई आदर्श माध्यमिक विद्यालयले सम्मान गरेको छ ।


यसवर्ष चिकित्सा शिक्षा आयोगकोे एकीकृत प्रवेश परीक्षाअन्तर्गत स्नातक तहको एमविविएसको प्रवेश परीक्षमा आदर्शका विद्यार्थी सुवास आचार्यले नवौं स्थानमा नाम निकाल्न सफल भएका हुन् ।


देशभरबाट करिब १५ हजार बढी विद्यार्थी सहभागी परीक्षामा आचार्य नवौ स्थानमा आएपछि उनको हौसलाका लागि सम्मान गरिएको आदर्शका विज्ञान संकायका संयोजक चेत चापागाईले जानकारी दिए । सम्मानसँगै पुरस्कारस्वरुप आचार्यलाई स्वास्थ्य सामाग्रीसमेत प्रदान गरिएको चापागाईंले बताए ।


कार्यक्रममा विद्यालयका एकेडेमिक एडभाइजर प्रकाश लामिछाने, चीफ डाइरेक्टर इश्वर प्रसाद पोखरेललगायतले आफ्ना विद्यार्थी आचार्यलाई हौसला प्रदान गरेका हुन् । कक्षा ५ देखि आदर्शमा अध्ययन गरेका आचार्यले चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परिक्षामा विडिएसतर्फ नेपाल प्रथमसमेत भएको चापागाईंले जानकारी दिए । उनका अनुसार, १२ कक्षा उत्तिर्ण भएपछि आचार्यले विडिएस र एमविविएसको तयारी गरेका थिए ।

कार्ययोजना बनाउँदै लायन्स गभर्नर मुकुट ढकाल

सर्वोच्च पद डिष्ट्रिक गभर्नरमा चुनिएपछि मुकुट ढकालले योजना बनाउन आफ्नो क्याबिनेटसहित वार्षिक कार्ययोजनामा व्यस्त


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालको आगामी कार्यदिशा के हुने ? लायन्स लिडरहरु त्यसतर्फ केन्द्रीत भएका छन् ।


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालको सर्वाेच्च पद, डिष्ट्रिक गभर्नरमा मुकुट ढकाल निर्वाचित भएपछि उनको क्याबिनेटले आगामी कार्यदिशा तय गर्न लिडरहरुसहितको कार्ययोजना बैठक राखेको हो ।


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको कैलालीको धनगढीमा हालै भएको प्रथम कन्भेन्सनबाट लायन वर्ष २०२३–२०२४ का लागि ढकाल डिष्ट्रिक गभर्नर निर्वाचित भएका हुन् । फस्ट भीडीजी ढकाल झन्डै ९९ प्रतिशत एस मतका साथ निर्वाचित डिष्ट्रिक गभर्नर निर्वाचित भए । कम्तिमा ५१ प्रतिशत एस मत ल्याएर डिष्ट्रिक गभर्नर निर्वाचित हुन सकिने प्रावधान लायन्समा छ ।


‘वार्षिक कार्ययोजनाका लागि हामी बर्दिया छौं,’ दुई दिनसम्म चल्ने बृहत् बैठकले बनाएको कार्ययोजनाका आधारमा ३२५ एन अगाडी बढ्ने जनाउ दिंदै डिष्ट्रिक गभर्नर ढकालले दैनिक नेपालगन्जसँग भने, ‘केही मौलिक परियोजना लिएर आउनेछौं ।’


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको ढकाल दोस्रो गभर्नर बनेका हुन् । सुदूरपश्चिमका सीबी चन्द एनका संस्थापक डिष्ट्रिक गभर्नर हुन् ।


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको प्रथम कन्भेन्सनबाट लायन वर्ष २०२३–२०२४ का लागि ढकाल डिष्ट्रिक गभर्नर निर्वाचित हुँदा फस्ट भीडीजीमा दाङका विनोदकुमार श्रेष्ठ र सेकेन्ड भीडीजीमा नेपालगन्जका ज्ञानेन्द्रकुमार श्रेष्ठ निर्वाचित भए ।


त्यसलगत्तै गभर्नर ढकालले आफ्नो क्याबिनेट विस्तार गरेका छन् । लायन्स लिडर, ३२५ एनका फष्ट लेडी मीना ढकालका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाका पूर्वउप–प्रमुख उमा थापा मगरलाई क्याविनेट सचिव र कोहलपुरका युना नेता तेज अधिकारी कोषाध्यक्षमा मनोनित भएका छन् ।


नेपालमा सन् १९७१ मा स्थापना भएको लायन्स क्लब विस्तार हुँदै गत वर्ष देशभरी १५ वटा डिष्ट्रिक इकाइ पुगेको छ । डिष्ट्रिक ३२५ एनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तीन हजारबढी सदस्य १३० वटा क्लबमा संगठित भएर सामाजिक कार्यमा क्रियाशील छन् ।


बर्दियामा भएको कार्ययोजना बैठकमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टुुका तत्कालिन डिष्ट्रिक गभर्नर शेम शाक्य, पूर्व डिष्ट्रिक गभर्नर मधुसुधन शर्मा रिजाल लगायत ३२५ एनका सबै पदाधिकारीहरुको सहभागिता रहेको बताइएको छ ।

युवा नेतृत्वमा श्रेष्ठ
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन अन्तरगतका युवाहरुको संगठन, लियो क्लबको लियो डिष्ट्रिक प्रेसिडेन्टमा नेपालगन्जका युवा विवेक श्रेष्ठ निर्वाचित भएका छन् । हालैको धनगढी कन्फ्रेन्सबाट श्रेष्ठको नेतृत्वमा आगामी कार्यकालका लागि लियो क्लब डिष्ट्रिक ३२५ एनको प्रेसिडेन्टमा श्रेष्ठ चयन भएका हुन् ।

आजदेखि ‘कोहलपुर गोल्ड कप’

उद्घाटनमै कपिलवस्तुसँग भिड्दै आयोजक रेसिङ्ग साहारा क्लब

बाँकेको कोहलपुरमा आज शनिवारदेखि कोहलपुर गोल्डकप फुटबलको पहिलो संस्करण हुने भएको छ ।

बाँकेको कोहलपुरस्थित १३ विगाह मैदानमा शनिवारदेखि हुने कोहलपुर गोल्डकप फुटबलको पहिलो संस्करणका लागि शुक्रवार मैदान पूर्व तयारी गरिंदै


गतेदेखि ११ गतेसम्म चल्ने कोहलपुर गोल्ड कपको पहिलो संस्करणमा मुलुकका विभिन्न ठाउँबाट आउने ८ वटा क्लबले उपाधिका लागि प्रतिष्पर्धा गर्ने आयोजक रेसिङ्ग साहारा क्लबले जनाएको छ ।


आयोजक रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र बहादुर क्षेत्रीले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिंदै कोहलपुरको १३ विगाहमा हुने प्रतिष्पर्धामा नेपाल, भारत र क्यामरुनका ८ वटा टिमको सहभागिता निश्चित भएको बताए ।


आज कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना घोषणा भएको प्रथम कोहलपुर गोल्डकप–२०७९ को पहिलो खेलमैं आयोजक रेसिङ साहारा मैदानमा उत्रिने क्लबका प्रशिक्षक जनक केसीले जानकारी दिए । प्रशिक्षक केसीका अनुसार, कपिलवस्तु ११ सँग आयोजक भिड्ने खेलतालिका बनेको हो ।


कोहलपुरमा पहिलो पटक यति ठुलो स्तरको गोल्ड कप आयोजना हुन लागेको हो । आयोजक अध्यक्ष क्षेत्रीले गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख, दोस्रो ३ लाख पचास हजार रहेको जानकारी दिए । गोल्ड कपमा सहभागी हुने सबै टिमलाई थप १ लाख २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उपराष्ट्रपतिमा यादव विजयी, को हुन् यादव ?

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादव। तस्बिरः चन्द्रकला क्षेत्री / रासस

जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादव। तस्बिरः चन्द्रकला क्षेत्री / रासस

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित हुनुभएको हो ।

  उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

  आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।  

  पूर्वमन्त्रीसमेत रहनुभएका यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।

नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ ।

यी हुन् उप–राष्ट्रपति यादव

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ ।

यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उहाँका दुई दाजुभाइ तथा तीन दिदीबहिनी हुनुहुन्छ । साथै श्रीमती दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँ विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव हुनुभएको थियो । यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाउनुभएका उहाँ राजनीतिक जीवन अघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित हुनुहुन्थ्यो । बारा कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उहाँ विज्ञान र गणित विषयको शिक्षक हुनुहुन्थ्यो ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गर्नुभएका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएका उहाँ उच्च शिक्षा लिई भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उहाँ २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गर्नुभएको हो ।

सो पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता हुनुहुन्छ ।

राजनीतिका क्रममा उहाँको भेट उपेन्द्र यादवसँग भएपछि उहाँ २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध हुनुभएको हो । त्यसपछि उहाँ २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य हुनुभएको थियो भने विसं २०६५ मा उहाँ पार्टी महासचिव हुनुभयो । यादव स्वच्छ तथा इमान्दार छविका नेता मानिनुहुन्छ ।

उहाँ विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य हुनुभएको थियो । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री हुनुभएका उहाँ हाल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेताको भूमिकामा समेत हुनुहुन्छ ।

पार्टी तथा सरकारको प्रतिनिधि भई उहाँले हालसम्म संयुक्त राज्य अमेरिका, पोल्याण्ड, चीन, संयुक्त अधिराज्य, बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स)लगायत देशको भ्रमण गरिसक्नुभएको छ । रासस

नेपाल विश्वकप छनोटमा प्रवेश

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको विहीवार अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहीवार भएको खेलमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा युएईलाई नौ रनले हराउँदै आगमी जुन–जुलाइमा जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको यात्रा तय गरेको हो । यो जितसँगै नेपाल ४० अङ्कका साथ लिग–२ को तेस्रो स्थानमा उक्लियो र जिम्बावेको यात्रा तय गर्न सफल भयो ।

युएईले दिएको तीन सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालले खराब प्रकाशको कारण खेल रोकिँदा डकवर्थ लेविस पद्धतिका आधारमा जित हासिल गरेको हो । खेल रोकिनुअघि नेपालले ४४ ओभरमा छ विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले । कुशलले ५० रन बनाए भने आरिफले ५२ रन तथा भीमले ६७ रनको योगदान दिए । गुलशन ५० रनमा अविजित रहे । त्यसैगरी कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्लले पाँच रन जोडे । दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले तीन विकेट लिए ।

त्यस्तै आयान अफजल खानले दुई तथा जाहोर खानले एक विकेट झारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर तीन सय १० रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र चार चौकासहित अविजित एक सय एक रन बनाए । यस्तै वृत्य अरविन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रन बनाए ।

त्यसैगरी रोहन मुस्तफा २०, सिपी रिजवान सात, आर्यन लाक्रा छ र आयन अफजल खान तीन रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक लिए । (रासस)

बालसंरक्षणका लागि युवा अभियन्तालाई तालिम

विपद्को समयमा बाल संरक्षणका लागि जिल्लाका युवा अभियन्ताहरुलाई तालिम दिन लागिएको छ । बाँके युनेस्को क्लबले युवा अभियन्ताहरुका लागि विहिबारदेखि चार दिनसम्म नेपालगन्जमा सञ्चालन गर्ने भएको हो ।


खजुरा गाउँपालिका र नेपालगन्ज उपमहानगरका ३० जना युवा अभियन्ताको सहभागितामा थालिएको तालिममा बालअधिकारकर्मी आशीष बर्माले विपद् र आपत्कालिन अवस्थामा बाल संरक्षण कसरी गर्ने भन्ने कुराको प्रशिक्षण गर्नेछन् ।

प्रशिक्षक बर्माका अनुसार, तालिममा बालबालिका बेचविखन, उनीहरुमाथि हुने दुव्र्यवहार, बालविवाह रोक्न गर्नु पर्ने पूर्व सतर्कता तथा बाल अधिकारका लागि के के गर्नु पर्ने जस्ता विषयमा सहभागीहरुलाई प्रशिक्षित गरिनेछ ।


प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत आयोजना गरिएको तालिम विहीवार खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उद्घाटन गरे । त्यसक्रममा उनले विपतको समयमा बालसंरक्षणलाई विशेष प्राथमिकता दिनका लागि आयोजना गरिएको यो तालिम निकै महत्वपूर्ण रहेको बताए ।


गाउँपालिका अध्यक्ष बिकले बेचविखन रोक्न, बाल विवाह रोक्न, दुव्र्यवहार रोक्न र बाल अधिकार स्थापित गर्न समाजमा खटिएका युवा अभियन्ताले तालिम पाएपछि विपद् र आपत्कालिन अवस्थामा बालसंरक्षणलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे ।


सो तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले मानवबेचविखन रोक्न सक्रिय रहेका युवा अभियन्तालाई प्रदान गरिने यो तालिम निकै अहम् रहेको धारणा राखेका थिए ।


सो अवसरमा परियोजनाका कार्यक्रम अधिकृत विनिता आरसी र फिल्ड सुपरवाइजर शंकरसिंह थारुलगायत पनि सहभागी थिए ।

श्रमिक युवालाई क्षमता अभिवृद्धि तालिम

–निर्माण क्षेत्र र गृह श्रममा आवद्ध युवा श्रमिकलाई नेपालगन्जमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।


सोलीडाइरेटी सेन्टरको सहयोगमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद्ले श्रमिक युवालाई तीन दिने तालिमको आयोजना गरेको हो ।


तालिमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले  यूवाहरुनै ट्रेड यूनियन आन्दोलनको मेरुदण्ड भएको बताउनु भयो ।


यूवाको रोजगारी अभिवृद्धिमा जोड दिंदै सीप, दक्षता र योग्यता वृद्धि तथा बढी भन्दा बढी युवा श्रमिकलाई संगठित गर्नु अहिलेको आवश्यकता रहेको उहाँले धारणा राख्नुभयो ।

अध्यक्ष श्रेष्ठले कार्यथलोमा युवा बाहुल्य नयाँ क्षेत्रको खोजी गर्दै संगठित गर्ने अभियान चलाउन युवाहरुलाई ट्रेड युनियन शिक्षा दिई क्षमता बृद्धि गर्ने उद्धेश्यले तालिम  सञ्चालन गरेको बताउनुभयो ।


युवा श्रमिकमा ट्रेड युनियनप्रतिको आकर्षण बढाउन र ट्रेड युनियन आन्दोलनवारे बुझाउन तालिम आयोजना गरिएको सोलिडारिटी सेन्टर नेपालकी कन्ट्री डाइरेक्टर लुना रञ्जितले जानकारी दिनुभयो ।


जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहमा एनटियुसी प्रदेश अध्यक्ष मुकुन्द अधिकारी, सोलिडारिटी सेन्टरकी बिनिता जिरेल, आईटियुसी एनएसीका रुपेश सिग्देल, जिफन्टका केन्द्रीय सदस्य  पूर्ण केसी, बाँके इन्चार्ज सुमन गिरी, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष दान बहादुर ओली लगायतले बोल्नु भएको थियो ।


तीनदिनसम्म सञ्चालन हुने तालिममा जिफन्ट, ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ आवद्ध १८ जना श्रमिक युवाको सहभागिता रहेको छ । 

खजुरामा ‘लक्ष्मीनारायण दिब्यधाम’

महायज्ञबाट ५० लाख संकलन, धार्मिक पर्यटनलाई गौरवको योजनामा समावेश गर्ने खजुरा गाउँपालिकाको घोषणा

बाँकेको खजुरा क्षेत्रलाई ‘लक्ष्मीनाराण दिब्यधाम’ बनाइने भएको छ । पर्यटकीय गन्तव्य क्षेत्र बनाउने उद्देश्यले गत २४ गतेबाट आयोजित श्रीमदभागवत ज्ञान महायज्ञ समापन गर्दै आयोजकहरुले ‘दिब्यधाम’ घोषणा गरेका हुन् ।


बुधवार सकिएको महायज्ञबाट ५० लाख बढी संकलन भएको जानकारी दिंदै आयोजक महायज्ञ सम्पादन समितिले खजुरा क्षेत्रमा रहेका ऐतिहासिक धार्मिकस्थलहरुको प्रवर्द्र्धन गर्ने र विशाल स्वरुपमा सुदर्शन चक्र सहितको लक्ष्मीनारायण मूर्तिको स्थापना गर्ने लक्ष्य अगाडी बढाइने जनाएको हो ।

महायज्ञबाट आर्जन भएको रकमबाट छिट्टै विशाल स्वरुपको लक्ष्मीनारायण मूर्तिको शिलान्यास गर्दै सरकारी सहकार्यमा दिब्यधाम अभियान अगाडी बढाइने छ।

शिवराज श्रेष्ठ
अध्यक्ष, महायज्ञ सम्पादन समिति


महायज्ञको लक्ष्यलाई अपनत्व ग्रहण गर्दै खजुरा गाँउपालिकाले खजुरालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने र विशाल आकारको मूर्ति स्थापना गर्न गौरवको योजनामा समावेश गर्ने घोषणा समेत गरेपछि उत्साहित आयोजकले ‘लक्ष्मीनाराण दिब्यधाम’ साकार गर्न अग्रसर भएका हुन् ।


आयोजकका अनुसार, १८८२ ताका स्थापना भएको खजुरा १ को मैटहवा मन्दिर, राणाकालमै बनेको सन्तकुटी कुवा, मानव बस्ती बस्नु अघिको नारायणी तलौवा, हिन्दुर र मुस्लिमको संयुक्त तिर्थस्थल मुस्केटवा मिजार बाबा सहित खजुरा क्षेत्रमा रहेका धार्मिक स्थललाई धामकारुपमा विकास गर्दै एकीकृत दिब्य धाम स्थापना गर्ने अभियान थालिएको हो ।


महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले महायज्ञबाट आर्जन भएको रकमबाट छिट्टै विशाल स्वरुपको लक्ष्मीनारायण मूर्तिको शिलान्यास गर्दै सरकारी सहकार्यमा दिब्यधाम अभियान अगाडी बढाइने बताए ।

बुधवार महायज्ञ समापन समारोहमा लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मीले खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।


खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल चन्दले स्थानीय सरकार खजुराबासीको अभियानमा साथमा रहेको बताइन् । महायज्ञमा १ लाख ५५ हजार ५५५ दान गरेकी उपाध्यक्ष मल्ल महायज्ञको सर्वोकृष्ठ दानकर्ता हुन् ।


सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त दीनदयालको संरक्षकत्वमा भएको महायज्ञमा पंडित बालकृष्ण अर्यालले कथा वाचन गरेका थिए भने उनी सहितको संगीत मण्डलीले सन्देशमूलक भजन प्रस्तुत गरेका थिए ।


समापनका अवसरमा संकल्पकर्ता दीनदयाल जी सहित कथा वाचक अर्याललाई खजुराबासीको तर्फबाट अभिनन्दन गरिएको थियो । साथै, विभिन्न सहयोगी, दानकर्ताहरुलाई सम्मान गरिएको थियो । (सबै तस्विरः खगेन्द्र दाहाल)

नेपालगन्जमा नागरिक सम्मेलन गरिंदै

गैसस महासंघ नेपाल बाँकेको नवौं अधिबेशन तय

गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको नवौं अधिवेशन, २२ औं साधारण सभा सँगै दोश्रो बाँके जिल्ला स्तरिय नागरिक सम्मेलन गरिने भएको हो ।


नेपालगन्जमा नागरिक सम्मेलन गरिने भएको छ । गैर सरकारी संस्थाहरुको छाता संगठन, गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको नवौं अधिवेशन, २२ औं साधारण सभा सँगै दोश्रो बाँके जिल्ला स्तरिय नागरिक सम्मेलन गरिने भएको हो ।


यही चैत्र ४ गते गर्ने भनिएको नवौं अधिबेशनको तयारी नपुगेका भन्दै आगामी चैत्र २० गते अधिवेशन गर्ने टुंगो लगाइएको गैसस महासंघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले जानकारी दिए । शाखाको बुधवार बसेको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो ।


अधिबेशन तयारीका लागि उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको संयोजकत्वमा कार्य समिति सदस्य मैमुना सिद्दीकी र शंकर न्यौपाने सदस्य रहेको समिति बनाइएको छ ।

सचिव आशिष बर्माको संयोजकत्वमा सदस्यहरु अभिराज क्षेत्री र जयनीत खत्री सदस्य रहेको प्रचार, प्रसार समिति, कोषाध्यक्ष निर्मला सुनारको संयोजकत्वमा सदस्यहरु जयन्ती खत्री र लोक बहादुर परियार सदस्य रहेको आर्थिक समिति पनि बनाइएको अध्यक्ष शाहले बताए ।


त्यस्तै, कार्य समिति सदस्य सुर्यलाल यादवको संयोजकत्वमा सदस्यहरु उर्मिला रोकाय र अभिराज क्षेत्री सदस्य रहेको संस्था आबद्धता तथा नविकरण समिति पनि गठन गरिएको बताइएको छ ।

कोहलपुरमा कोशेली घर

बाँकेको कोहलपुर नगरपालिका—११ मा अर्गानिक कोशेली घर सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले अर्गानिक कोशेली घर उद्घाटन गरेकी हुन् ।


नयाँ योजना र भिजनका साथ बैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले सर्वशुलभ कोशेली घर सञ्चालनमा ल्याएको जनाएको छ ।

कोहलपुरका १५ वटा वडामा उत्पादनमा भएका अर्गानिक बस्तु, ७७ वटै जिल्लाका पहिचान चिनाउन सक्ने गरि उत्पादित बस्तु तथा हस्तकलाहरु उपलब्ध हुने व्यवस्था मिलाइएको कोशेली घरका प्रबन्ध निर्देशक इश्वर शर्माले बताए ।


‘पहिलो प्राथमिकता कोहलपुरका १५ वटा वडामा उत्पादन भएका बस्तुहरुको विक्री वितरण र बजारीकरण गर्ने योजना बनाएका छौं,’ कोशेली घरका प्रवन्ध निर्देशक शर्माले भने, ‘यहाँ भान्सादेखि कपडासम्मका बस्तुहरु पाउनुहुनेछ ।’

नगरपालिकाले तालिम दिएपछि उत्पादन भएका बस्तुहरु समेत कोशेली घरमा पाउने शर्माले बताए । स्थानीय स्तरमा उत्पादन हुने गरेका बस्तुहरुलाई बजारीकरणमा समस्या छ, त्यसलाई न्यूनिकरण गर्न कोशेली घर सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक शर्माले जानकारी दिएका छन् ।


‘अहिले भारतबाट ल्याइएको तरकारीमा बजारमा जहाँकतै हुने तर स्वदेशमा उत्पादन भएको तरकारीले बजार नपाउने समस्या छ, त्यसको निराकरण हुन्छ,’ शर्माको भनाइ छ, ‘साना तथा व्यवसायिक रुपमा तरकारी, चामल, खाद्यान्न बस्तु, गेडागुडी, अचार, हस्तकला, टपरी लगायत अन्य विभिन्न प्रकारका स्थानीय उत्पादन भएका बस्तुहरु कोशेली घरमा हुनेछन् ।’


कोहलपुर नगरपालिकाले अनौपचारिक तथा औपचारिक कार्यक्रममा समेत नगरपालिकाको पहिचान हुने गरी हस्तकलाबाट बनाइएका बस्तुहरुलाई मायाको चिनोको रुपमा प्रदान गर्नुपर्ने जस्ता योजना ल्याएको प्रबन्धक निर्देशक शर्माले बताए ।


उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले स्थानिय उत्पादनलाई प्रमुख प्राथमिकतामा राख्नपर्नेमा जोड दिइन् । ‘महिला दिदिबहिनीहरुलाई आर्थिक क्षेत्रमा सहयोग हुनका लागि पालिकाले सिप विकास तालिमहरु दिइरहेको छ,’ उनले भनिन्, ‘तालिम सिकिसकेपछि ठुलो संख्यामा उहाँहरुले उत्पादन सक्नुहुन्न, त्यसैले उहाँहरुले उत्पादन गरेको समानहरुलाई कोशेली घरले ठुलो मद्धत पु¥याउने छ ।’


बैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुभद्रा शर्माले पालिकाले लिएको योजना र कार्यक्रमहरुमा निरन्तर सहयोग गर्ने बताएकी थिइन्् । कोशेली घरको लागि कोहलपुर नगरपालिकाले खोलेको ठेक्काबाट बैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले ५ लाख अनुदान पाएको थियो भने अहिले सहकारीले करिब ८ लाख लगानी लगाएको अध्यक्ष शर्माले जानकारी दिइन् ।