विपद्को समयमा बाल संरक्षणका लागि जिल्लाका युवा अभियन्ताहरुलाई तालिम दिन लागिएको छ । बाँके युनेस्को क्लबले युवा अभियन्ताहरुका लागि विहिबारदेखि चार दिनसम्म नेपालगन्जमा सञ्चालन गर्ने भएको हो ।
खजुरा गाउँपालिका र नेपालगन्ज उपमहानगरका ३० जना युवा अभियन्ताको सहभागितामा थालिएको तालिममा बालअधिकारकर्मी आशीष बर्माले विपद् र आपत्कालिन अवस्थामा बाल संरक्षण कसरी गर्ने भन्ने कुराको प्रशिक्षण गर्नेछन् ।
प्रशिक्षक बर्माका अनुसार, तालिममा बालबालिका बेचविखन, उनीहरुमाथि हुने दुव्र्यवहार, बालविवाह रोक्न गर्नु पर्ने पूर्व सतर्कता तथा बाल अधिकारका लागि के के गर्नु पर्ने जस्ता विषयमा सहभागीहरुलाई प्रशिक्षित गरिनेछ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत आयोजना गरिएको तालिम विहीवार खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उद्घाटन गरे । त्यसक्रममा उनले विपतको समयमा बालसंरक्षणलाई विशेष प्राथमिकता दिनका लागि आयोजना गरिएको यो तालिम निकै महत्वपूर्ण रहेको बताए ।
गाउँपालिका अध्यक्ष बिकले बेचविखन रोक्न, बाल विवाह रोक्न, दुव्र्यवहार रोक्न र बाल अधिकार स्थापित गर्न समाजमा खटिएका युवा अभियन्ताले तालिम पाएपछि विपद् र आपत्कालिन अवस्थामा बालसंरक्षणलाई प्राथमिकता दिने विश्वास व्यक्त गरे ।
सो तालिमको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले मानवबेचविखन रोक्न सक्रिय रहेका युवा अभियन्तालाई प्रदान गरिने यो तालिम निकै अहम् रहेको धारणा राखेका थिए ।
सो अवसरमा परियोजनाका कार्यक्रम अधिकृत विनिता आरसी र फिल्ड सुपरवाइजर शंकरसिंह थारुलगायत पनि सहभागी थिए ।