खजुरामा ‘लक्ष्मीनारायण दिब्यधाम’

महायज्ञबाट ५० लाख संकलन, धार्मिक पर्यटनलाई गौरवको योजनामा समावेश गर्ने खजुरा गाउँपालिकाको घोषणा

बाँकेको खजुरा क्षेत्रलाई ‘लक्ष्मीनाराण दिब्यधाम’ बनाइने भएको छ । पर्यटकीय गन्तव्य क्षेत्र बनाउने उद्देश्यले गत २४ गतेबाट आयोजित श्रीमदभागवत ज्ञान महायज्ञ समापन गर्दै आयोजकहरुले ‘दिब्यधाम’ घोषणा गरेका हुन् ।


बुधवार सकिएको महायज्ञबाट ५० लाख बढी संकलन भएको जानकारी दिंदै आयोजक महायज्ञ सम्पादन समितिले खजुरा क्षेत्रमा रहेका ऐतिहासिक धार्मिकस्थलहरुको प्रवर्द्र्धन गर्ने र विशाल स्वरुपमा सुदर्शन चक्र सहितको लक्ष्मीनारायण मूर्तिको स्थापना गर्ने लक्ष्य अगाडी बढाइने जनाएको हो ।

महायज्ञबाट आर्जन भएको रकमबाट छिट्टै विशाल स्वरुपको लक्ष्मीनारायण मूर्तिको शिलान्यास गर्दै सरकारी सहकार्यमा दिब्यधाम अभियान अगाडी बढाइने छ।

शिवराज श्रेष्ठ
अध्यक्ष, महायज्ञ सम्पादन समिति


महायज्ञको लक्ष्यलाई अपनत्व ग्रहण गर्दै खजुरा गाँउपालिकाले खजुरालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने र विशाल आकारको मूर्ति स्थापना गर्न गौरवको योजनामा समावेश गर्ने घोषणा समेत गरेपछि उत्साहित आयोजकले ‘लक्ष्मीनाराण दिब्यधाम’ साकार गर्न अग्रसर भएका हुन् ।


आयोजकका अनुसार, १८८२ ताका स्थापना भएको खजुरा १ को मैटहवा मन्दिर, राणाकालमै बनेको सन्तकुटी कुवा, मानव बस्ती बस्नु अघिको नारायणी तलौवा, हिन्दुर र मुस्लिमको संयुक्त तिर्थस्थल मुस्केटवा मिजार बाबा सहित खजुरा क्षेत्रमा रहेका धार्मिक स्थललाई धामकारुपमा विकास गर्दै एकीकृत दिब्य धाम स्थापना गर्ने अभियान थालिएको हो ।


महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले महायज्ञबाट आर्जन भएको रकमबाट छिट्टै विशाल स्वरुपको लक्ष्मीनारायण मूर्तिको शिलान्यास गर्दै सरकारी सहकार्यमा दिब्यधाम अभियान अगाडी बढाइने बताए ।

बुधवार महायज्ञ समापन समारोहमा लुम्बिनी प्रदेशसभाका सांसद बादशाह कुर्मीले खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।


खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्ल चन्दले स्थानीय सरकार खजुराबासीको अभियानमा साथमा रहेको बताइन् । महायज्ञमा १ लाख ५५ हजार ५५५ दान गरेकी उपाध्यक्ष मल्ल महायज्ञको सर्वोकृष्ठ दानकर्ता हुन् ।


सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त दीनदयालको संरक्षकत्वमा भएको महायज्ञमा पंडित बालकृष्ण अर्यालले कथा वाचन गरेका थिए भने उनी सहितको संगीत मण्डलीले सन्देशमूलक भजन प्रस्तुत गरेका थिए ।


समापनका अवसरमा संकल्पकर्ता दीनदयाल जी सहित कथा वाचक अर्याललाई खजुराबासीको तर्फबाट अभिनन्दन गरिएको थियो । साथै, विभिन्न सहयोगी, दानकर्ताहरुलाई सम्मान गरिएको थियो । (सबै तस्विरः खगेन्द्र दाहाल)

प्रतिक्रिया

प्रतिक्रिया