लामो दूरीको यातायात सेवा सुचारु

जेन–जी आन्दोलनका कारण मङ्गलबारदेखि अवरुद्ध बनेको नेपालगन्जको लामो दूरीको यातायात सेवा शनिवारदेखि पुनः सञ्चालनमा आएको छ । यातायात व्यवसायी महासंघले आइतवारदेखि सवारी साधन सञ्चालनको निर्णय गरेपनि नेपालगन्जमा अघिल्लो दिनदेखिनै यातायात सुचारु भएका हुन् ।

वरिष्ठ यातायात व्यवसायी शोभा पौडेलका अनुसार, आन्दोलनका कारण पाँच दिनदेखि ठप्प प्रायः रहेका बस तथा मिनिबससहितका लामो र छोटो दूरीका सवारी साधन शनिबारदेखि सुचारु भएका हुन् ।

यातायात सञ्चालनसँगै यात्रुहरूलाई गन्तव्यमा सहज रूपमा पुग्ने सुविधा मिलेको छ । आन्दोलनका कारण लामो दूरीका यात्रामा असुविधा भोग्नुपरेका यात्रुहरू अहिले राहत महसुस गरिरहेको व्यवसायीहरूको भनाइ छ ।

नेपालगन्जबाट दैनिक सयौंको संख्यामा बस र मिनिबसहरू देशका विभिन्न सहरतर्फ गमन गर्ने गर्दछन्। यातायात सञ्चालन पुनः सुरु भएपछि व्यापार–व्यवसाय तथा सामाजिक गतिविधिहरू पनि सहज हुने अपेक्षा गरिएको छ । नेपालगन्जको बाटो भारतको दिल्लीका लागि पनि शनिवारदेखि बस जान थालेको होटल व्यवसायी संघ बाँके नेपालगन्जका कोषाध्यक्ष एकराज पाण्डेयले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया