सेवा सुचारु हुन समय र खर्च धेरै : नेपालगन्ज उपमहानगरपालिका

जेनजी आन्दोलनको क्रममा नेपालगन्ज उपमहानगरपालिका कार्यालय जलेर खण्डहर बनेको छ । भदौ २४ गते दिउँसो प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको गेट फोडी आगजनी गरेर भित्र पसेका थिए ।

भौतिक पूर्वाधार सहितका सम्पूर्ण महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएपछि नेपालगन्ज उपमहानगरपालिकाले अस्थायी रूपमा सेवा प्रवाह ठप्प भएको छ ।

आगजनीका क्रममा फोहोर उठाउने ट्याक्टरहरूमा समेत आगजनी भएपछि सहर सरसफाई कार्य ठप्प भएको छ । जसले गर्दा सडकमा फोहोरको थुप्रो लाग्न थालेको छ ।

‘आन्दोलनको क्रममा नेपालगन्ज उप महानगरपालिकामा आगजनीले भोलिको दिनमा आउने चुनौती धेरै छन्, त्यसमा सबैभन्दा प्रमुख चुनौती नगरको फोहर ब्यवस्थापन नै हो,’ क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्जका फाउण्डर डा. विनोद कर्णले आफ्नो भनाइ सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘समस्या समाधान नहुन्जेल सकभर आफ्नो फोहोर सडकमा नफालौ, फोहोर ब्यवस्थापनमा सबैले हातेमालो गरौं !!’,
उपमहानगरपालिकाले कागजात र अभिलेखहरू सुरक्षित नभएकाले तत्कालका लागि नियमित सेवाप्रवाह गर्न असम्भव भएको जानकारी दिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले सेवा स्थगनले परेको असुविधा प्रति दुःखी हुँदै परिस्थिति सामान्य हुने वित्तिकै सम्पूर्ण कर्मचारीहरू सेवा प्रवाहमा जुट्न समेत अनुरोध गरेका छन् । यसअघि उपमहानगरपलिकामा कर्मचारीहरूले नगरपालिका भवनको सरसफाई गरेका थिए ।

आगजनीबाट उपमहानगरपालिकाको गेटदेखि भवन संरचनासमेत जलेर ध्वस्त भएको छ । कार्यालयका हरेक कक्ष जलेका छन् भने महत्त्वपूर्ण कागजात तथा प्रणाली खरानी बनेका छन् । भवनमा समेत ठूलो क्षति पुगेको छ । अहिले केबल भित्ताहरू मात्र उभिएका छन्।

कार्यालयभित्र रहेका आधादर्जन बढी सवारी साधन जलेका छन् । ‘जो कोही भोलि आउने जनप्रतिनिधिदेखि कार्यासम्पादनमा आवश्यक सार्वजनिक सम्पत्तिमा आगजनीले कसैलाई फाइदा गर्दैन,’ आइतवारबाट सेवा प्रवाह गर्न सकिन्छ की भन्नेबारे परामर्श थालेको जानकारी दिंर्दै नगरप्रमुख प्रशान्त विष्टले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जवासीको साझा सम्पत्ति ध्वस्त पारिएको छ, मन रुने अवस्था छ ।’

नगर प्रमुख विष्टका अनुसार, पूर्ण रूपमा सेवा सुचारु गर्नका लागि फर्निचर, कम्प्युटर, इन्टरनेट प्रणाली र सफ्टवेयरलगायत पूर्वाधार पुनःजडान गर्नुपर्ने अवस्था छ ।

जनताको आफ्नो सम्पत्तिमा कसले किन आगजनी गरेको भन्ने खोजी गरि दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग जनप्रतिनिधिदेखि नागरिकको छ । ‘यसरीनै दण्डहीनता रहयो भने भोलि जोकसैले जहिलेपनि अपराधमा अग्रसर हुन्छ,’ खरानी सफा गरिरहेका कर्मचारीले आक्रोशति हुँदै दैनिक नेपालगन्जसँग भने, ‘सबै खोजी गरेर कारबाही गरिनुपर्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया