पिङका बहानामा बलात्कार, प्रहरीनै पक्राउ

दाङमा दुई बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् । सशस्त्रको कार्यालयबाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको खुलेपछि दुई जना पक्राउ परेका हुन् ।

गत असोज २४ गते पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगरले बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

दसैँका बेला पिङ खेल्न गएका ती दुई बालिकालाई २९ नं. ज्वालामाई गणमा कार्यरत उनीहरुले बलात्कार गरेको स्थानीयले आरोप लगाएका छन् । सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाहा पाएर स्थानीयले बुधबार गणलाई घेराउ गरेका थिए ।

यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक–पटक आफन्तहरुले गणका एसपी रमेश थापालाई उजुरी गरे पनि ढाकछोप गर्न खोजेको स्थानीयको आरोप छ । असोज २४ गतेदेखि ढाकछोप गरेर राखेको कारण उनीहरु पक्राउ पर्न ढिलाइ भएको थियो ।

तर, स्थानीयको आरोपपछि उनीहरु दुवै जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया