चिसो बढेपछि आगो ताप्ने व्यवस्था

जिल्लाका १ लाख ७६ हजार व्यक्ति चिसो प्रभावित हुन सक्ने आंकलन

शीतलहर बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जेष्ठ नागरिक, न्यानो कपडाको कम पहुँच भएका समूहलाई लक्षित गरि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ । चिसो बढेपछि नेपालगन्जका विभिन्न सार्वजनिक स्थानमा सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था मिलाइएको हो ।

समितिले बढ्दो शीतलहरसंगै जेष्ठ नागरिक, बालबालिका र न्यानो कपडामा पहुँच कम भएकाहरुको बिहानीको दैनिकीलाई सहज बनाउन सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । शनिवार बिहानैदेखि मानिसहरुको बाक्लो चहलपहल हुने चोकहरु, अस्पताल, निलसागर आश्रम, मानव सेवा आश्रम लगायतका सामूहिक आश्रयस्थलमा सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताएका छन् ।

शनिवार विहान सबै सुरक्षा प्रमुखहरु सम्मिलित टोलीद्वारा सामूहिक आगो ताप्ने ब्यवस्था मिलाइएको हो । वन कार्यालय र सामुदायिक वनहरूसँग समन्वय गरी सहुलियत दरमा दाउरा लिएर सामूहिक आगो ताप्ने (धुनी ) प्रवन्ध मिलाउन स्थानीय सरकारसहित सबैलाई बाँके प्रशासनले अनुरोध गरेको छ । ’शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०’ बमोजिम सक्रियता बढाउन सरोकारवाला निकाय तथा संघसंस्था सबैलाई प्रशासनले लिखित अनुरोध गरिसकेको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए ।

शनिवारमात्रै दुई ट्रक दाउरा वितरण गरिएको प्रजिअ पोखरेलले बताए । यस वर्ष बाँके जिल्लाका १ लाख ७६ हजार व्यक्ति चिसो प्रभावित हुन सक्ने आंकलन जिल्ला विपद् व्यवस्थापन समितिले गरेको छ । ज्ञवालीले पालिका स्तरमा पनि न्यानो कपडा र आगो ताप्ने प्रवन्ध मिलाउन लिखित अनुरोध समेत गरिसकिएको छ । गत मंसिर २७ गते बसेको समितिको बैठकले बाँकेको शितलहर आकस्मिक योजना लागू गर्दै सबै क्षेत्रलाई सकृय रहन अनुरोध समेत गरेको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार, समितिले पाँचसय थान कम्मल खरिद गरिसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया