राष्ट्रिय–अन्तराष्ट्रिय कलाकारको रंगीन साँझ
विश्वभर आज शुक्रवार, ३१ डिसेम्बरको अन्तिम रात सन् २०२१ को विदाई र नयाँ वर्षको स्वागत गरिंदैछ । नेपालगन्जमा मेरो प्लानेटले यो वर्ष पुनः ’द स्माइल पोजिटिव’ महोत्सव को रुपमा मनाउने भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा देश विदेशबाट चर्चित कलाकार नेपालगन्ज ल्याइएको मेरो प्लानेटले जनाएको छ । चर्चित राष्ट्रिय गायक कलालकार काली प्रसाद बासकोटा, इन्दिरा जोशी लगायतका कलाकारलाई निम्त्याइएको छ,’ मेरो प्लानेटका प्रवन्ध निर्देशक डा. ओम मिश्रले दैनिक नेपालगन्जसँग भने, ‘भारतबाट त्यहाँका चर्चित कलाकार वैशाली राईक्वार र द सोनेट ब्याण्ड धमाकेदार प्रस्तुतिका लागि नेपालगन्ज आइपुग्दैछन् ।’
नेपालगन्जमा अन्तर्राष्ट्रियको साँगीतिक प्रस्तुतिको झलक दिन खोजिएको आयोजकको भनाइ छ । ‘कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरको म्युजिक सिस्टम, स्टेज, लाइट र अन्य उपकरण को प्रयोग हुनेछ,’ डा. मिश्रले भने, ‘मनोरन्जनात्मक कार्यक्रमका साथमा कयौं प्रकारका विभिन्न स्वादिष्ट भोजनका परिकार सहुलियतमा उपलब्ध हुनेछन् ।’
कार्यक्रमका प्रस्तोता समीर मान श्रेष्ठले दर्शकलाई नचाउने तथा विभिन्न मनोरञ्जनात्मक खेलहरूमा रमाइलो गराउने गरि कार्यक्रमको डिजाइन गरिएको आयोजकले जनाएको छ । आरजे समीर नेपालगन्जका युवा पुस्तामाँझ लोकप्रीय प्रस्तोता हुन् । ‘स्थानीय प्रतिभाको उजागर गर्ने स्तरिय मञ्चदेखि राष्ट्रिय– अन्तर्राष्ट्रिय कलाकारहरुको जमघट गरेर नेपालगन्जमैं नयाँ गन्तव्यका रुपमा मेरो प्लानेटलाई पहिलो रोजाइ बनाउन खोजिएको हो,’ डा. मिश्रको भनाइ छ । सशुल्क टिकटमा विभिन्न सहुलियतका परिकार पस्किने कार्यक्रम मेरो प्लानेटले सार्वजनिक गरेको छ ।