बहसः सातामा दुई दिन विदा ?

नेपालमा अहिले हप्तामा दुई दिन बिदा दिएर पाँच दिन कार्यादिवस बनाउने चर्चा निकै चलेको छ ।

संसारमा कोभिड–१९ ले दस्तक दिएको र अष्ट्रेलियामा भिषण आगलागीका कारण त्यहाँको सरकारले राष्ट्रिय बिपत्ति घोषणा गरेको अवस्थामा त्यहाँका सडकमा नेपाल भ्रमण बर्षको नारा लगाउन पुगेका नेपालका युवा सँस्कृति पर्यटन मन्त्रीले अहिले आन्तरिक पर्यटनको नाममा नेपालमा एकपटक प्रयोग भएर असफल भै सकेको नेपालको अर्थतन्त्र र सँस्कृतिमा कुनै अर्थ नराख्ने हप्ताको दुई दिन बिदाको नयाँ बाँसुरी बजाउन खोजेका छन् । समान्यतया शनिबार मात्रै साप्ताहिक बिदा दिने नेपालको प्रचलनमा अब आइतबार पनि थपेर दुई दिन बिदा दिँदा अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रम यो सरकारले पालेको जस्तो पनि देखिँदैछ ।यसरी हप्तामा दुई दिन बिदा दिनुको पछाडी के कारण रहेको छ र देशलाई के कति आर्थिक समाजिक नैतिक फाइदा हुन लागेको हो यसको चित्तबुझ्दो कुनै उत्तर सरकारले दिन सकेको छैन ।केहि बर्ष अगाडी काठमाण्डौंको ट्राफिक र बत्तिको ब्यवस्थापनको बहाना बनाएर उपत्यका भित्र हप्तामा पाँच दिन कार्यालय चल्ने गराइएको थियो । यो प्रयोग असफल नै भै सकेको छ । तर आज फेरि सरकारका सँस्कृति मन्त्री लगायतले सिँङ्गो देशैभरि नै लागू गर्ने गरि हप्तामा दुई दिन बिदा दिनुपर्छ भनि निकै जोरशोरका साथ वकालत गरिरहेका छन् । यसमा साथ र सहयोग बिशेष गरि आइएनजीओहरु, यसमा का्म गर्ने सत्ताधारीका आफ्ना मान्छेहरु, जनताको करबाट तलबभत्ता हसुरेर कामचोरी गर्ने र नेपाली मौलिकताको नेपाली चाडपर्वहरुको बिदा धेरै भयो यो कटाउनु पर्छ भन्नेहरु नै बढि चर्को चर्को शोरमा दुई दिन बिदा दिन पर्छ भन्ने लाममा लागेका भेटिन्छन् ।
संसारका धेरै देशहरुमा हप्ताको दुईदिन बिदा दिने प्रचलन रहेको छ । यसको प्रचलन बिशेष गरि बीसौं शताब्दीको शुरुबाट भएको पाइन्छ । यो प्रचलन सन् १९४० देखि १९६० को बीचमा संसारका धेरै देशहरुमा लागू भएको पाइन्छ ।

सबैभन्दा पहिला ब्रिटेनको कटन मिलका कर्मचारीहरुबा त्यहाँ रहेका यहुदीहरुबाट शनिबारको दिनलाई कालो शनिबार भएकोले काम नगर्ने भनेपछि बिदाको माग भएको र आइतबार इसाइहरुको चर्चमा प्राथनाको दिन भएको बिदा हुनुपर्ने भन्ने माग पछि यहुदी र इसाई दुबै समुदायका कर्मचारीको माग अनुसार काम गर्ने साप्ताहिक घण्टालाई समायोजन गरि दुई दिन बिदा दिने प्रचलन गरिएको तथ्य पनि भेटिन्छ । कालान्तरमा गएर इस्लामिक देशहरुमा पनि यहि प्रचलन चल्दै गर्दा शुक्रबार र शनिबार बिदाको चलन रहेको कतिपय इसाई समुदायको दबदबा नरहेका इस्लामिक देशहरुमा पाइन्छ ।
जहाँसम्म नेपालमा शनिबार बिदाको कुरा हो यसका पछाडी वैदिक परम्परालाई अनुशरण गरेको पाइन्छ । वैदिक परम्परा अनुसार शनिबार भनेको हप्ताको आखिरी दिन हो भने आइतबार भनेको हप्ताको पहिलो दिन हो । आइतबारको दिनलाई रविबार पनि भनिन्छ । यो दिन सूर्यको उपसना गर्ने दिन पनि हो । संसारलाई प्रकाश दिने, जीवनको सम्भावनालाई साकार पार्ने, उर्जाको श्रोत श्री सूर्यनारायणको दिन रविबार हो । जसरी सूर्योदयसँगै हरेक बिहानीको आगमन हुन्छ त्यसैगरि हप्ताको पहिलो दिन आइतबारलाई मानिएको हो । हप्ताको अन्तिम दिन बिश्राम गरेर पहिलो दिनबाट पुनः कार्यमा फर्कने परम्पराका पछाडी निश्चित वैदिक आधार, नेपाली परम्परा रहेको छ ।
एक्कासौं शताब्दीमा अन्तराष्ट्रिय श्रम संगठनको अलि ब्यापक नै सक्रियता देखिएको छ । श्रमिकहरुको हक हित भन्दा पनि संसारका नेपाल जस्ता देशहरुमा पश्चिमा सोंचहरुलाई उनीहरुको इच्छाअनुसार परिणत गर्न बिश्व श्रम संगठनले बिभिन्न देशका साँस्कृतिक बिरासतहरु, परम्परागत मूल्य र मान्यताहरुमा समेत हस्तक्षेप गर्ने गरेका थुप्रै उदाहरण पाइन्छन् । श्रमिकहरुको हक भन्दा पनि बहुराष्ट्रिय कम्पनीहरु र बिभिन्न देशका ठूला पूँजिपतिहरुको हितमा काम गरेको भन्ने आरोपबाट बिश्व श्रम संगठन मुक्त छैन ।
प्छिल्लो समय विश्वमा श्रमिकहरुको कार्यघण्टा हप्ताको ४२ घण्टा दखि ४८, ५० घण्टासम्म कायम गरिएको छ । तर धेरै देशहरुमा हप्ताको दुई दिन बिदा राखेर पनि ४२ घण्टा काम गर्नै पर्ने ब्यवस्था रहेको छ । अझ बिदेशी कामदारबाट काम लिने देशहरु जो नेपालीहरुका रोजगारीको गन्तब्य मानिन्छन् ती देशहरुमा कागजमा ८ घण्टा मात्रै देखाएर सेक्यूरिटी गार्ड, ड्राइभर, क्लीनर, कृषि कार्य आदीमा यो ८ घण्टे नियम नै छैन । त्यहाँ त कम्तिमा १२ घण्टा काम गरेर मात्रै ८ घण्टाको तलब पाएका थुप्रै उदाहरण छन् । त्यहाँ न श्रम संगठन छ न दूताबासले नै कसैको सुन्छ ।
नेपालमा सरकारी कार्यालयहरुको काम गर्ने समय बिहान १० बजे देखि ५ बजेसम्म रहेको छ । जाडो याममा बेलुका ६ बजेसम्म त भनिन्छ तर ६ बजे कुनै पनि कार्यालयमा काम भएको उदाहरण भेट्न गाह्रो छ । यसरी हेर्दा १० बजे दखि ५ बजेसम्ममा जम्मा ७ घण्टा हुन्छ । त्यसमा पनि धेरै कार्यालयहरुमा बिहान ठीक १० बजे काम शुरु भएको भएको पाईँदैन । सेवाग्राहिहरु ९ बजेदेखि नै लाइन बसेको र साढे दश एघार बजे भन्दा पहिला काम शुरु हुँदैन । दिउँसो २ बजे देखि ३ बजेसम्म खाजा खाने समय भनेर सरकारी कार्यालयहरुका कुर्सी खाली रहेका हुन्छन् । यसरी नेपालका सरकारी कार्यालयहरुमा निकै इमान्दारीताका साथ काम गरेको भन्दा पनि जम्मा पाँच घण्टा नै हो काम गरिने र जागीरमा कर्मचारी रहने ६ देखि ६ः३० घण्टा मात्रै हो । यो भनेको हप्तामा ६ दिन कार्यालय खुल्दा पनि जम्मा ३९ घण्टा मात्रै हुन्छ । नेपालमा सरकारी खजानाबाट तलबभत्ता खाने कर्मचारीको संख्या पाँचलाख को हाराहारीमा छ । यसमा एक लाख कर्मचारी अत्यावश्यक सेवामा खटेका मान्दा पनि चार लाख कर्मचारीको हप्ताको कम्तिमा ३ घण्टाको दरले बर्षमा बीस दिन काम नगरेको देखिन्छ । यो भनेको ६ करोड चौबिस लाख घण्टा हो । यसैमा अझ एक दिन बिदा थप्ने हो भने थप गर्दा २० करोड ८ लाख घण्टा अर्थात प्रत्येक कर्मचारीले ५२ दिन कम काम गर्ने छन् । यसरी आर्थिक रुपमा बिपन्न देशको अर्थतन्त्रमा सेवानिवृत भएर पेन्सन खाइ रहेका झण्डै २ लाख ८० हजार कर्मचारीलाई पेन्सनको भारी भो भन्नेहरुले राज्यकोषबाट ५२ थप दिन कामै नगरीकन तलब खुवाउने सोंच ल्याउनुको पछाडीको कारण कुनै पनि हिसाबले राज्यको समृद्धि वा जनतालाई सेवा सुविधा दिन खोजेको भन्नै सकिँदैन ।
नेपालको बार्षिक आर्थिक कारोबारको ४० प्रतिशत हिस्सा दशैं र तिहारमा मात्रै हुने गर्दछ । आन्तरिक पर्यटनको ७० प्रतिशत भन्दा बढि हिस्सा पनि यी दुईवटा ठूला चाडहरुले नै ओगटेको छ । दशैं र तिहारको लामो बिदालाई नेपालका हरेक परिवारले आन्तरिक रुपमा सपरिवार घुम्न उपयोग गर्ने गर्छन् । यो तथ्यलाई सरकारले लुकाउन सक्दैन । ग्रामिण अर्थतन्त्रको धमनी भेनर पनि यिनै दुईवटा चाडलाई नै मानिन्छ । यतिबेला शहरबाट अर्थतन्त्रको प्रवाह गाउँतिर चल्ने गर्छ । नेपाली मौलिक परम्परा अनुसार पनि दशैं र तिहारमा बर्षभरि देश बिदेश गएर काममा ब्यस्त रहेका परिवारका जो कोहि सदस्य पनि गाउँघर फर्कने र बर्षभरिको थकान मार्ने, परिावरसँग बसेर खुशी बाँड्ने, जे जसरी भए पनि मिठो मसिनो खाने, परिवारसँग आफन्तहरुसँग भेटघाट सँगै छोटो नै भए पनि कुनै ठाउँमा घुम्न जाने प्रचलन रहेको छ । यो नेपाली अर्थतन्त्रको परम्परागत गति पनि हो । तर अहिले आयातित धर्मनिरपेक्षता र गणतन्त्रको खटनपटनमा नेपाली माटोका मौलिक चाडपर्वहरुमा धेरै बिदा भए यसलाई घटाउनु पर्छ कटौती गर्नुपर्छ भन्ने जमातको सरकारी निकाय र राजनीतिक दल देखि प्रायोजित बुद्धिजीवीहरुको कमी छैन । उसै पनि नेपालमा बैसाखे संक्रान्ती देखि चैते दशैं सम्म परम्परागत रुपमा दिँइदै आएका बिदाहरु कटौती नगर्दा पनि जम्मा ३२ दिन जति बिदा दिनु पर्दथ्यो यो भनेको हप्तामा एक दिन थप गर्ने बिदा भन्दा २० दिन कम नै हो । बर्षभरिमा ५२ वटा शनिबार र अन्य पर्व बिदा थप गर्दा पनि बर्षमा ९० दिन भन्दा बढि बिदा दिनु पर्दैन । यसरी हेर्ने हो भने यिनीहरुले यो दुई दिन बिदा दिने प्रस्ताव किन ल्याएका हुन ? कसको इसारामा नेपालका हाम्रा मौलिक धर्म सँस्कृति रीतिरिवाज मनाउन रोक लगाउने र नेपाली अर्थतन्त्रको धमनी रहेका चाडपर्वहरुका बिदा काटेर कस्तो अर्थतन्त्रको बहाना बुनिरहेका छन् बुझि नसक्नु छ ।तिम्रा हप्तामा दुई दिनका बिदाले नेपालको न त गाउँ चलायमान हुन्छ न कोहि बेसरी घुम्न गएर आन्तरिक पर्यटन बढ्ने छ । यदि बढ्ने छ त हप्तामा दुई दिनको लागि भट्टिको खर्च जुटाउने भ्रष्टाचार मात्रै । अनि हाम्रा मौलिक चाडपर्वका बिदा मास्ने उद्देश्यको यो बाँसुरी बिल्कुलै असान्दर्भिक र अवाञ्छित छ भन्नै पर्ने हुन्छ ।
संसारका अति नै सीमित चाडपर्व भएका धार्मिक सम्प्रदाय भएका देशहरुको दाँजोमा नेपाल कहिल्यै पर्दैन । नेपाल त धार्मिक र साँस्कृतिक रुपमा बिशेष दर्जा भएको देश हो । नेपालमा परम्परागत रुपमा नै नेपालमा जरो र किलो भएका यहिँ उद्गम स्थल भएका धार्मिक सम्प्रदायहरु ( हिन्दू, बौद्ध, किराँत, जैन र बोन ) पाँचवटा रहेका छन् । यसमा सिख समुदायलाई पनि जोड्दा ६ वटा त ओमकार परिवार भित्रका धार्मिक सम्प्रदाय रहेका छन् । गुरु परम्परा देखि प्रकृति पूजा र कुल पूजा सम्म गर्ने नेपालका मौलिक रैथाने धार्मिक सम्प्रदाय माथि कुनै न कुनै रुपमा आक्रमण गर्ने, यिनीहरुका चाडपर्वहरु माथि अंकुश लगाउने, यसलाई बिकास बिरोधी या पुरातनी भनेर पाखण्ड भनेर अपमान गर्ने कामको किमार्थ पनि प्रशंसा गर्नै सकिँदैन । यो हप्तामा दुई दिन बिदा दिने नाममा परम्परागत रुपमा मनाउँदै आएका मौलिक चाडपर्वका बिदाहरु कटौती गदै
जाने र गाउँको आत्मियतालाई मास्ने यो सरकारको नियतमा जति पनि शंका गर्ने ठाउँ छ । नेपाल र नेपालीको आत्म मार्ने गरि गरिने जुनकुनै निर्णयमा र यो हप्तामा दुई दिन बिदा दिने निर्णय भएमा यो किमार्थ पनि ओमकार परिवारले अस्वीकार गर्नु पर्छ । यो भनेको नेपाली धरातलमा बेसुरको बाँसुरी नै हो ।

प्रतिक्रिया

प्रतिक्रिया