इन्सेकका अनुसार अझै पनि धेरै बालबालिका असुरक्षित रहेका छन् । बालश्रम, बालबालिका बेचबिखन तथा ओसारपसार, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चितीजस्ता बालअधिकार हननबाट बालबालिका पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।
यस वर्ष प्रदेश ५ मा बाल अधिकार उल्लङ्घनका घटनामा २ सय ८३ बालबालिका पीडित भएका छन् । जसमा बालिका २ सय ५५ र २८ बालक रहेका छन् । बर्ष २०१९ मा प्रदेश ५ मा बेचबिखनबाट ३८, बालबालिकालाई दिइने शारीरिक दण्ड सजायबाट १६, बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा २ सय २० जना पीडित भएका छन् । सन् २०१८ मा १ सय १२ जना बालिका र २ सय १ जना महिला बलात्कार तथा यौन दुव्र्यवहारबाट पीडित भएको इन्सेकको तथ्यांक रहेको छ ।
सन् २०१९ मा विगतका बर्षहरु झै महिलामाथि हुने हिंसाका घटना संख्या र प्रवृत्तिमा कमी नआएको इन्सेक प्रदेश ५ का संयोजक भोला महतले जानकारी दिएका छन् । इन्सेकले प्रदेश ५ मा परिवारबाट २२ महिलाको हत्या भएको घटना अभिलेखिकरा गरेको छ । सन् २०१९ मा महिला हिंसाका घटनामा १ हजार ६० जना महिला पीडित भएका छन् । महिला हिंसाबाट ७ सय ३७, बोक्सीको आरोपमा चार जना, बहुविवाहबाट २२ जना, बलात्कार, बलात्कार प्रयासका र यौन दुव्र्यवहारका घटनामा १ सय २९ जना, बेचबिखनका घटनामा १६ जना र प्रसुति सेवा नपाउँदा एक महिला पीडित भएका छन् ।
उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायम छ । धेरैजसो बालविवाहका घटना प्रहरीसम्म आइपुग्दैन । इन्सेकले प्रदेश ५ मा बालविवाहका ५ वटा घटना मात्रै अभिलेखिकरण गरेको छ । अभिभावकले नै बालविवाह गराउने प्रवृत्ति बढी भएकाले पनि बालविवाहका घटना बाहिर आउँदैनन् ।