नेपालगन्जः उहिले र अहिले

विजय बर्मा

नेपालगन्ज मुलुकै एकमात्र ऐतिहासिक शहर, जुन राष्ट्रकै नामले सम्बोधन हुन्छ । यस किसिमले राष्ट्र कै नाम बोकेको शहर विरलै भेटिन्छन संसारमा । सामाजिक, सांस्कृतिक र धार्मिक विविधता सँगसँगै सबै प्रकारले सहिष्णुता पनि यस शहरको समाजमा विद्यमान छ ।

नेपालगन्जको पहिलो परिचित परिचय हो व्यवसाय गर्ने स्थल र अहिले उद्योग व्यवसाय र पर्यटन मै केन्द्रीत हुँदै शिक्षाको हवको रुपमा पहिचान बनाइसकेको छ । यस नगरमा मंगल प्रसाद गुप्ताले मंगल स्कूल र स्व. औतार देई चौधाइनले वि.सं. २००७ मा नारायण शिक्षा प्रसारको जग बसाई राख्दा कसैले सोंच्न सकेका थिएनन् आजका दिनसम्म आइपुग्दा नेपालगन्ज मेडिकल कलेज, भेरी प्राविधिक शिक्षालय, भेरी नर्सिङ्ग क्याम्पस जस्ता मुलुककै अब्बल शिक्षण संस्था यहाँ हुनेछन् । शैक्षिक क्षेत्रको विकासको क्रम रोकिएको छैन । नेपालगन्जले प्राविधिक विश्वविद्यालयको स्थापना गर्न संसदको निर्णय पर्खेर बसेको छ । उच्च शिक्षा अध्ययनका लागि पश्चिम नेपाल कै शैक्षिक गन्तव्य रहँदै आएको छ, यहाँको महेन्द्र बहुमखी क्याम्पस । अहिले नेपालगन्जमा नाम चलेका प्रतिष्ठित शिक्षण संस्था तीन दर्जन भन्दा बढी छन् ।


स्वास्थ्य सेवाको क्षेत्रमा नेपालगन्जले मुलुकको अन्य शहरको दाँजोमा कैयौं गुणा बढी फड्को मारेको छ । घाउ, खटिरा र पिलो को चिरफार गर्ने घसियारन यस टोलका भागवानदीन कहार र विरामीको उपचार गर्ने एकलैनिका काले कम्पाउडरको रोग निको पार्ने विधिका साथसाथै आधुनिक उपचारको पद्धति यो शहरमा प्रवेश गरिसेकेको छ । यहाँ अहिले करिब डेढ सय जना जति विशेषज्ञ सेवा दिने चिकित्सक सक्रिय छन भने दुई दर्जन अस्पताल संचालनमा रहेका छन् ।


नेपालगन्जको विगत
नेपालगन्जलाई ऐतिहासिक दृष्टिकोणले हेर्नेहरुको यहाँ दुई पक्ष रहेको छ । एउटा जंगबहादुरकालमा सुब्बा पद्यनाथ जोशीको नेतृत्वमा बजारको विस्तार भएपछि अर्को राणाकाल अघि बाइसे राज्यकाल सँगसँगै । अवध राज्यको पतनसँगै नेपालगन्जले नयाँ स्वरुप पाएको पक्कै हो । ब्रिटिश भारतले सन् १८६० मा जंगबहादुरलाई बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई उपहारमा दिएको कुरा समकालीन व्रिटिश इतिहासकारहरुले उल्लेख गरेकै छन् । राणाकालमा नेपालगन्ज बसाइयो भन्नेहरुले यो शहरको अस्तित्व कुनै जग माथि बनाइरहेको हो अथवा जंगबहादुरले सपना देखेर घना जङ्गलमा शहर बसालेका हुन अनुसन्धानको विषय हो ।
शहर बन्नलाई केही न केही पूर्वाधार चाहिन्छ नै । धेरैजसो प्राचीन शहर नदीको किनारमा वा तीर्थस्थलमा अवस्थित छन् तर नेपालगन्ज त्यो बेला जंगलमा कसरी बस्यो त्यतातिर खोजि भएन ।


नेपालगन्जको सामरिक महत्व
एउटा कुरा सत्य के हो भने यो शहर शदियौं देखि सीमा मंै छ । विगत र वर्तमान यसको धरोहर सीमा नै हो । तत्कालीन अवस्थाहरुमा राज्यका सीमाहरु हेरफेर भइरहन्थे । स–साना राजा रजौटाहरुको अधिनमा रहेको यो शहर कहिले तुल्सीपुर, कहिले बलरामपुर त कहिले अवधमा परेपनि इतिहासका पानाहरुमा यो सीमावर्ती नै रह्यो । बाइसै राजाहरुको एउटा राज्य तुल्सीपुर जसको क्षेत्र उत्तरमा सल्यानको चौघेरा, पूर्वमा दाङ्गको भालुवाङ्ग दक्षिणमा भारतको बलरामपुर र पश्चिममा बर्दियासम्म करिब १५० मील लम्बाई चौडाईको क्षेत्रफलमा फैलिएको थियो । यो राज्यको केही भू–भाग अहिले भारतमा रहेको छ । तुल्सीपुर राज्यको राजधानी दुई ठाउँमा थियो । जाडो याममा पहाडमा हुथ्यो भने गर्मी याममा तराईको तुलसीपुर जुन अहिले भारतीय भू–भागमा परेको छ । ब्रिटिश इतिहासकार हैमिल्टनले उल्लेख गरे अनुसार यो राज्यको ४४औं पुस्ताका राजा चौहान दिर्घ नारायण सिंह (सन् १८२५–१८५९) अंग्रेजसँग विद्रोह गरेकाले त्यही कारणले उनको पतन गरी राज्य अधिनस्थ गरियो ।


यो राज्यको सीमामा १२ वटा गढी (कोट) किल्ला थिए, जसमध्ये एउटा किल्ला थियो नेपालगन्जमा । यो राजपरिवारको कुलदेवी हुन पाटेश्वरी (पाटनदेवी) र बागेश्वरी । बागेश्वरी मन्दिर कै दक्षिण अहिले जहाँ खानेपानी संस्थानले खानेपानी ट्यांकी बनाएको छ, त्यही ठाउँमा तुलसीपुर राज्यको किल्ला थियो । त्यो किल्ला र मन्दिर क्षेत्रको निर्माणमा नजिकै माटो खनिएको ठाउँहरु पछि बालदा तलाउ र बागेश्वरी तलाउ बने । किल्लामा सेना र कर्मचारी बस्थे । यस क्षेत्रको सुरक्षामा खटिने गर्ने आसपासका गाउँहरु धम्बोजी, करमोहना, बाँके गाउँ, भवानीयापुर, बुलबुलिया, पुरैना परैनी कारकाँदोमा बस्ने ताल्लुकदार, जमिन्दारहरुसँग राज्यको सहकार्य गर्थे । किल्लामा रहने गरेको तोप पड्काउने तोपची र भरुवा बन्दुकका लागि बारुद बनाउने काम मुस्लिम समुदायका मनिहार जातीकाले गर्थे र उनिहरुकै परिवार घरवारी टोल र इदगाह रोड तिर फैलदै गएको हो ।


त्यो बेला संगठीत सेना हुँदैन थियो । खेती किसानी गर्ने र परेको बेला राज्यका लागि लड्ने जति सुदायलाई यस क्षेत्रमा बसोबास गराइएको थियो, किनकी यता जङ्गली भू–भाग बढी र छिमेकीहरुको आक्रमण हुने सम्भावना बढी थियो । यसका आसपास भवानीयाँपूरमा बच्चु चौधरी, पुरैनामा राम गोपाल चौधरी, बनकटीमा लच्छु चौधरी, बसुदेवपुरमा गोकरन चोैधरी, कारकादोमा देवतादीन चौधरी र धम्बोझीमा पिताम्बर चौधरीको जमिन्दारी राणाकाल भैरहेको बाँके मालको मोठमा उल्लेख छ ।


नेपालगन्जको आसपास सन् १८६० तिर बजार विस्तार गरिएको क्षेत्रमा मुस्लिम र कुर्मी जमिन्दार थिए भने जङ्गल क्षेत्रतीर बनकटवा, नौवस्ता, मैटहवा, फत्तेपुर, बघौडा, टिटिहिरिया, थपुवामा थारु जातीको जमिन्दारी रहेको पाइन्छ ।

नेपालगन्जको नामाकरण
तुलसीपुर राज्य पहाडी क्षेत्रको नेपाली राज्य थियो । यो क्षेत्र त्यसैको अधिनस्थ भएकाले ब्रिटिश शासित भारतीयहरुले यस क्षेत्रलाई छोटा नेपाल भन्ने गर्थे । अहिले पनि त्यताका वासिन्दाले नेपालगन्जलाई छोटा नेपाल र काठमाडौलाई बडा नेपाल भन्ने गर्दछन् ।


त्यो जमानामा यो जङ्गली क्षेत्रमा वार्षिक मेला लाग्ने ठाउँहरुमा केही दिनका लागि हटिया बजार लाग्थे । मंसीर महिनाको विवाह पञ्चमीमा कम्दीको बालापुर क्षेत्रमा राप्तीको तटमा मेला लाग्दथ्यो जहाँ दाङ्ग, देउखुरी तिरका किनमेल गर्न आउँथे । तुलसीपुर राजपरिवारको कूलदेवीको मन्दिर पाटेश्वरी र यहाँको बागेश्वरीमा चैत्र महिनाको रामनवमीमा मेला लाग्ने र यस क्षेत्र कै थारु, मधेसी र मुस्लिमहरु पुग्ने गरेकोले सानो तिनो हटिया पनि त्यो दिन लाग्ने गर्दथ्यो । बागेश्वरीमा चैत्र राम नवमीको मेला अहिले पनि लाग्ने गर्छ । पछि पछि भारतबाट आउने व्यापारीहरु छोटा नेपालमा व्यापार गर्न आउँदै बाँकी गाउँ र जयसपुरमा स्थायी रुपमै कारोवार गर्न थालेका थिए । बागेश्वरी मन्दिर र किल्लाका छेउछाउ बस्ती बाक्लिदै जाँदा यता घरवारी टोलमा लोनियाँ, कोरी, तेली र मुस्लिम मनिहार जातीको बसोबास थियो भने किल्लाको उत्तरतर्फ बाल्मिकी, बनियाँ, हल्वाई जातीकाले घर बनाएका थिए । नजिकैको गाउँ बाँकी धम्बोजी, जयसपुर र करमोहनामा कुर्मी, अहिर, कहार, दलित र मुस्लिमको बसोबास रहेको थियो । मेलाका बजारहरु तिथी पर्वमा लाग्दै आएकाले छोटा नेपालले परिचित यो क्षेत्र व्यापार व्यवसाय गर्ने स्थलको रुपमा विकसित हुँदै जाँदा कालान्तरमा छोटा नेपालबाट नेपालगन्ज बन्न पुग्यो ।


यस क्षेत्रमा स्थानीयहरुले व्यापार व्यवसाय गर्ने थलोलाई गन्ज जोडेर सम्बोधन गर्ने गर्थे । सानो तिनो व्यापार बढ्दै जाँदा छोटा नेपालको अगाडी छोटा भन्ने शब्द हट्यो भने गन्ज थपिएर नेपालगन्ज बन्न पुग्यो । सीमा पारि पनि यस्ता बजारहरुमा बाबागन्ज, नबाबगन्ज, कैसरगन्ज रहेका छन् । नेपालगन्ज भित्रै पनि नयाँ बसोवास र व्यपार व्यवसाय गर्ने स्थलबनेको गगनगन्जमा स्थलमा पनि गन्ज जोडिएको छ ।


राणाकाल पछिको नेपालगन्ज
अवध राज्यको पतन भएपछि वि.सं. १९१७ तिर जङ्गबहादुरले सुब्बा सिद्धिमान राजभण्डारीलाई यता तुलसीपुर राज्यको चर्चामा रहेको यो ठाउँको आय आस्ता र आम्दानीको श्रोतको अध्ययन गर्न पठाए । सुब्बा राजभण्डारीले बागेश्वरी (धार्मिकस्थल) त्यही मेला बजार (चैत्र राम नवमी) र अलि अलि बस्ती र नजिकैका गाउँहरुमा घुमन्ते व्यापारीहरुको घुइचो देखेको र पहाडका तीर्थयात्रीहरु यतैको बाटो भएरर भारततीर जाने गरेको जाहेरी पठाए ।


त्यही पूर्वाधारलाई संरक्षित एवं विस्तार गर्ने र आम्दानी बढाउने कामका लागि जङ्गबहादुरले पद्यनाथ जोशीलाई पठाए भने सल्यान गैडाका बडाहाकिम लोकबहादुर थापालाई आय आयस्ता उठाई सरकारलाई निश्चित रकम तिर्ने गरी ठेक्कामा दिएका थिए । त्यसपछि नेपालगन्जको पूनर्निर्माण एवं विस्तार स्थायी रुपमै भयो । नेपाली अड्डा, गोश्वारा, माल, अमिनि सबै खुले र सरकारी कर्मचारीका रुपमा पहाडी मूलका बासिन्दाहरुको यहाँ बसोबास हुन थाल्यो । घरबारी टोल क्षेत्रमा अलि बढी बस्ती भएको ठाउँमा पद्यमनाथ जोशीले आफ्ना नातेदारहरुलाई बसाए भने लेफ्टिनेन्ट जर्नेल भएर आएका राज समशेर राणाले आफ्नो परिवार र नातेदारहरुलाई फुल्टेक्रा तिर बसाए । यहाँ पहाड मूलका बसोवास प्रारम्भमा सुब्बा डिल्लिमान श्रेष्ठ, बेलासपुरमा धनेश्वर खनाल, कप्तान फत्तेजङ्ग साहेबजी नारायण शाह यी सबै आए र यीनिहरु कुनै न कुनै प्रकारले राज्यका कर्मचारी भई बसेको थिए ।


रैथाने बासिन्दाहरुले कृषि, व्यापार र उनीहरुसँग प्रशस्त जग्गा जमीन भएकाले आ–आफ्नै पेशामा रमाएका थिए । वि.सं. १९२४ तिर रैथानेहरुमा मुन्सी पदमा आसिन थिए यासिन मनिहार । नेपाल सरकारको प्रतिनिधि भई नेपाल र ब्रिटिश भारतबीचको कानुनी समस्याहरुलाई हेर्ने गर्थे । यीनका पुर्खा तुलसीपुरले बनाएको नेपालगन्जको किल्लामा तोप पड्काउने काम गर्दथे । उनका छोरा अमानुतुल्ला बाँके गोश्वारामा असिस्टेण्ट जमदार पनि भए । पारिवारिक रुपमा यो परिवारले कानूनी पेशा नै अपनायो । यस घरानाका सल्लाहुद्दिन अख्तर सिद्दिकी उच्च अदालतको न्यायाधिश सम्म पुगे भने सफिक अहमद सिद्दिकी नेपालगन्जका प्रधानपञ्च बने । यिनका अरु दाजुभाईहरु अब्दुल हसिब सिद्दिकिहरु लगायत अधिवक्ता नै छन् । मुन्सी यासीन परिवार कानूनी पेशा अपनाए पछिको चौथो पिढीका सकिल सिद्दिकी नेपालगन्ज मै वकालत गर्छन ।


नेपालगन्ज बजारको भू–भागमा मुन्सी यासीनको जग्गा जमीन इदगाह र सदर बजारको पश्चिमी क्षेत्रमा थियो । भेरी अञ्चल अस्पताल भएको ठाउँ र नारायण माध्यमिक विद्यालय लगायतको जग्गा नारायणप्रसाद चौधरी (कसौधन) को थियो भने माल अड्डा, कचहरी, रामलिला मैदान यो सबै क्षेत्र बच्चु चौधरी (कुर्मी) को थियो । उनका छोरा सरकारबक्सको नाममा जिमिदारी आएपछि उनले नै जग्गा छाडी सरकारी अड्डाहरु निर्माण गराए । यो परिवार भवानीयापुरको चौधरीको नामले चिनिने तुलसीपुर राज्यको रियासतदार थियो ।
फुल्टेक्रा, रामनगर क्षेत्रको जग्गा पुरौनाका राम गोपाल चौधरीको थियो भने काँरकादो र धम्बोझी एकै परिवारका देवतादीन चौधरी (कुर्मी) को आय आयस्ता थियो । उनलाई राणाकालमा यो क्षेत्रको जिम्मेवालको पदवी दिइएको थियो । धम्बोझी चौधरी परिवारको लिखित दस्तावेजमा वि.सं. १८८६ देखि निरन्तर बसोबास रहेको देखिएको छ । त्यही परिवारको मूल पूर्खा नेवाजी चौधरीको दस्तावेजको आधारमा यहाँ सम्म आइपुग्दा दश पिढीको यहाँ बसेको रहेको देखियो ।


मेरो हजुरबुबा भगौती प्रसाद र उनका काका लालबहादुर चौधरीले वि.सं. २००६ चैत्रमा धम्बोझी चोकमा पक्की घर बनाएका थिए । हाम्रै परिवारको जसोदा कुर्मीले वि.सं. १९९७ मा ४२ कित्ता जग्गा धम्बोझीमा रहेको शिवशंकर पार्वती देवी मन्दिरलाई दान गरेको बाँकेको माल अड्डामा यथावत रहेको छ ।

औद्योगिक नगरी
यस क्षेत्रमा खासगरी खेतीपाती राम्रो हुने र पहाडबाट घ्यू र जडिबुटी आउने गरेकोले यसैको व्यवसाय हुने गरेको थियो । वि.सं. २०१३ तीर मन्सुरी समशेरले पहिलो ठुलो उद्योग महाकाली मीलको स्थापना गरेपछि टण्डन परिवारलाई साझेदार बनाए । त्यसै उद्योगको स्थापना पछि रामगोपाल टण्डन र कृष्णगोपाल टण्डन दुवै दाजुभाईले कप्तान फत्तेजंग शाहको साझेदारीमा गोपाल इण्डष्ट्रिज (टण्डन राइस मिल) खडा गरेको थिए । बजारमा घ्यूको कारोवार लाला रत्तीराम जोगराज अग्रवालका साथै टण्डन परिवारले पनि गर्ने गरेका थिए । किराना व्यवसायमा यस क्षेत्र कै प्रतिष्ठित व्यापारी महावली, गयाप्रसाद कसौधन थिए । अहिले नेपालगन्जमा करिब चार हजार व्यवसाय र उद्योग दर्ता छन् भने ठूला उद्योग करिब ५० भन्दा बढी रहेका छन् ।


विगतमा नेपालभरी काठमाडौं बाहिर उपयुक्त ठाउँ नेपालगन्ज भएको देखेर मन्सुरी समशेरले यहाँ आफ्नो आवास बनाएका थिए । अहिले उनकै नाती डा. धवलशमशेर नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख छन् । विगत र वर्तमानलाई हेर्ने हो भने यसको उत्तरमा कोहलपुर नगरपालिका र पश्चिममा खजुरा गाउँपालिकामा प्रशस्त उद्योग व्यवसायको विस्तार भइसेकेको छ । नेपालगन्ज विमानस्थलको विस्तार र नौवस्तामा विशेष औद्योगिक क्षेत्रको निर्माण भयो भने नेपालगन्ज विशाल रुप लिन सक्ने देखिन्छ ।


नेपालगन्जको भविष्य
नेपालगन्जको सामाजिक संरचनामा यसको नामको जस्तो सानो नेपालको रुपनै प्रतिनिधित्व हुन्छ । बहु–सांस्कृतिक, बहुभाषिक र बहुधार्मिक विशिष्ठता बोकेको यो शहर निरन्तर रुपमा अगाडी बढ्दै छ । अब यसको समग्र विकासका लागि जनप्रतिनिधिहरुले उचित दृष्टिकोण अपनाउन सके भने विशाल रुप लिँदै महानगरमा परिणत हुन धेरै समय लगाउदैन । नेपालगन्ज खजुरा र कोहलपुरको अस्तित्वको आधार एउटै हो अब समयले पर्खने छैन । यसको भावी स्वरुप महानगर कै लागि उन्मुख हुनुपर्दछ ।


नेपालगन्जले प्रादेशिक संरचनामा जाँदा आफुलाई त्यतिबेला मात्र अन्याय परेको महसुस गर्ने छैन जतिबेला यसलाई प्रदेश ५, कर्णाली र सुुदुरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक नगरीका रुपमा विकासको घोषणा गरी तद्अनुरुपका सरकारी योजनाको दीर्घकालीन खाका कोरिनु पर्छ । खासगरी नेपालगन्जमा बन्दै गरेको सुक्खा बन्दरगाह, दिल्लीसँगको नेपालगन्जबाट सोझो हवाई उडानका लागि अन्तर्राष्ट्रिय विमानस्थल, रेल्वे कनेक्टिभिटी लगायतका पूर्वाधारले पश्चिमको केन्द्रीय आर्थिक एवं औद्योगिक सहरका रुपमा नेपालगन्ज महानगरको विकास सम्भव छ । त्यसका लागि राजनीतिक तवरबाटै नेपालगन्जको दीर्घकालीन विकास गर्न सकियो भने नेपालगन्जले राज्य पुनर्संरचनाका क्रममा भोगेको अन्याय सधैका लागि अन्त्य हुन सक्छ । (बर्मा नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रका प्रमुख हुन् )

प्रतिक्रिया

प्रतिक्रिया