भावुक योगी

क्यान्सरपीडित वृद्धालाई उपचार खर्च जुटाउन धौ
बर्दियाको ठाकुरबाबा नगरपालिका २ कर्मलाकी ५८ वर्षीया बन्धरा कामी क्यान्सरले थलिएको २ महिना भयो । आर्थिक अभावले अहिलेसम्म उपचार हुन सकेको छैन । उनलाई प्रारम्भिक जाँचबाट स्तन क्यान्सर भएको चिकित्सकले जनाएका छन् ।
बन्धरालाई वर्षदिन अघि स्तनमा घाउ देखिएको थियो । समयमै उपचार नपाउँदा त्यो घाउले अहिले क्यान्सरको रुप लिएको छ । उपचार खर्चको अभावमा अस्पताल जान नसकेकी उनीसँग सुकुम्बासी बस्तीमा सानो टहरो बाहेक केही छैन ।
श्रीमान गाउँकै सामुदायिक वनका चौकीदार पेशामा, सामान्य तबल । श्रीमानको सामान्य कमाईले यो परिवारको छाक जेनतेन टरेको छ । सन्तान छैनन् । क्यान्सरको उपचारका लागि खर्च जुटाउने कुनै उपाय नदेखेकी उनलाई साँझविहानको छाक टार्ने धौं । यस्तोमा क्यान्सर अस्पतालसम्म पुगेर उपचार गर्ने सपना नै भएको छ ।
‘जेनतेन साँझविहानको मुख जोरेका छौं, यसैमा यस्तो विपत आइ पर्यो,’ बन्धरा कामीले उपचारका लागि खर्च जुटाउने कुनै उपाय नै नभएको भन्दै दुखेसो पोखिन्, ‘अब त रोग र भोक दुबैले मरिने भइयो ।’ क्यान्सरपीडित बन्धराले भावुक हुँदै भनिन्, ‘जतिजति दिन बित्दै छ, व्यथा पनि झनै बढ्दै गएको छ ।’ किनकी समयमै उपचार गर्न नपाउँदा रोग पनि बल्झिदै जान थालेको छ । ‘समय बित्दै गएको छ । रोग झनै बढ्दै गएको छ । उपचार गर्ने कुनै उपाए नै छैन । मृत्यु कुरेर बस्नु परेको छ,’ पीडित बन्धरा पीडा पोख्छिन् ।
इसैबीच, क्यान्सर पीडित बन्धराको पीडामा मलम लगाउन स्थानीय युवा आर्जन रिजाल र जेनिश थापाले ‘क्यान्सरपीडित आमा बचाऊँ’ अभियान’ चलाएका छन् । तर, अभियानबाट क्यान्सर रोगको उपचारमा लाग्ने खर्च जुटाउन मुस्किल परेको अभियानका युवा आर्जन रिजालले बताए ।
अभियानबाट संकलन भएको रकमले पीडित बृद्धालाई उनीहरुले एक महिना अघि क्यान्सर अस्पताल भरतपुर चितवनसम्म पुर्याएका थिए । त्यहा पहिलो चरणको चेकजाँच मात्र भएको युवा आर्जनले जानकारी दिए । चिकित्सकले उनलाई तत्काल केमो थेरापी पद्धतीबाट उपचार गरि अप्रेशन गर्नुपर्ने बताएको छ ।
चिकित्सकले बृद्धाको स्तन क्यान्सर दोस्रो चरणमा पुगेको बताएको अभियानका युवा जेनिश थापाले बताए । उपचारका लागि रकम बढी लाग्ने भएकाले क्यान्सरपीडित आमा बचाऊँ अभियानमा सहयोग गर्न युवाहरुले आह्वान गरेका छन् ।




