भारतमा रेल यातायात सञ्चालनमा आएपछि नेपाल–भारत सीमाको जमुनाह नाकाबाट सयौं नेपाली भित्रिएका छन् । भारतमा बढिरहेको कोरोना संक्रमणका कारण भारतबाट भित्रिने नेपालीलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिने भएको छ । स्थानीय तहसँग क्वारेन्टाइनका लागि छुट्टै भवनहरु छैनन् । त्यसैले बाँकेमा स्कुल, क्याम्पसलाई क्वारेन्टाइनका रुपमा प्रयोग भैरहेको छ । लकडाउनका कारण विद्यालयहरु बन्द रहेकाले पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सहज भएको हो ।
भारतबाट भित्रिने नेपालीहरुलाई क्वारेन्टाइनमा राख्नका लागि बाँकेमा स्थानीय तहहरुमा क्वारेन्टाइनको संख्या थपिएको छ । यसअघि बाँकेमा २२ वटा क्वारेन्टाइन रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आठ स्थानीय तहमा यसअघि १ हजार ४३ वटा बेड संख्याको क्वारेन्टाइन रहेको जानकारी दिएको छ । अहिले उक्त संख्या ३३ पुगेको प्रशासनको रेकर्ड रहेको छ । र, क्वारेन्टाइनको संख्या थपिने क्रम जारी छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा आइसोलेसन पनि थपिने भएको छ । बाँकेको खजुरा गाउँपालिकाको कारोना विशेष अस्पतालमा क्षमता अनुसार कोभिडका बिरामी राखि सकिएको छ । बाँकेमा तत्काल विरामी राख्ने अवस्था नभएपछि नरैनापुरमा शुक्रबार भेटिएका ८ जना कोरोना पोजेटिभलाई दाङ्गको बेलझुण्डी पठाइएको छ ।
बाँके प्रशासनले अब कोरोना पोजेटिभ भेटिए नेपालगन्जको डेन्टल अस्पतालमा राख्नका लागि तयारी अगाडि बढाउने निर्णय गरेको छ । प्रशासनमा शुक्रबार भएको सर्वदलीय, सर्वपक्षीय बैठकले डेन्टल अस्पताललाई कोभिडका बिरामी राख्नका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । त्यसबाहेक नेपालगन्ज मेडिकल कलेज, नेपाली सेनाको अस्पताल र प्रहरी अस्पताललाई पनि आवश्यक परेमा प्रयोग गर्नका सकिने गरी समन्वय गर्ने निर्णय बैठकले गरेको हो ।
पछिल्लो पटक मुख्य नाकाबाट ८ सय १९ जना नेपाली भित्रिएका छन् । त्यसबाहेक सीमाका भित्री नाकाबाट पनि सयौं नेपाली भित्रिइसकेका छन् । नेपाल तर्फ रोकिएका १ हजार ४ सय ८३ नेपालीलाई भारत तर्फ पठाइएको छ । बिहीबार मध्यरातीबाट मुख्य नाकाबाट नेपाली भित्रिएका हुन् । भारतले आफ्ना नागरिक लैजान र भारतीय नागरिक पठाउनका लागि आफैले पहल थालेको थियो ।
बाँकेमा भारतबाट भित्रिने नेपालीहरुको संख्या बढेपछि क्वारेन्टाइनको संख्या बढाइएको छ । प्रदेश ५ सरकारले समेत भारतबाट आउने नेपालीलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्नका लागि निर्देश गरिसकेको छ ।
बाँकेको नरैनापुरले सबैभन्दा धेरै क्वारेन्टाइन बनाएको छ । ‘भारतबाट आएका ५ सय ५० जनालाई क्वारेन्टाइनमा राखिसकेका छौं’, गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘४ वटा क्वारेन्टाइन थियो त्यसले धान्ने अवस्था नभएपछि ११ वटा पुर्याइएको छ ।’ भारतमा रहेका नरैनापुरका बासिन्दा अझै आउने क्रम जारी रहेकाले थप क्वारेन्टाइनको आवश्यकता पर्ने अध्यक्ष शाहले बताए । ‘कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति बढेको छ’, उनले भने, ‘संघ र प्रदेशबाट थप सहयोगको आवश्यकता रहेको छ ।’
‘पालिकाका थप नेपाली आउने सक्छन् त्यसैले क्वारेन्टाइनको संख्या बढाउँदै लैजाने निर्णय गरेका छौं’, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने ।
बाँकेको खजुरा गाउँपालिकामा यसअघि ५३ वटा बेड क्षमताको एउटा मात्रै क्वारेन्टाइन रहेको थियो । ‘अब प्रत्येक वडामा क्वारेन्टाइन बनाइनेछ’, खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले भने, ‘जुन वडाका बासिन्दा भारतबाट आउँछन् उनीहरुलाई सोही वडामा राखिनेछ ।’ त्यसका लागि प्रत्येक वडामा सर्वदलीय समिति बनाइएको अध्यक्ष कक्षपतिले जानकारी दिए । अध्यक्ष कक्षपतिले पालिकाका विभिन्न वडामा १९ जनालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् । उनीहरु सबै भारतबाट आएका हुन् ।
नेकपा खजुराका इन्चार्ज भिम ओलीले खजुराको शुक्र माविलाई क्वारेन्टाइन स्थापना गर्ने निर्णयका लागि बसेको बैठकले वैकल्पिक क्वारेन्टाइनका रुपमा योगिनी मावि गौघाट र अमर मावि सि गाउँलाई अघि बढाउने निर्णय गरेको जानकारी दिएका छन् ।
बिहीबार नाकाबाट ३२ जिल्लाका मानिसहरु भित्रिएको प्रशासनको तथ्यांक रहेको छ । जसमध्ये बाँकेका २ सय १४ जना रहेका छन् । यो संख्या मुख्यनाकाबाट भित्रिनेको मात्र हो । बिहीबार भित्रिने मध्ये नेपालगन्जका ५१, कोहलपुरका २२, बैजनाथका २१, डुडुवाका ३१, खजुराका २०, जानकीका १७, राप्तीसोनारीका ९ र नरैनापुरका २५ रहेका छन् । यसअघि क्वारेन्टाइन खाली भएका कतिपय स्थानीय तहले सोही क्वारेन्टाइनमा भारतबाट आएकाको व्यवस्थापन गरेका छन् ।
‘सीमामा ओइरिने मानव सागरको व्यवस्थापन सीमावर्ती सहरको मात्रै टाउको दुखाइको विषय हुनुहुँदैन’, डा. बद्री चापागाईंले आफ्नो आलेख मार्फत सम्बन्धित निकायलाई सुझाव दिंदै भनेका छन्, ‘सीमामा भेला भएका र फेला परेका मानिसहरुलाई उचित ठाउँमा एकीकृत गरी आवश्यक स्वास्थ्य परीक्षण पछि सम्बन्धित पालिकामा पठाउन सकिनेछ ।’ उनीहरुलाई सम्बन्धित पालिकामा वा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनु पर्ने उनले बताएका छन् ।
प्रवासी नेपालीलाई विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर भारतीय प्रहरीले सीमासम्म छाड्ने गरेको सीमाबाट भित्रिने नेपालीबाट खुलेको छ । कोभिड –१९ का कारण जो जहाँ छ, त्यहीँ बस्नुपर्ने दुई देशीय सहमति भए पनि भारतीय पक्षले त्यसो नगरी सीमासम्म ल्याएर छाडिदिने गरेको हो छ । अझ रेल यातायात चलेपछि नेपालीहरुलाई सीमासम्म आउन सहज भएको छ ।
बिहीबार मात्रै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतीय पक्षले नेपालीलाई सीमामा ल्याएर छाड्नु विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत भएको बताएका छन् । भारतीय सरकारले व्यवस्थापन गर्नाको साटो गन्तव्यमा जबर्जस्ती पठाइरहेको छ । बाँके मात्रै नभई रुपन्देही र कपिलवस्तुको सीमावर्ती क्षेत्रमा मात्रै चार हजारभन्दा बढी प्रवासी नेपाली स्वदेश प्रवेशको बाटो कुरेर बसेको छन् । स्थानीय प्रशासनले जिल्लाका विभिन्न पालिकाले तयार गरेका क्वारेन्टाइनमा उनीहरुलाई राखेको छ । बुधबार मात्रै ४९५ जना बेलहिया नाकाबाट नेपाल आएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिएका छन् ।




