नेपालगन्जमै पत्रकार सम्मेलन गरि थरुहट थारुबान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । मोर्चाले फागुन २० र २१ गते थरुहट तराई भूगोलका सबै जिल्लाहरु आमहडताल र चक्का जामसहित बन्द गर्ने निर्णय गरेको हो ।
आजको बन्दको प्रभाव नेपालगन्जमा खासै परेको छैन । पसल, व्यवसाय सञ्चालनमा छन् भने छोटो दुरीका सवारी साधन पनि चलेका छन् । लामो दुरीका सवारी साधन भने चल्न सकेका छैनन् ।
मोर्चाका संंयोजक लक्ष्मण थारुका अनुसार, संघर्षका कार्यक्रम अन्तरगत मोर्चाले फागुन १९ गते हड्तालको लागि थरुहट तराई क्षेत्रमा मसाल जुलुस प्रदर्शन गर्ने भएको छ। सरकारी तथा निजी सवारी तथा मालबाहक यातायातका सबै साधनहरु, शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना, व्यपार व्यवसाय पूर्णतया बन्द रहने मोर्चाले जानकारी दिएको छ ।
आम हड्तालको समयावधीमा अत्यावश्यक सवारी साधनहरु दमकल, एम्बुलेन्स, शव बाहन, दुध बोक्ने, औषधीजन्य, सुरक्षा निकाय, वैवाहिक, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु निर्वाधरुपमा संचालन हुन पाउने मोर्चाले जनाएको छ ।
थरुहट आन्दोलनको माग मुद्दाहरु एवं सरकारले थरुहट आन्दोलनकर्मीहरु संग गरेका सहमती सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारलाई ज्ञापनपत्र, ध्यानाकर्षण गराउदै चरणवद्ध शान्तिपूर्ण लामो संघर्षका माध्यमबाट पटक–पटक आग्रह गर्दा पनि सरकार, सत्तापक्ष एवं प्रतिपक्ष थरुहट आन्दोलनका माग मुद्दाप्रति रत्तिभर पनि संवेदनशील हुन सकेको आरोप लगाएको छ । यसबाट नेपाली जनसमुदायमा पर्न गएको असहजताका लागि हामी क्षमा प्राथी रहेको र उत्पन्न सबै परिस्थितिको जिम्मेवारी नेपाल सरकार रहेको बताइएको छ ।
मोर्चाले सांसद रेशम चौधरीको रिहाइ तथा टीकापुर घटनामा फसाइएका निर्दोषहरुलाई रिहाइको माग गर्दै आएको छ । टीकापुर घटनाको विषयमा सरकारले गठन गरेको पूर्व न्यायाधीश गृशचन्द्र लालको संयोजकत्वमा गठित न्यायीक समिति र गृहमन्त्रालयद्धारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन हालसम्म सार्वजनिक गर्न पनि माग गरेको छ ।

मोर्चाका प्रवक्ता मीनराज चौधरीले यही फागुन १७ गते बाँकेको कोहलपुरमा मोर्चाको विशेष भेला आयोजना गरि आन्दोलनका कार्यक्रम तय गरिएको जानकारी दिए ।




