एकाबिहानै नेपालगन्जबाट खजुरा हुँदै गौघाट पुग्ने अत्याधुनिक सुविधा सम्पन्न बस रिमझिम चोकसम्म आइपुग्दा नेपालगन्ज किनमेलका लागि आउनेहरुले बस भरिन्छ । नियमित नेपालगन्जको नगर बस खजुरा, गौघाट, रिमझिम चोक हुँदै ग्रामीण बस्तीबाट परसपुर हुँदै गणेशमान चोकको बाटो निस्केपछि नेपालगन्ज नजिकिएको छ ।
‘नगर बस चल्दा नेपालगन्ज आउजाउमा निकै सजिलो भएको छ’, किनमेलका लागि नेपालगन्ज आइपुगेकी खजुरा गाउँपालिकाकी सुमित्रा चन्दले भनिन्, ‘नेपालगन्ज नजिकियो, यात्रा सहज भएको छ ।’
नेपालगन्ज उपमहानगरपालिकाले योजनामा रहेको महानगर जोड्ने गरी सात वटा बस अत्याधुनिक सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको हो । ‘महानगरतर्फ उन्मुख नेपालगन्जसँग प्रस्तावित नगर तथा गाउँहरुसँगको कनेक्टिभिटीका लागि नगर बस सञ्चालनमा ल्याइएको हो’, नेपालगन्जका कार्यवाहक नगरप्रमुख उमा थापामगरले दैनिक नेपालगन्जसँग भनिन्, ‘नगरबसको सञ्चालनले कोहलपुर, खजुरा लगायतका बस्तीहरु नेपालगन्जसँग अपनत्व सँगै नजिक भएका छन् ।’
नगर प्रहरी इन्चार्ज सुर्य बोगटीका अनुसार, दैनिक सात वटा बस नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको छ । उनका अनुसार, विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने सुविधा सम्पन्न नगरबस मध्ये जमुनाह–कोहलपुर मदनचोक चार वटा बस ओहोरदोहोर गर्छन् । ‘एउटा बस नेपालगन्ज–खजुरा बजार हुँदै गौघाट रिमझिम चोकबाट फर्किन्छ’, बोगटीले दैनिक नेपालगन्जसँग भने, ‘अर्को बस जमुनाहबाट राँझा बजार हुँदै ग्रामीण बाटोबाट नेपालगन्ज फर्किन्छ ।’ खजुरा र राँझा रुटको बसले यात्रुको चापलाई मध्यनजर रुट व्यवस्थापन गर्ने गरेको जानकारी दिंदै बोगटीले भने, ‘नेपालगन्ज बसपार्कदेखि जमुनाह ओहोरदोहोर गर्ने दुई वटा बस मध्ये एउटा मागलाई मध्यनजर हिरमिनियासम्म लैजाने योजना छ ।’











