बाँकेको पर्यटकीय गन्तव्य बैजनाथ गाउँपालिकास्थित लायन्स गाभर पार्क परिसरमा सुविधा सम्पन्न नयाँ शौचालय बनाइएको छ । पार्क परिसरमा पुरुषका लागि २ र महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि एक/एक गरि चारवटा शौचालय बनाइएको हो ।
सरसफाई सुविधा प्रवद्र्धन गर्ने उद्देश्यले बाँके युनेस्को क्लबद्धारा कतार च्यारिटी नेपालसँगको साझेदारीमा निर्माण गरिएका शौचालयहरु पार्क व्यवस्थापनलाई सोमवार हस्तान्तरण गरिएको छ ।
क्लबद्धारा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित ‘स्वास्थ्य तथा सरसफाइ सुविधामा वृद्धि गर्न खानेपानी प्रणालीसहित हात धुने स्टेशन निर्माण’ कार्यक्रम अन्तर्गत गाभर पार्कमा ती शौचालय निर्माण गरिएका हुन् ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र उपाध्यक्ष पञ्चम गुरुंगले संयुक्त रुपमा पार्कका अध्यक्ष युवराज शाह, वडा नम्बर १ का वडा अध्यक्ष रुप बहादुर मल्ल र गाभर होमस्टेका अध्यक्ष कृष्ण चौधरीलाई शौचालय हस्तान्तरण गरे ।
क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले निर्माण गरिएका शौचालयमा पानी तान्नको लागि मोटर, हाते पम्प र शौचालयमा पानी आपूर्तिका लागि प्लाष्टिकको ट्यांकी र चारवटा हात धुने ट्याप समेत जडान गरिएको जानकारी दिए ।
वडा नम्बर १ का वडा अध्यक्ष मल्लले यसअघि गाभर पार्कमा आउने आन्तरिक पर्यटकका लागि सरसफाई र सरसफाईको सुविधा पर्याप्त नभएकोले चार वटा शौचालयले सरसफाई र वातावरण संरक्षणमा ठुलो सहयोग पुग्ने बताए ।
गाभर होमस्टेका अध्यक्ष कृष्ण चौधरीले गाभरमा पर्यटकको सुविधाका लागि अत्यावश्यक रहेको शौचालय तथा पानीको व्यवस्था गरेर कतार च्यारिटी र बाँके युनेस्को क्लबले परोपकारी काम गरेको प्रतिक्रिया दिए ।