एनपीएल उद्घाटन खेलको दुर्घटनाले गरेका संकेत

 सबैको व्यग्र प्रतिक्षाका बीच नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि काठमाडौंमा सुरू भयो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपालकै पहिलो फ्रेन्चाइज क्रिकेट लिग सुरू भएपछि खेलाडीदेखि दर्शकसम्म सबै उत्साहित देखिन्थे । यस्तो लाग्थ्यो- कीर्तिपुरमा क्रिकेटको उत्सव चलिरहेको छ ।

नाम चलेका विदेशी खेलाडी ल्याउनेदेखि लिएर ‘होम अफ नेपाली क्रिकेट’ भनेर चिनिने त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका काममा क्यानले राम्रो ध्यान दिएको देखियो ।

क्रिकेटप्रति नेपालीको लोभलाग्दो आकर्षणलाई पछ्याउँदै क्यान नेतृत्वले आयोजना गरेको एनपीएलको महत्व खेलमैदान र खेल आयोजकको हिसाबकिताबभन्दा बाहिर राजनीतिक, आर्थिक, सामाजिक-सांस्कृतिक रूपमै महत्वपूर्ण र बहुआयामिक छ । यसले खेल मैदानभन्दा बाहिर निस्किएर बहुआयामिक तरङ्ग नेपाली समाजमा पार्नेछ ।

उद्घाटन खेलअघिको पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने जस्तै ‘नेपाली क्रिकेटले नयाँ युगको सुरुवात गर्ने दिन’ बन्यो नोभेम्बर ३० ।

यी सबै कामका लागि क्यान नेतृत्व धन्यवादको पात्र छ । तर, दर्शकको अभूतपूर्व लगाव र आकर्षणलाई व्यवस्थापकीय चुस्तता र भव्यताले सम्बोधन गर्न नसक्दा अनपेक्षित र दुर्भाग्यपूर्ण नतिजा भोग्नुपर्ने संकेत उद्घाटन खेलमा देखिएको व्यवस्थापकीय त्रुटि र प्रहरी-दर्शक घाइते भएको खबरले संकेत गरेको छ ।

मैदानमा क्रिकेट समर्थकको क्रेजको उचाइलाई व्यवस्थापकीय शिल्पले सम्बोधन गर्नुपर्ने चुनौती क्यानका अगाडि देखिएको छ ।

हुलमुलमा ८ जना घाइते

शनिबार एनपीएल हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भए । घाइते हुनेमा दर्शकदेखि प्रहरीसम्म छन् ।

गेटबाट छिर्ने क्रममा धकेलाधकेल भएपछि केही घाइते भएको र उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले पनि सात जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार वीर अस्पताल, टिचिङ अस्पताल लगायतमा घाइतेहरूको उपचार भइरहेको छ ।

शनिबार कीर्तिपुर मैदानमा खटिका ३८४ प्रहरी मध्ये घाइते २६ वर्षीय प्रहरी जवान अजय तामाङलाई कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि वीर अस्पताल हुँदै बाँसबारीस्थित न्युरो अस्पताल लगिएको छ ।

प्रतियोगिताको पहिलो दिन शनिबार बिदाका कारण यसै पनि धेरै दर्शक आउने अनुमान गर्न सकिन्थ्यो । पहिलो दिनको खेलको टिकटहरू पनि तीन दिनअघि नै ‘सोल्ड आउट’ भएको थियो ।

अनलाइनबाट टिकट काटेर कीर्तिपुर पुगेका धेरै दर्शकहरू मैदानभित्र प्रवेश गर्न पाइरहेका थिएनन् । कोही अनलाइनबाट टिकट काटिसकेपछि पनि टिकटको खोस्टो फेरि लिनुपर्ने कुराले असन्तुष्ट देखिन्थे । त्यसपछि सुरक्षार्थ खटिएका प्रहरीहरूले अब छिर्न नपाउने भनेर जानकारी गराएपछि टिकट लिएर बसिरहेकाहरू आक्रोशित बनेका थिए ।

केहीबेरमा त्यहाँ एक प्रकारको घम्साघम्सी देखियो । फ्यानहरू गेटको सुरक्षा घेरा तोडेर भित्र प्रवेश गर्न खोजेका थिए भने त्यहीबीचमा भीड नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज गर्‍यो ।

मैदानभित्र मार्टिन गप्टिलले ब्याट चलाइरहँदा मैदानबाहिर दर्शकदीर्घामा भने प्रहरीको लाठी चल्दै थियो । केही व्यक्तिहरू गेटबाहिर भागिरहेका देखिन्थे भने अरू दर्शकहरू चिच्याइरहेका, कोही भित्रको खेल हेरेर त कोही बाहिरको खेल हेरेर ।

लाठीचार्जका क्रममा लाठीले कम र धकेलाधकेलले धेरै चेपिए । केही गम्भीरसहित ८ जना घाइते नै भए । उनीहरूको उपचार भइरहेको छ ।

घम्साघम्सिमा परी घाइते भएकाहरूको उद्धारमा नेपाल प्रहरी नै खटिएको तस्वीर प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्‍यो । त्रिवि मैदानको दक्षिणी भाग अर्थात् चोभार इन्ड क्षेत्रमा उक्त घटना घटेको थियो ।

केही फ्यानहरूले आफूले आफ्नै आँखाअगाडि देखेको कारुणिक दृश्यको बारेमा बोलिरहेका छन् ।

टिकट व्यवस्थापन कमजोर

सुरूवाती चरणमा टिकट काटेर ढुक्क भएर बसेका समर्थकहरू मैदानमा पुगेपछि भने बाहिरै बस्नुपर्ने भएपछि आक्रोशित बनेर नाराबाजी गर्न थाले । टिकट नभएकाहरूले मैदानमा प्रवेश पाएको र क्षमताभन्दा बढी टिकट बेचेको भन्दै केहीले टिकेटिङ पार्टनर खल्तीलाई गाली गरिरहेका थिए ।

खल्तीले भने रकम फिर्ता हुने सूचित गरिरहेको थियो । तर खेल हेर्न नपाएकोमा दर्शकहरू निराशसँगै आक्रोशित थिए । विदेशी खेलाडीको खेल हेर्न भनेर उत्साहित हुँदै टिकट काटेपछि पनि मैदानमै प्रवेश नपाउँदा आक्रोश पैदा हुनु त स्वाभाविक नै थियो ।

क्यानका सचिव पारस खड्काले खेलअघि शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै टिकट नभएकाले घरमै बसेर हेर्न अनुरोध गरेका थिए । तर उनको स्टाटसमा लभ रियाक्ट गर्दै दर्शकहरू भने मैदानमै पुगे र एङ्ग्री रिएक्ट गर्नुपर्ने अवस्थामा पुगे ।

मैदानबाहिर पनि हजारौंको संख्यामा दर्शक उपस्थित थिए । यसरी विगतमा पनि दर्शक व्यवस्थापनमा चुक्ने गरेको क्यान यसपटक पनि चुकेको देखियो ।

टिकट भएर पनि मैदान जान नपाएका केही समर्थकहरू मूल गेटमा पनि पुगेका थिए जहाँ पारस खड्का आफैं आएर दर्शकहरूसँग अनुरोध गरिरहेका थिए । ‘हामीले रिफन्ड गर्ने भनिसकेका छौं, प्लिज यहाँबाट हट्दिनुस् यहाँ मैडिकल टिम छ, के हामी तपाईंहरूलाई लाठीचार्ज गरौं ?’ उनी भन्दै थिए ।

त्यसैगरी मैदानबाहिरको अर्को भागमा पनि पारस पुगेर दर्शकहरूसँग कुरा गरिरहेका थिए । केही दर्शकहरू ४५ हजार क्षमता भएको र १२ हजार मात्र टिकट बेचिएको कुरा गरिरहेका थिए जसलाई पारसले सोझै नकारिरहेका थिए ।

उनले मैदानमा १२ हजार नै क्षमता रहेको बताइरहे । उनी शनिबार खेल हेर्न नपाएका दर्शकलाई अर्को खेलमा आउन अनुरोध गर्दै थिए ।

व्यवस्थापनमा फेल क्यान

परिस्थिति अनुसार बदलिएका निर्णयहरू सञ्चारमा प्रहरी र क्यान व्यवस्थापनबीच राम्रै खाडल देखियो । कम्तिमा अनलाइन टिकट भएकालाई मात्र मैदानबाहिरको टिकट चेकिङ हुने स्थानमा जान दिइएको भए दर्शकहरू घाइते हुनेगरी आपत आइलाग्ने थिएन । यो भद्रगोल व्यवस्थापनलाई क्यानले आजसम्म आउँदा पनि एउटा योजना बनाएर हल गर्न सकेको छैन ।

नेपाली टोलीको खेल होस् वा कुनै अर्को महत्वपूर्ण खेल, नेपाली समर्थकहरू ज्यानको बाजी लगाएर मैदानसम्म पुग्न खोज्छन् । तर उनीहरूको व्यवस्थापनमा ध्यान नदिंदा केही अप्रत्याशित घटनाहरू हुने गरेका छन् जसको संकेतलाई राम्ररी पछ्याएर सम्बोधन गर्न नसके आउँदा दिनमा ठूलै जोखिम ननिम्तिएला भन्न सकिंदैन ।

खेल व्यवस्थापन गर्न नसक्दा चुक्ता गर्नुपर्ने मूल्य गम्भीर हुन्छ । यसको उदाहरण प्रस्तुत गर्न पृथ्वीको सुदूर भूगोलको उदाहरण खोजिराख्नुपर्दैन । २०४४ सालमा दशरथ रंगशालामा फुटबल चलिरहँदा हावाहुरी र असिनापानीपछि दर्शकहरूले भागदौड सुरु गरे । त्यतिबेला ९३ जनाको ज्यान गयो ।

सम्भावित प्राकृतिक विपद् र मानवसिर्जित दुर्घटनाहरू न्यूनीकरण गर्न तदनुरूप पूर्वाधार निर्माण र चुस्तदुरुस्त व्यवस्थापन सुनिश्चित गर्नुपर्छ ।

मैदान टाढाबाट खेललाई विभिन्न माध्यमबाट हेर्दा लामै मिहिनेत र स्पोन्सरहरूको साथले दर्शकहरूले मैदानको झिलिमिली देख्न पाएका छन् । तर मैदान बाहिर दर्शकले पाएको सास्ती र तितो भोगाइ न टिभीको स्क्रिनमा देखिन्छ न क्यान नेतृत्वले बुझ्छ ।

‘सोल्ड आउट’ भइसकेको भनिएको टिकट पनि मैदानमै बिक्री भइरहेको केही दर्शकहरूले प्रत्यक्ष देखेको आरोप लगाइरहेका छन् । यदि यस्तो हो भने यसको निष्पक्ष रूपमा छानबिन हुनुपर्दछ ।

साथै, टिकटहरू सबै बिक्री भइसकेको थाहा हुँदाहुँदै मैदान पुगेर जबरजस्ती केही मानिसहरू प्रवेश गर्न खोजेको कुरा पनि बाहिर आइरहेको छ । यहाँनेर दर्शकले पनि आफ्नो तरिका बदल्नुपर्ने देखिन्छ ।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे संघले भिड व्यवस्थापनमा काम गर्नुपर्ने बताउँछन् । ‘क्रिकेटमा क्राउड म्यानेजमेन्ट एकदमै महत्वपूर्ण कुरा हो । अब क्रिकेट संघले पनि यसमा ध्यान दिनुपर्छ भन्ने लाग्छ’ पाण्डेले भने, ‘यस्तो दर्शक आएको पहिलो पटक होइन । पहिले पनि भएको थियो र अब भविष्यमा पनि राम्रा खेलहरू हुँदा दर्शक धेरै आउँछन् । त्यसैले क्यानले विशेष ध्यान दिनुपर्छ ।’

दर्शक प्रवेश गर्ने मात्र नभई निस्कने पनि राम्रो व्यवस्थापन हुनुपर्ने पाण्डे सुझाउँछन् ।

क्यानले आउँदा दिनमा यस्ता समस्याहरूको हल खोजी नेपाली क्रिकेटलाई जीवन्त बनाइरहन भूमिका निर्वाह खेल्नुपर्छ । अन्यथा, सानातिना दुर्घटनाले गरेका संकेत बुझेर सम्बोधन गर्न नसक्दा क्रिकेटको प्रतिष्ठालाई नै छायाँमा पार्ने दुर्घटना भोग्नुपर्ने हुनसक्छ ।

एनपीएललाई यो उचाइमा पुर्‍याउने क्यानको उच्च नेतृत्वले व्यवस्थापनमा आफ्ना केही ‘आत्मकेन्द्रित शैली’ सच्याउनुपर्ने संकेत घटनाले प्रस्ट रूपमा गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया