सामुदायिक वनबाट समृद्धि खोज्दै घार्मीको बस्ती

पोखरा महानगरपालिका-१९ घार्मीका दलित समुदाय सामुदायिक वनबाट प्राप्त स्रोत उपयोग गर्दै समृद्धिको अभियानमा जुटेका छन् । कास्कीको दलितमात्र उपभोक्ता रहेको भूमीपुज्ने तीसढुङ्गे सामुदायिक वन उपभोक्ता समूह प्राकृतिक स्रोत उपयोगको अधिकारसँगै समृद्धिको अभियानमा जुटेको हो ।

घरसँगै जोडिएको वन पैदावार उपयोगबाट बञ्चित हुँदा जीविकोपार्जनमा विगतदेखि समस्या झेल्दै आए पनि उपभोक्ताको अथक सङ्घर्षले अधिकार प्राप्त गर्न सफल भएको समूहका पूर्वअध्यक्ष मुक्तिबहादुर सुनारले सुनाउनुभयो । उहाँका अनुसार सिङ्गो दलितबस्तीको सङ्गठित आवाजले सार्थकता पाउँदा प्राकृतिक स्रोत संरक्षण, प्रबद्र्धन र उपयोगको अधिकार प्राप्त भएको हो ।

वन समूह भूमि पुज्ने कृषि सहकारी संस्थाको माध्यमबाट समृद्धिको अभियानमा जुटेको उहाँको भनाइ छ । “पहिले ग्यासको सिलिण्डर र विद्युत्को सुविधा थिएन, वन पैदावार जस्ता प्राकृतिक स्रोतमा दलितको अधिकार निकै कम थियो”, उहाँले भन्नुभयो, “उपल्लो जातिका समुदायको आँखा छल्दै दाउरा ल्याएर जीविकोपार्जन गर्नुपर्ने दलित बस्तीको बाध्यता थियो ।” सुनारले अधिकार प्राप्तिको लडाइँमा धेरै पटक पिटाइ खाएको र मुद्दा मामिला बेहोर्दै प्रहरी हिरासतमा समेत बस्नु परेको दुखेसो सुनाउनुभयो ।

उहाँले सामुदायिक वनको अवधारणाले आसपासका बासिन्दालाई संरक्षणको अधिकार दिएपछि २०५१ सालदेखि भने सहजरुपमा वन पैदावारको उपयोग गर्दै गर्न पाएको उहाँको भनाइ छ । “खाना पकाउन र वस्तुभाउलाई कुँडो र घाँससमेतका लागि जङ्गल छिर्न नपाउँदा प्राकृतिक स्रोत उपयोगका क्रममा अन्य समूहसँग झगडा भइरहन्थ्यो”, रासससँगको कुराकानीमा ७० वर्षीय मनकुमारी सुनारले विगत सम्झनुभयो ।#RSSNews

प्रतिक्रिया

प्रतिक्रिया