प्रशिक्षणमा ‘व्यवसायिकता’

होटल व्यवसायी संघले आफ्ना सदस्यहरुबीच व्यवसायिकता विकासको पहलमा प्रशिक्षण दिन लागेको हो ।

नेपालगन्ज : होटल तथा रेष्टुरेन्ट व्यसायीहरुको छाता संगठन, होटल व्यवसायी संघ बाँके नेपालगन्जले आफ्ना सदस्यहरुबीच व्यवसायिक विकास र व्यवसायिकताका लागि प्रशिक्षण सञ्चालनमा ल्याएको छ ।
नेपालगन्जको व्यवसायिक सुरक्षा खस्किएको भन्दै सुधारका लागि रणनीतिक ढंगबाट अघि बढेको होटल व्यवसायी संघले आफ्नै भित्रबाट पनि सुधारको पहल लिंदै प्रशिक्षण सञ्चालनमा ल्याएको हो ।

व्यवसायीबीचनै अस्वस्थ प्रतिष्पर्धा, विकृति बिसंगति विरुद्ध राज्यको सशस्त उपस्थिति खोजिएपछि संघले आफ्ना सदस्यलाई व्यवसायिक आचरणदेखि कानुनी व्यवस्था लगायतमा प्रशिक्षित गर्न खोजेका अध्यक्ष भीमलाल कंडेलले बताए । ‘त्यसको सुरुवात टोल समितिका पदाधिकारीबाट गरिएको छ,’ संघका प्रवक्ता डिलाराम पौडेलले शुक्रवार होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्लेको प्रमुख आतिथ्यमा प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम गरिएको जानकारी दिंदै भने ।

‘कानुन विपरित हुने कुनै काममा संघले दोषीलाई संरक्षण गर्दैन,’ अध्यक्ष कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘सबै व्यवसायीलाई व्यवसायिक आचारसंहिता र कानुन बारे सचेतना पनि गराउन लागिएको छ ।’ आफ्नो कार्यक्षेत्रमा विभिन्न ८ वटा टोल समिति गठन गरिसकेको होटल व्यवसायी संघले समितिका पदाधिकारीलाई यसअघि सर्वपक्षीय अन्तक्र्रियाबाट गरिएका समझदारी तथा निर्णयहरुबारे जानकारी पनि गराइएको प्रवक्ता पौडेलले जानकारी दिए ।

यसैबीच, संघका अध्यक्ष कंडेलले स्थानीय प्रशासनको रोहबरमा भएको सर्वपक्षीय सहमति अनुसार, नेपालगन्ज उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालय बाँकेले खुल्ला सडकका लागि सडक पेटीको अतिक्रमण हटाउन सुरु गरेको भन्दै खुशी व्यक्त गरेका छन् । विहीवारको सर्वपक्षीय बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जनशक्तिको व्यवस्थापन भएमा पालिकाले साधन स्रोत उपलब्ध गराएर अव्यवस्थित बजार, सडक पेटी अतिक्रमण, यातायातका साधनहरु अब्यस्थित पार्किङ्ग लगायतका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया