महिला हाक्दै छिन् इ-रिक्सा

ऋचा लुइटेल/नेपालगन्ज

“दिदी कता जानू हुन्छ ? आउनुस न बस्नुस !”

हैन मेरो साधन छ तपाईं जानुस !! आउनुस् न दिदी आउनुस म कोहलपुर देखि आएकी छु एकपटक त मेरो रिक्सामा यात्रा गरिदिनुस । कारकादोमा भेटिएकी मिजासिलो स्वभावकी इ रिक्सा चालक रामकली चौधरी कोहलपुर सगको संवाद हो यो ।

म पनि महिलाले रिक्सा चलाएको देखेर गाडी छोडेर रिक्सामा लागे ।

बाँकेका महिलाहरु इ रिक्सा चालकका रुपमा आर्थिक उपार्जनका निम्ति सक्रिय भएर इ रिक्सा सन्चालन गरिरहेका छन् । इ रिक्सा चलाएर मनग्य फाइदा हुने देखेपछि तीन बर्षदेखि गाउँगाउँबाट तरकारी किनेर कोहलपुर हाट बजारमा तरकारी व्यापार गरिरहेकी रामकली चौधरीले गत बैशाखदेखि अटो रिक्सा चलाउन थालेकी हुन । रामकली भन्छिन्, सानो तिनो तरकारी ब्यापार गरेर घर खर्च चलाउनै हम्मे भएपछि मैले सहकारी बाट दुई लाख ऋण लिएर यो रिक्सा किनेकी हु । उनले विगत १५ महिना देखि इ रिक्सा चलाउदै आइरहेकि छिन । सहकारीको ब्याज तिरेर घर खर्च चलाएर  मासिक १० हजार बचत हुने गरेकाे उनी बताउछिन् ।

‘कतिपय पढेलेखेका महिलाहरु काम नपाएर, काम गर्ने जाँगर नभएर बेरोजगार छन् । म त झन अनपढ मान्छे जागिर खान कता जानु त्यो भन्दा आफ्नै काम गरेर खान के को लाज’, नेपालगन्जकी अर्कि इ रिक्सा चालक शारदा बुढाथोकी भन्छिन् ।

एक बर्षको अवधिमा बाकेका विभिन्न बजारहरुमा २० जना महिलाहरुले इ रिक्सा किनेर चलाउदै आएका छन् ।कोहलपुरमा मात्रै १२ जना महिला इ रिक्सा चलाउछन ।

अटो रिक्सा चालक महिलाहरुले केवल महिलाहरुको रोजगारीको नयाँ ढोका मात्र खोलेका छैनन सामाजिक सोच र मान्यतालाई बदल्न बाध्य बनाएको छ । रामकली चौधरी जस्तै धेरै महिलाहरुले घर संगसंगै घर बाहिर पनि परिवर्तनका सुन्दर कथा लेखी दिएका छन । वास्तविक संघर्ष र मेहनतबाट परम्परागत सोच र मान्यतालाई बदल्दै आफ्नै परिश्रमबाट आफ्नो खुट्टामा उभिन सफल यी महिलाहरुले धेरै महिलाहरुलाई श्रम प्रति सम्मान गर्न सिकाएका मात्र छैनन् ।

नेपालगन्ज २७ कि इ–रिक्सा चालक ममता भन्छिन्, ‘श्रीमानको निधन पछि धेरै बर्ष अर्काको घरमा खाना पकाए भाडा माझे, छोराछोरी हुर्काउन जे पनि गर्नुपर्दो रहेछ ।’ उनी भन्छिन्, ‘अलिअली गरेर जम्मा गरेको पैसाले मैले परम्परागत रिक्सा किनेर चलाउन थाले तर शारीरिक परिश्रम धेरै गर्नु पर्ने भएकोले त्यो रिक्सा चलाउन मुस्किल भएर बेचिदिए ।’ ‘नाकाबन्दी खुलेपछि इ रिक्साको बजार ह्वात्तै बढ्यो र मैले सहकारीबाट ऋण निकालेर यो रिक्सा किनेकी हु’, ममता अगाडि भन्छिन्, ‘यो रिक्सा चलाउन पनि समस्या छैन ।’

‘यात्रा पनि सुरक्षित भएको र महिलाले रिक्सा चलाएको भनेर धेरै महिला यात्रुहरुले पनि प्राथमिकता दिने भएकोले कहिल्यै खाली खाली हिड्नु पर्दैन’, ममता भन्छिन्, ‘दिनभरी घरमा खाली बस्नु भन्दा सीप सिकेर आय आर्जनमा लाग्ने हो भने महिलाको ससक्तिकरण सजिलै सम्भव छ ।’

इ रिक्सा वातावरण अनुकुल त छदैछ छिटो छरितो र आरामदायी पनि भएका कारण यात्रुको आकर्षण रहेको पाइन्छ ।महिला ससक्तिकरणका निम्ति कार्यरत सरकारी तथा गैरसरकारी निकायले महिला इ रिक्सा संचालक उत्पादन गर्न सहयाेग गर्नुपर्ने अाम धारणा रहेकाे छ ।

प्रतिक्रिया

प्रतिक्रिया