‘डिजिटल बाँके’को दौडमा ‘आइसिटी सेमिनार’

१ करोड ४८ लाखको नेशनल आइसिटी स्कलरसीपका लागि आवेदन आव्हान

दैनिक नेपालगन्ज :
जिल्लालाई सूचना प्रविधिमैत्री बनाउने अभियान सहित ‘डिजिटल बाँके’ को घोषणा गरेको क्यान महासंघ बाँकेले त्यसतर्फको पहललाई तिब्रता दिंदै नेपालगन्जमा मंगलवार ‘आइसिटी सेमिनार’ गरेको छ ।
विद्यार्थीहरुलाई आइसिटी स्कलरसिपको घोषणा देखि बैंक, सहकारी तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आर्थिक सुशासनबारे सेमिनारमा प्रशिक्षित गरिएको हो । ‘डिजिटल बाँकेको अभियानमा यो एउटा अर्काे पाइला हो,’ सुचना प्रविधिका बारेमा बृहत रुपमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिंदै क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज तिमिल्सेनाले दैनिक नेपालगन्जसँग भने ।

अघिल्लो वर्षदेखि ‘डिजिटल बाँके’ अभियानमा लागेको क्यान महासंघ बाँकेले जिल्लामा सय वटा वेभसाइड निःशुल्क बनाइदिने पहल लिएको छ । ‘सबैलाई विस्तारै अनलाइन सिष्टममा जोड्ने हाम्रो प्रयास हो,’ सित्तैमा सय अनलाइन विजनेश साइड निर्माणमा लागेको क्यान महासंघ बाँकेका अध्यक्ष तिमिल्सेनाले भने, ‘यसरीनै क्रमशः सबै क्षेत्र अनलाइनमा लाग्नुपर्छ भन्ने प्रोत्साहन पनि हो ।’ क्यान महासंघले साना तथा मझौला व्यवसायिक प्रतिष्ठानलाई वेभसाइडमा प्राथमिकता दिएको उनले बताए ।

‘हामी विद्यालयस्तरमै पुगेर विद्यार्थीलाई आइसिटीमा आकर्षित गर्न विभिन्न उत्प्रेरक कार्यक्रमहरु गरिरहेका छौं,’ अध्यक्ष तिमिल्सेनाले मंगलवार गरिएको आइसिटी सेमिनारमा क्यान महासंघको नेशनल आइसिटी स्करसीपका लागि विद्यार्थीहरुलाई आवेदन आव्हान समेत गरिएको जानकारी दिंदै भने । ‘हामी चाहन्छौं बाँकेबाट बढीभन्दा बढी स्कलरहरु सहभागी बनुन्,’ उनले टेक्सास कलेजले समेत आइसिटीमा स्नातक अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति घोषणा गरेको जानकारी दिंदै भने, ‘बाँकेमा दुई जनालाई यो सुविधा उपलब्ध हुनेछ ।’ १ करोड ४८ लाखको क्यान महासंघको नेशनल आइसिटी स्कलरसीपका लागि पनि देशभरिबाट आवेदन आव्हान गरिसकिएको तिमिल्सेनाले भने ।

मंगलवार आइसिटी सेमिनार उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नेपालगन्जलाई सूचना प्रविधिमैत्री बनाउन एप्स, वेभसाइड लगायतको व्यवस्था उपमहानगरपालिकाले गरिरहेको बताइन् । ‘ तर, त्यसको उपयोग सन्तोषजनक छैन,’ थोरै मात्र सेवाग्राहीले सेवा लिइरहेको जानकारी दिंदै उपप्रमुख थापाले प्रविधिको प्रयोगमा आमनागरिकहरु अझै अभ्यस्त हुन नसक्दा आमनागरिकलाई सूचना प्रविधिका बारेमा जानकारी गराउदै जानुपर्ने आवश्यकता औंल्याइन् ।

कार्यक्रममा ‘डिजिटल फाइनान्स सर्भिस’ बारे सहभागीहरुलाई मोबाइल बैंकिङदेखि इ– पेमेन्ट सम्मका विषयमा प्रभु फाइनान्सका डिजिटल फाइनान्सीयल हेड केशवराज आचार्यले विद्युतीय आर्थिक कारोबारको पछिल्लो अवस्था र अबको बाटोका बारेमा प्रस्तुतिकरण गरेका थिए । आचार्यले इन्टरनेट बैंकिंङ देखि मोवाइल बैंकिंङसम्मका आवश्यकतामा प्रकाश पारे । प्रभु म्यानेजमेन्टका सन्चार अधिकृत रिना श्रेष्ठले कार्यक्रमको सहजीकरण गरिन् ।

आइसिटी सेमिनारमा क्यान महासंघका प्रशिक्षक, इञ्जिनियर उत्तम कार्कीले सरकारले डिजिटल नेपालको परिकल्पना मात्र गरेर बसेको टिप्पणी गरे । ‘यस क्षेत्रको विकासको लागि बजेट विनियोजन नगर्नु दुखद कुरा हो,’ केन्द्रदेखि स्थानीय सरकारले आइसिटीको महत्व बुझ्न नसकेकै कारण आइटी क्षेत्रले आफ्नो काम खुलेर गर्न नपाएको धारणा राख्दै कार्कीले अब ढिलो गर्न नहुने बताए ।


कार्यक्रममा क्यान महासंघ केन्द्रीय सदस्य इश्वर पोखरेलले ‘गास, बास, कपास र अबदेखि आइसिटी पनि थपिएको’ बताए । सूचना प्रविधि बिना देशले चाहेको सम्बृद्धि आउन नसक्ने धारणा राख्दै उनले सूचना प्रविधिमैत्री बन्न नसक्ने पछि पर्दै जाने धारणा राखे । क्यान महासंघ बाँकेका पूर्व अध्यक्ष सुदीप शर्माले बाँकेमा आइसिटीका लागि भइरहेका प्रयास बारे जानकारी गराए

प्रतिक्रिया

प्रतिक्रिया