बाँकेका ५० हजार अभिभावकलाई साथी दौंतरी शिक्षा

सिराज खान
नेपालगञ्ज, बैशाख १९ गते । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाईशिप सुधारका लागि बाँकेमा १० हजार अभिभावकलाई प्रत्यक्ष र ४० हजार अभिभावकलाई अप्रत्यक्ष गरी ५० हजार अभिभावकलाई साथी दौंतरी शिक्षा तालिम प्रदान गरिंदैछ ।

जिल्लाका ३ सय ८१ वटा बिद्यालय र मदरसामा अध्ययनरत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाईशिप सुधारका लागि गठन गरिएका ६ सय ७८ वटा टोल पढाई समुहमा साथी दौंतरी शिक्षा तालिम संचालन भैरहेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाका अनुसार बालबालिकाको पढाईशिप सुधारका लागि अभिभावकलाई सचेत र सक्रिय पार्नु अतिआवश्यक भएकोले अभिभावकलाई सक्रिय र सचेत पार्ने उदेश्यले हाल जिल्ला भरी साथी दौंतरी शिक्षा तालिमको आयोजना गरिएको बताउनु भयो ।

प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत अहिले जिल्लाका ७ सय ७८ वटा टोलहरुमा हरेक टोलमा १५ जना अभिभावकलाई राखेर साथी दौंतरी शिक्षा तालिम प्रदान गर्ने काम भैरहेको छ भने तालिम पाएका अभिभावकहरुले हरेकले थप ४–४ जना अभिभावकलाई घर घरमा गएर सो बारेमा प्रशिक्षण दिईरहेका छन् वा जानकारी गराईरहेका छन् ।

सो तालिममा बालबालिकाको शिक्षा सम्बन्धि ७ वटा सन्देशबारे अभिभावकलाई जानकारी गराईएको र तालिममा सहभागि अभिभावकले थप ४–४ जना अभिभावकलाई सो सन्देश दिने काम भैरहेको प्रारम्भिक कक्षा पढाई कार्यक्रम क्षेत्रीय कार्यालय नेपालगञ्जका बखत भण्डारीले बताउनु भयो । उहाँले सो तालिमपछि अभिभावकले आफ्ना बालबालिकाको पढाई बारे घरमा र बिद्यालयमा गएर समेत चासो लिन थालेको पाईएको बताउनु भयो ।

अभिभावक, शिक्षक र विद्यार्थीहरूबिच सहकार्य गराउने उददेश्यले अभिभावकहरूले अन्य अभिभावकहरूसँग कसरी कुरा गर्ने र शिक्षकहरूले अभिभावकहरूसँग कसरी कुरागर्ने भन्ने विषयमा सहयोग गर्नका लागि यो तालिम संचालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनु भयो ।

साथी दौंतरी शिक्षा तालिम संचालन गरिएपछि शनिवार लगायत विदाको दिनमा टोल पढाई समुहमा हुने पढाईमा बालबालिकाको संख्या र चासो बढेको पाईएको अध्यक्ष सिद्दिकीले बताउनु भयो ।

जिल्लाका कक्षा १ देखि ३ सम्मका ३ सय ८१ वटा बिद्यालय र मदरसामा अध्ययनरत करिब ६२ हजार बालबालिकाको पढाई शिप सुधारका लागि ६ सय ७८ वटा टोल पढाई समुह गठन गरेर जिल्ला शिक्षा कार्यालयको समन्वयमा बाँके युनेस्को क्लबले प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया