विपद्विरुद्ध २१ बूँदे रणनीति : बाँके

यसै आर्थिक वर्षमा १०३ विपदका घटना, १७ जनाको गयो ज्यान, २२ घाइते

बाँकेमा चालु आर्थिक वर्षको पाँच महिनामा भएका १०३ वटा विपद्का घटनामा १७ जनाले ज्यान गुमाएको र यी घटनाहरूमा २२ जना घाइते भएको तथ्याङ्क जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले दिएको छ ।

बुधवार भएको समितिको बैठकले उक्त तथ्य, तथ्यांकसँगै २१ बूँदे निर्णय सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा भएको बैठकले शीतलहरबाट नागरिकलाई जोगाउन परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गर्दै विभिन्न २१ बूँदे निर्णय गरेको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

यो पाँच महिनामा डुबानमा परेर, करेन्ट लागेर, सडक दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । करेन्ट लागेर ६ जना, पानीमा डुबेर ४ जना र सडक दुर्घटनामा ७ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । २२ जना घाइते भएका यी घटनासँगै यस अवधिमा बाँकेमा आगलागीका ३४, बाढी र डुबान २१, हावाहुरी ८, करेन्ट ८, पानीमा डुबान ७ र सडक दुर्घटनाका २५ वटा घटना भएका छन् ।

जिल्ला विपद व्यवस्थापन समितिले दिएको जानकारी अनुसार, आगलागीका ३४ वटा घटना हुँदा ३४ वटै घरमा क्षति पुगेको छ भने हावाहुरीबाट ८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । विपदबाट ४४ लाख ५२ हजार २ सय रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

विपद्बाट प्रभावित ३३ घरपरिवारलाई ४ लाख ८६ हजार बराबरको राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले दिएको जानकारीका अनुसार, चिसो तथा शीतलहरका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि तयार गरिएको शितलहर आकस्मिक योजना २०८० को मस्यौदामाथि छ्लफल गरी प्राप्त सुझाव समेत समावेश गरेर परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गरिएको छ ।

आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत जिल्लाका सरोकारवाला उपस्थित वैठकमा स्वीकृत उक्त योजना अनुरुप आ–आफ्नो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरूले तत्काल आवश्यक तयारी तथा पूर्व प्रवन्ध मिलाई कार्यान्वयन गर्ने निर्णय गरिएको ज्ञवालीले बताए । उनका अनुसार, सबै नगरपालिका÷गाउँपालिका विपद व्यवस्थापन समिति तथा सवै विषयगत क्षेत्रले आ–आफ्नो शीततलहर पूर्व तयारी बैठक बसी आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय भएको हो ।

बैठकमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा विपद व्यवस्थापनको अवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

जाजरकोट भूकम्पपछि भेरी अस्पताललाई डेडिकेटेड अस्पताल तोकिएपछि फोकल पर्सनका भूमिका निभाएका स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले उपचार व्यवस्थापनमा भएका काम र आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले सबैको संयुक्त प्रयासमा राहत संकलन र व्यवस्थापनका लागि भएका कामहरुको बारेमा जानकारी दिए ।

त्यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिले जाजरकोट भूकम्प पश्चात प्रतिकार्यमा सहयोगी भूमिका निभाउने सरकारी निकाय, कार्यालय, संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । जाजरकोट भूकम्पका घाइतेको उपचार व्यवस्थापन, राहत सामग्री हस्तान्तरण लगायतका क्रियाकलापमा सहयोग पुर्याउनेहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया