खजुरामा सडक पिच र नयाँ बाटो बनाइँदै साथै विद्युत क्षमता बिस्तार

खजुरा गाउँपालिका–४ ले आफ्नो वडाभरी विद्युत क्षमता बढाउन थालेको छ । वडाध्यक्ष तिलक सुनारका अनुसार, सिङल फेजमा रहेको विद्युत सेवा क्षमता बिस्तार गरी डबल फेज गर्न लागिएको हो । ‘त्यसका लागि वडाले ५ लाख रुपैयाँ बजेट छुट्याएको थियो’, शुक्रबारबाट क्षमता बिस्तार कार्य सुरु गरिएको जानकारी दिंदै वडाध्यक्ष सुनारले दैनिक नेपालगन्जसँग भने, ‘कम क्षमताको विद्युतका कारण कुनै पनि ठूला काम गर्न विद्युत अपुग भएको अवस्था छ ।’ वडाध्यक्ष सुनारले आफ्नो वडाभित्र सडक, खानेपानी र बिजुली, बत्तीलाई प्राथमिकतामा राखेको जानकारी दिंदै भने, ‘यसले स्थानीय सरकार भएको अनुभूति दिन सकिन्छ भन्ने विश्वास छ ।’

 
वडाको योजनामा नो लाइट शाखा खजुराले सहयोग गरिरहेको जानकारी दिंदै सुनारले भने, ‘विद्युत शाखा खजुराका इन्चार्ज अजय कुमार महासेठले निकै सहयोग गरिरहनु भएको छ ।’ यसैबर्ष भित्र सबै वडामा पूरा क्षमताको विद्युत बिस्तार गर्ने लक्ष्य राखिएको वडाध्यक्ष सुनारको भनाइ छ ।

 
खजुरा–४ मा साविकको बागेश्वरी मध्ये बागेश्वरीका डिगाउँ, इगाउँ, समूह गाउँ, एफगाउँ, बुद्धपुर, पार्वतीपुर, भण्डारिया लगायत छन् । त्यस्तै, बर्सिम टोल, सल्यानीटोल, सिर्जना टोल, त्रिवेणी टोल, स्वर्गटोल लगायतका स–साना टोलमा पनि विद्युत बिस्तार कार्यलाई पुर्याइने वडाध्यक्ष सुनारले जानकारी दिए ।

 
वडाध्यक्ष सुनारका अनुसार १ हजार ३ सय ४६ घरधुरी रहेको वडा नं. ४ मा ७ हजार ३ सय कुल जनसंख्या छ । स्याक नेपालको सहयोगमा वडा कार्यालय आफैले गरेको पछिल्लो जनगणना यसैबर्ष गरिएको जानकारी दिंदै वडाध्यक्ष सुनारले पछिल्लो तथ्यांक अनुसार, ३ हजार ६ सय ७३ महिला र ३ हजार ६ सय ३९ पुरुष उक्त वडामा बसोबास गर्छन् । उनीहरु सबैका लागि बिजुली, पानी र सडकको सुनिश्चितता गर्न आफु केन्द्रित भएको सुनारको भनाइ छ ।

 
इजरायली मोडेलमा तयार पारिएको उक्त वडाका बस्तीहरुमा ६०–६५ वटा नमूना सडक छन् । ती मध्ये सबै गं्राभेल भैसकेको र यो बर्ष मात्रै २ करोड रुपैयाँ पिचका लागि छुट्याइएको जानकारी दिंदै वडाध्यक्ष सुनारले ६५ लाख बराबरका कल्भर्ट, नयाँ बाटो बिस्तार र ग्राभेलको योजना बनाएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया