१७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट छन् ।
१७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।
एसपी रिजालले नाबालिकामाथि जबरजस्ती करणी गर्ने प्रहरी जवानलाई १६ जेठमै पक्राउ गरिएको बताए । पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।
६० किलोभन्दा बढी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पक्राउ परेका एक चिनियाँबाट नेपाली नागरिकता सहितका विवरणहरू फेला परेका छन् ।
१२ जेठमा बौद्धबाट पक्राउ परेका ४१ वर्षीय चिनियाँ नागरिक गंगा टासीबाट काठमाडौंबाटै जारी भएको नेपाली नागरिकता फेला परेको छ । राजु र कुंग भनेर चिनिने टासीबाट बरामद भएको नेपाली नागरिकता सक्कली रहेको समेत पुष्टि भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ ।
नागरिकतासँगै उनीबाट नेपाली राहदानीसमेत भेटिएको सीआईबी स्रोतले जानकारी दियो । त्यसैगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पनि भेटिएको छ ।
कुंग टासी शेर्पाको नाममा ‘ए’ र ‘बी’ वर्गको नेपाली लाइसेन्स भेटिएको छ । उक्त लाइसेन्स पनि सक्कलै रहेको सीआईबीले जनाएको छ ।
करिब १ महिनाअघि पक्राउ परेका टासीबाट प्रहरी ७ राउन्ड गोली लोड भएको जर्मन अटोमेटिक पेस्तोलसमेत बरामद गरेको छ । उक्त पेस्ताल सुन तस्करीमै प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
‘सुन नलुटियोस् भन्ने हिसाबले पेस्तोल बोक्ने गरेको देखिन्छ,’ सीआईबीका एक अधिकारीले भने । टासीको कोठाबाट २७ लाख नगद पनि सीआईबीले बरामद गरेको छ ।
यसअघि आइतबार राति कपनबाट पक्राउ परेका चिनियाँ नागरिक सेराप र शेरब ग्याल्बो भनिनेसँग पनि नेपाली नागरिकता भेटिएको थियो । ६ किलो सुन र ४८ लाखसहित पक्राउ परेका उनीबाट जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी भएको नेपाली नागरिकता भेटिएको थियो । उक्त नागरिकता पनि सक्कल नै रहेको पाइएको छ ।
सोनाम गुरुङको नाममा उनले नेपाली नागरिकता लिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । उनी सन् २०१८ देखि फ्लायट भाडामा लिएर काठमाडौंमा बस्दै आएका थिए ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा सरकारलाई प्रतिवेदन बुझाएपछि कार्यान्वयनका लागि सीआईबीलाई जिम्मा दिइएको थियो । आयोगकै प्रतिवेदनका आधारमा दोस्रो चरणको अनुसन्धान अघि बढाएको सीआईबीले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।
दिल्लीमा पक्राउ परेका २ जनालाई नेपाल ल्याइयो
सुन तस्करीकै अनुसन्धानको क्रममा सीआईबीको टोलीले भारतीय प्रहरीको सहयोगमा दिल्लीमा दुई जनालाई पक्राउ गरेको थियो ।
दिल्लीमा पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–१ पुल्चोकका ४४ वर्षीय मनोजराज श्रेष्ठ र काभ्रेको भुम्लु गाउँपालिका–१ का २२ वर्षीय रूपक भण्डारी थिए । उनीहरूलाई काठमाडौं ल्याइएको सीआईबी स्रोतले जानकारी दियो ।
पक्राउ परेकामध्ये मनोज तस्करी भएर नेपाल आएको सुन भारतसम्म पुर्याउने व्यक्ति रहेको पाइएको छ । रूपक भने पिन्टु भनिने भारतीय नागरिक अभिजित तानाजी मोलिकका सहयोगी रहेको पाइएको छ ।
पिन्टुले न्यूरोडमा सुनचाँदी रिफाइनरी हाउस सञ्चालन गरेर तस्करीको सुन खरिदबिक्री गर्ने, सजिलो र पेवेलमार्फत हुण्डीको कारोबार गर्थे । पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् ।
भारत महाराष्ट्रका सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाडको मोबाइलमा क्लू भेटिएपछि २३ वैशाखमा पिन्टुको न्यूरोडस्थित रिफाइनरी हाउसमा सीआईबीले छापा मारेको थियो । जसक्रममा पेवलको खातामा जम्मा गरेको १ अर्ब रुपैयाँ बराबरको भौचर बरामद भएको थियो ।
पक्राउको संख्या २० पुग्यो
दोस्रो चरणको अनुसन्धानमा सीआईबीले अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ । तस्करीको सुन कारोबारमा जोडिएपछि सजिलो पे र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ८ जना र सुन तस्करीकै प्रत्यक्ष जोडिएको आरोपमा आरोपमा १२ जना गरी २० जना सीआईबीको हिरासतमा रहेका प्रवक्ता बोगटीले बताए ।
सीआईबीको हिरासतमा रहनेहरूमा भारत महाराष्ट्रका २० वर्षीय सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारतकै २२ वर्षीय धिरज दिनेश वैटे, भारत महाराष्ट्रका २२ वर्षीय प्रशान्त गणेश वजवलकार, भारत गुजरातका ७१ वर्षीय वैजनाथ महादत्त गोयल छन् ।
त्यसैगरी वीरगञ्ज महानगरपालिका–११ का ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ४२ वर्षीय राजु खत्री, राजु थापा भन्ने प्रेमनाथ सेढाईं, काभ्रेको तेमाल गाउँपालिका– ४ का ४५ वर्षीय थर्कमान भनिने कान्छा लामा, भरतपुर महानगरपालिका–१ पुल्चोकका ४४ वर्षीय मनोजराज श्रेष्ठ र काभ्रेको भुम्लु गाउँपालिका–१ का २२ वर्षीय रूपक भण्डारी छन् ।
तिब्बतका ४१ वर्षीय राजु र कंगु भनेर चिनिने गंगा टासी, सेराप र शेरब ग्याल्बा भनिने चिनियाँ नागरिक ३६ वर्षीय सोनाम गुरुङ छन् ।
त्यस्तै सुनमा प्रत्यक्ष जोडिएको आरोपमा ४ भारतीय, ६ नेपाली र २ चिनियाँ गरी १२ जना पक्राउ परेका छन् । तस्करीको सुनको अवैध कारोबार र हुण्डी मोबाइल वालेटमार्फत भएको आरोपमा ८ जना पक्राउ परेका छन् ।
जसमा काभ्रेको नमोबुद्ध नगरपालिका–१० घर भएका पेवेल प्रालिका अध्यक्ष ४५ वर्षीय भीमप्रसाद तिम्सिना, काठमाडौं महानगरपालिका ७ का ३८ वर्षीय तथा पेवलकै सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य, पेवलकै कर्मचारी काठमाडौं–३२ का ४३ वर्षीय सुरज शमशेर जबरा सीआईबीको हिरासतमा छन् ।
त्यसैगरी सजिलो पेका अध्यक्ष मध्यपर नगरपालिका–१५ का ४६ वर्षीय सुनिल जाकिबन्जा, फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, कश्यप मानन्धर, लालबहादुर कुँवर र अरुणकुमार यादव सीआईबीको हिरासतमा छन् ।
चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरूपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा सुन बरामद गरेको थियो ।
१३ साउनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ समातिए, जो तस्करीको सुन व्यवस्थापनमा संलग्न रहेको प्रहरीको दाबी छ ।
दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरूसँग रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करीको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग उठाएको थियो ।
एमालेले आयोग गठनको माग गरिरहेका बेला राजस्व अनुसन्धान विभागले संगठित कसुरमा अनसन्धान गर्नुपर्ने देखिएको भन्दै २० साउन सीआईबीले अनुसन्धानको जिम्मा पायो ।
अनुसन्धानपछि सीआईबीले २७ भदौमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो । जसमा ६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गर्दै २० जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा ठमेलको भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनारलाई फरार प्रतिवादी बनाइएको थियो । पक्राउ परेका १७ जनामध्ये रुक्मणी सुब्बा मात्रै ५ लाख धरौटीमा छुटेकी थिइन् ।
एलेक्स भनिने याओ पुचेङ, लि वेन टिसुङ, लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन, मी टीएन गरी चिनियाँसहित १६ नेपाली पुर्पक्षका लागि अहिले पनि कारागारमै छन् ।
नेपालमा एक महिनामा १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चालु आवको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
वैशाख मसान्तसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जेठमा आयात बढे पनि समग्र आयातको तथ्यांक गत वर्षको यसै अवधिको तुलनामा भने घटेको छ । जेठसम्म आयात १.८४ प्रतिशतले कम भएको देखिन्छ । अघिल्लो वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।
यस वर्ष निर्यातमा समेत ठूलो उपलब्धि छैन । जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३.०१ प्रतिशतले कम हो । अघिल्लो वर्ष जेठसम्म १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवै खुम्चिएको छ । कुल वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १.९५ प्रतिशत कम हो । अघिल्लो वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो आवको तुलनामा १.७२ प्रतिशत कम हो । अघिल्लो वर्ष १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबर व्यापार घाटा थियो । यस वर्ष जेठसम्म वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२६ प्रतिशत र निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ ।
११ महिनामा ३ खर्बको पेट्रोलियम पदार्थ आयात
जेठसम्म ३ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपालको कुल निर्यातले आधा मात्र पेट्रोलियम पआर्थ किन्न समेत नपुग्ने अवस्था देखिन्छ । सवारी साधनको आयातमा ८० अर्ब ५८ करोड विदेशिएको छ । आइरन र स्टीलको आयात १ खर्ब ९७ अर्ब रुपैयाँको भएको छ । यसबीचमा तरकारीजन्य वस्तुको आयात मात्र २६ अर्ब रुपैयाँ बराबरको भएको छ । चिया र कफीको आयात १० अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको छ ।
मुलुकअनुसार हेर्दा भारतसँग सबैभन्दा धेरै व्यापार भएको देखिन्छ । भारतबाट ९ खर्ब ८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ ९४ अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको छ । चीनबाट नेपालमा २ खर्ब ७२ अर्ब रुपैयाँको सामान आएको छ । नेपालबाट चीनतर्फ भने मात्र २ अर्ब ४० करोड रुपैयाँको मात्र व्यापार भएको छ ।
जग्गा प्लटिङको नियमन अभावले नेपालगन्ज–१८ की लक्ष्मी शर्माको घर जाने मूल बाटोमा काँडेतार लागेको छ । घर पस्ने बाटोमै छिमेकीले काँडेतार लगाइदिंदा आफु ‘बन्धक बनेको’ भन्दै लक्ष्मीले मंगलवार विहान पत्रकार सम्मेलननै गरेर गुहार लगाएकी हुन् ।
दुई वर्षदेखि निर्वाध बाटोका रुपमा प्रयोग भइरहेको जग्गामा छिमेकीले एकाएक गत शनिवार चारैतिरबाट काँडेतार लगाइदिएका हुन् । ‘यो अवस्था कुनैपनि बेला हामीलाई पनि हुन सक्छ,’ पत्रकार सम्मेलनलाई नियालेर बसिरहेका अर्जुन कुँवर क्षेत्रीले भावुक हुँदै भने, ‘उहाँ ( लक्ष्मी शर्मा ) ले भोगेको यो अमानवीय पीडा भोलि यो वस्तीका कयौंले भोग्नुपर्ने जोखिम छ ।’
नेपालगन्ज उप–महानगरपालिकाले सार्वजनिक बाटो प्रमाणित गरेरै दिएको नक्साका आधारमा लक्ष्मीले घर बनाएपछि पनि दुई वर्षसम्म निर्वाध प्रयोग भइरहेको अवस्थामा एकाएक काँडेतार लागेपछि नेपालगन्ज–१८ मा जथाभावी प्लटिङको बेथिति उजागर भएको छ ।
‘भोलि मेरो जग्गामा पनि प्रवेशका लागि बाटो नपाउने अवस्था आउने भएपछि मैले यो निर्णय लिनु परेको हो,’ मूल बाटोमै काँडेतार लगाउने लक्ष्मीका छिमेकी कोशलराज नेपालले दैनिक नेपालगन्जसँग भने, ‘सार्वजनिक बाटो सरकारीकरण नहुँदा यो अवस्था भएको हो ।’ नेपालका अनुसार, लक्ष्मीका घरसम्म आइपुग्ने बाटो आपसी समझदारीमा उनको घर अगाडी हुँदै परसम्म लैजाने सहमति थियो । ‘लक्ष्मीजीले आफ्नो अगाडीको बाटो नदिएपछि म किन बाटो दिन्छु ?,’ नेपालकै समूहले अगाडीका केही प्लटलाई बाटो दिने सहमतिमा बिक्री गरेपनि लक्ष्मीको घर अगाडीबाट बाटो नपाएपछि यो निर्णय लिनुपरेको तर्क उनको छ ।
‘मैले मेहरसिंह खत्रीलाई दिएको जग्गामा बाटो पुगेन्, उहाँले ७ लाख रुपिया खर्च गरेर बैकल्पिक उपायबाट बाटो पुर्याउँदै हुनुहुन्छ,’ नेपालले बाटोको समस्या उजागर गर्दै भने, ‘मसम्म आइपुग्ने बाटो पनि खत्री र नारायणदत्त ढकालको नाममा रहेको जग्गाको हो, भोलि मलाई पनि यसरीनै छेकिदिनुभयो भने के होला ?’ नेपालको तर्क हो, आपसी सहमतिमा चलिरहेको बाटो त्यसरीनै अगाडी बढिरहँदा अवरोध गरिनु हुँदैन । लक्ष्मीलाई जग्गा विक्री गर्ने व्यक्तिसँग बाटो छाड्ने मौखिक सहमति भएको दावी नेपालको छ । लक्ष्मी भने आफुसँग त्यस्तो कुनै लिखित मौखिक सहमति नभएको बताउँछिन् । ‘त्यस्तो समझदारी भएको भए, कोसंग कहाँ कहिले भयो उहाँहरुले मलाई देखाइ दिनुप¥यो नि !,’ लक्ष्मीले आफु बाटोकै लागि महँगो मुल्यमा तथ जग्गा किन्न बाध्य भएको विगत सम्झँदै पत्रकारहरुसँग भनिन्, ‘अहिले आएर उहाँहरुले आफ्ना जग्गामा बाटो पुर्याउन हामीलाई धम्कीमात्रै दिनु भएन, बाटोमै काँडेतार लगाएर बन्धक बनाइरहनु भएको छ ।’ उनले पत्रकारहरुसँग त्यो भनिरहँदा लक्ष्मीकी दुधे सन्तानलाई काखमा लिएर वृद्ध आमा काँडेतारभित्रबाट छोरीको पीडा नियालीरहेकी देखिन्थिन् ।
नेपालगन्ज उप–महानगरपालिकाले नक्सा पास गर्दा सहमतिका आधारमा भनिने यसखालका सडकलाई कानुनसम्मत सरकारीकरण नगरिदिंदा समस्या उत्पन्न भएको दुबै पक्ष स्वीकार गर्छन् । परिवारका सदस्यहरुलाई घरबाट बाहिर निस्कन समेत अप्ठयारो पर्ने गरी भएको तारबारले लक्ष्मीप्रति अमानवीय व्यवहार भएको स्थानीयले टिप्पणी गरे । ‘त्यस्तो हो भने कानुनी उपचारमा जानु भए हुन्छ,’ नेपालले नेपालगन्ज उप–महानगरपालिकाले दुईवर्षदेखिको विवाद टुंग्याउन चासो नदिंदा समस्या निम्तिएको गुनासो गर्दै भने, ‘स्थानीय सरकार वा अदालतले जे निर्णय दिन्छ अब त्यहीनै अन्तिम हुने हो, मेरो तारबार कुनैपनि हालतमा हटाउन्न ।’
कानुनी हिसाबले बाटोका लागि कम्तिमा ६ मिटर जमिन हुनु पर्ने प्रावधानलाई छलेर वेष्टर्न रियल स्टेटले प्लटिङ गरेको जमिन बिक्री गर्दा बाटोका लागि छुटयाएको जमिन भने संचालकका नाममा राख्ने गरेको आरोप पत्रकार सम्मेलनमा लगाइएको छ । नेपाल वेष्टर्न रियल स्टेटका अध्यक्ष हुन् । खत्री र ढकाल सञ्चालक । वेष्टर्न रियल स्टेटले भने उक्त आरोपको प्रतिवाद गर्दै व्यक्तिगत कारोबारमा कम्पनिको नाम जोडेर बदनाम नगर्न भनेको छ ।
विवाददित उक्त बाटोमा यसअघि पनि बाटोमा ठुलो खाडल खनिएपछि नगर प्रहरी लगाएर नेपालगन्ज उप–महानगरपालिकाले खाल्डो पुर्न लगाएको लक्ष्मीले जानकारी दिइन् । ‘यो सबै ग्राभेलपनि वडा र उप–महानगरपालिकालेनै गरेको हो,’ उनले भनिन्,’ व्यक्तिगत जग्गा भएको भए सरकारी लगानीमा बनाइथ्यो ?’
नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले लामो समयदेखिको विवाद सकेसम्म आफै मिलुन् भन्ने चाहेको प्रतिक्रिया दिंदै नमिलेपछि अब कानुन बमोजिम बाटो कायम गरिने बताए । ‘बाटो कायम भइसकेको जग्गामा तारबार लगाइएको जानकारी आएको छ, जे हुन्छ अब कानुन बमोजिम यसको तत्काल निकास खोजिन्छ ।’
कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सोमबार भएको खेलमा कोहलपुर रेसिङ सहाराले कारकांदो युवा स्पोर्टस क्लबलाई ४–१ ले पराजित गरेको छ ।
बाँकेको कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा कोहलपुर रेसिङको जितमा आयुश घर्तीमगर, हेमन्त घर्तीमगर, ईश्वर श्रेष्ठ, महेश विकले १–१ गोल गर्नु भयो । आयुशले ७ मिनेट, हेमन्तले १२ मिनेट, ईश्वरले १६ मिनेट र महेशले ६०औं मिनेटमा गोल गर्नु भएको थियो ।
कारकादोका लागि सुदिप केसीले ५२औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा कोहलपुर रेसिङका कप्तान सुनिल थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । थापालाई स्वेता सेनिटरी सुपर लेसका प्रोपाइटर उपेन्द्र बुढाथोकी, शिवशंक्ति नमुना आधारभुत विद्यालयका प्रअ बद्री नाथ सापकोटाले पुरस्कार प्रदान गर्नु भएको थियो ।
यसैगरी सोमबार भएको अर्को खेलमा मिलन युवा स्पोर्टस क्लब र नवदुर्गा युवा क्लबबिचको खेल १–१ बराबरीमा सकिएको छ । बराबरीमा सकिएपछि दुबै टिमले अंक बाढेका छन् । सोमबार सुरुआतमै नवदुर्गाले खेलमा अग्रता लिएको थियो ।
नवदुर्गाका शंकर दमाईले ६ मिनेटमा गोल गरेर टोलीलाइ अग्रता दिलाउनु भएको थियो । तर २३औं मिनेटमा मिलन युवाका सरोज केसीले गोल गर्दै खेल बराबरी गर्नु भयो । बराबरी गोल गर्ने सरोज सोमबार बिहानको खेलको प्लेयर अफ द म्याचको रुपमा पुरस्कत पनि हुनु भएको छ । उहाँलाई समाजसेवी अर्जुन जंग शाहले पुरस्कृत गर्नु भयो ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ ।लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।
यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।
समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा पहिलो खेल न्यु डाँफे स्पोर्टस क्लब र रोयल नेपालगन्ज फुटबल क्लबबिच हुनेछ । दोस्रो खेल जय किसान स्पोर्ट्स क्लब र ओशोनिक क्लबबिच हुनेछ ।
बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा रोयल नेपालगन्ज फुटबल क्लब र न्यु डाँफे स्पोर्टस क्लबले आइतबार जित हासिल गरेका छन् ।
कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा रोयलले ओशोनिक क्लबलाई २–० ले पराजित गरेको छ । रोयलका लागि सुमित थापाले २ गोल गरे । उनले खेलको ८औं र ५०औं मिनेटमा गोल गरेका थिए । खेलमा रोयलका अविशेख यादव प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
आइतबार बिहान भएको खेलमा न्यु डाँफे स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि विशाल चन्दले निर्णायक गोल गरे । चन्द खेलको प्लेयर अफ द म्याचबाट पुरस्कृत भएका थिए ।
असारको १३ गते सम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भैरहेको छ । प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।
यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।
समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार बिहानको खेलमा मिलन युवा स्पोर्टस क्लब र नव दुर्गा युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ । बेलुकाको खेलमा कोहलपुर रेसिङ सहारा क्लब र कारकादो युवा स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुने आयोजक बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जानकारी दिए ।
रोजगारी प्रबद्र्धन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले ‘मेयरसंग रोजगारदाता’ कार्यक्रम सुरु गर्दैछ । आगामी आर्थिक बर्षदेखि सुरु गरिने यस कार्यक्रमका विषयमा आज उद्योगी व्यवसायीसंग छलफल तथा अन्तरक्रिया गरिएको छ । उद्योग व्यवसायमै तालिम दिएर कामदार पदस्थापन गर्ने लक्ष्यका साथ आगामी बजेटमा यो कार्यक्रम समेटिनेछ ।
नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा नेपालगञ्ज उद्योग बाणिज्य संघसंगको सहकार्यमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले आफ्ना लागि चाहिने अनुसारका कामदारलाई दक्ष बनाउने गरी उपमहानगरपालिकाले तालिम दिएको अवस्थामा उनीहरुलाई पदस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उद्योग व्यवसायको आवश्यकतामा आधारित सीप तथा दक्षता अभिबृद्धि तालिम सञ्चालन गर्ने तथा बेरोजगारलाई त्यहीँ नै पदस्थापन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ ।
नेपालगञ्जमा भारतबाट थुप्रै श्रमिकहरु आउने गरेको भन्दै उद्योगी व्यवसायीहरुले स्वदेशी नागरिकलाई उद्योगधन्दा वा व्यवसायको आवश्यकताका आधारमा तालिम दिने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् । “हामीलाई आवश्यक परेको कामदारका बारेमा हामी भन्छौं, नेपालगञ्ज उपमहानगरपालिकाले त्यसै अनुसारको तालिमका लागि सहजीकरण गर्नुपर्यो,” उद्योगी ब्यवसायीले भने-“त्यसो भएमा ‘अन द जब तालिम’ प्रभावकारी हुन्छ ।”
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उद्योग बाणिज्य संघसंग सहकार्य गरेर अघि बढ्ने बताउँदै रोजगारी प्रबद्र्धन गर्ने गरी हातेमालो गर्न आह्वान गर्नुभयो । विष्टले आवश्यकता पहिचान गरेर आगामी नीति तथा कार्यक्रममा समेट्ने गरी प्रस्ताव पेश गर्न पनि आग्रह गर्नुभएको छ ।
“उद्योगधन्दा, कलकारखाना, होटल, व्यवसाय, प्रतिष्ठानले पनि दक्ष कामदार पाउन् र बेरोजगारी घटाउने हाम्रो लक्ष्य पनि पूर्ति हुँदै जाओस भन्ने हाम्रो ध्येय हो,” उहाँले भन्नुभयो- “आउनुहोेस् हातेमालो गरौं ।” रोजगारदाता उद्योग व्यवसायको प्रबद्र्धन, बेरोजगार ब्यक्तिहरुको दिर्घकालीन रोजगारी र पालिकाको समृद्धिमा सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रम गरिएको रोजगार सेवा केन्द्र प्रमुख मञ्जु ज्ञवालीले बताउनुभयो । बेरोजगार पदस्थापनमा सम्भावना र चुनौतीहरुबारे छलफल गर्ने उद्देश्य पनि रहेको ज्ञवालीको भनाई छ ।
त्यस क्रममा विभिन्न उद्योग, व्यवसाय, होटल तथा प्रतिष्ठानका सञ्चालकहरुले आफूहरुलाई चाहिएको कामदारको प्रकृति र संख्याबारे समेत उपमहानगरपालिकालाई जानकारी गराएको रोजगार सहायक अनुप बर्माले जानकारी दिनुभयो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।
१ असारमा नुहाउने क्रममा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसीको शव सशस्त्र प्रहरीले आइतबार निकालेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले आइतबार साढे १२ बजेतिर भुपेन्द्र केसीको र करिब १ बजेतिर विनोद केसीको शव ३० फिट गहिराईबाट निकालेको हो ।
लुम्बिनी प्रदेशले वन व्यवस्थापनबाट ठूलो राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । लुम्बिनी सरकारले शनिबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा वनबाट मात्रै वार्षिक २ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको हो ।
अहिले प्रदेश राजस्वको प्रमुख स्रोतमा वनबाट प्राप्त कर, यातायात कर र जग्गा रजिष्ट्रेसन कर रहेका छन् । यीमध्ये दिगो स्रोत वनको राजस्व हुने सरकारको अनुमान छ ।
हाल प्रदेशभित्रका २१७ वनमा सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन भइरहेको छ । जसबाट चालु आवको फागुन मसान्तसम्म ८६ करोड राजस्व संकलन भएको छ । असार मसान्तसम्म कुल १ अर्ब राजस्व संकलन हुने अनुमान रहेको वन तथा वातावरण मन्त्रालयका सचिव मनोहर काफ्लेले बताए ।
आगामी आर्थिक वर्षमा थप १०० वटा वन समूहमा सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन विस्तार गरिने बजेट वक्तव्यमा उल्लेख छ । यसको कार्यान्वयनबाट करिब २५ लाख क्यूफिट काठ तथा ३ हजार चट्टा दाउरा उत्पादन हुनुका साथै १० लाख श्रम दिन अर्थात् ३ हजार ७ सय जनाले वर्षमा २७० दिन रोजगारीसमेत पाउने छन् । थप हुने सय वटा वन व्यवस्थापनबाट २० करोड राजस्व उठ्ने अनुमान गरिएको छ ।
यस्तै वन क्षेत्रबाट बग्ने नदी एवम् खोला–खोल्सीबाट वन क्षयीकरण तथा बस्ती जोखिमलाई न्यूनीकरण गर्न प्रदेश भित्रका कम्तीमा १५ वटा खोला–खोल्सीको व्यवस्थापनबाट करिब १ करोड क्यूफिट नदीजन्य पदार्थ संकलन गरी बिक्री गर्दा करिब ८० करोड राजस्व उठ्ने अनुमान छ ।
‘३१७ वनमा सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन र १५ वटा खोला–खोल्सीको व्यवस्थापनबाट वार्षिक २ अर्ब राजस्व संकलन हुने लक्ष्य राखेका छौं,’ सचिव काफ्लेले भने ‘सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन वैज्ञानिक छ, यसले उमेर पुगेका बुढा रुख हटाएर आम्दानी लिने र सँगसँगै नयाँ गुणस्तरीय रुखबिरुवा हुर्काउने भएकाले प्रदेशको राजस्वको मुख्य स्रोत पनि बन्छ, नयाँ वन विस्तार र वातावरण संरक्षणमा पनि योगदान पुग्छ ।’
विदेशबाट अर्बौंको काठ र काठको फर्निचर आयात हुने गरेको तर नेपालका वनमा काठ कुहिएर खेर जाने परिपाटीको अन्त्य गर्न सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनलाई बढीभन्दा बढी विस्तार गर्न जरुरी रहेको सचिव काफ्लेले औंल्याए ।
संघीय सरकारले समेत सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनलाई कार्यान्वयन गर्न ऐन बनाएर ‘समृद्धिका लागि वन’ कार्यक्रम सञ्चालनमा ल्याएको हुँदा सातै वटा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा यसलाई प्राथमिकता दिइएको सचिव काफ्लेले बताए ।
प्रदेश सरकारको बजेट वक्तव्यमा सयवटा वनमा सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्न करिब तीन करोड वजेट विनियोजन भएको छ ।
लुम्बिनी प्रदेशमा संरक्षित क्षेत्र बाहेकको वन क्षेत्र ७ लाख ८९ हजार २७९ हेक्टर छ । यसमध्ये करिब ५ लाख हेक्टर वन सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्न सकिने प्रजातान्त्रिक वन प्राविधिक संघ लुम्बिनीका महासचिव केशव खड््काले बताए ।
वन सम्बर्द्धन प्रणाली अन्तर्गत लुम्बिनी प्रदेशभर व्यवस्थापन गर्दा २ करोड ५० लाख घन फिट काठ र ७५ हजार चट्टा दाउरा निस्कने अनुमान छ । जसबाट वार्षिक २० अर्ब ७५ करोड आम्दानी हुने, राजस्व संकलन पनि ५ अर्ब १८ करोड पुग्ने खड्काले बताए ।
वन सम्बर्द्धन प्रणालीमा आधारित भएर व्यवस्थापन गर्दा प्रदेशको समृद्धिलाई ठूलो योग्दान पुग्ने वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीको पनि ठम्याइ छ । ‘यो राम्रो कार्यक्रम हो, सरकार स्पष्ट छ, विज्ञानले भनेको कुरालाई आधार मानेर अघि बढ्नुको विकल्प छैन,’ मन्त्री केसीले भने ।
प्रदेश भित्रका सामुदायिक, कबुलियती,साझेदारी वन एवम् बगर, नदी र खोला किनारा जस्ता खाली क्षेत्रमा वहुवर्षीय, वहुउपयोगी गुणस्तर २० लाख काष्ठजन्य र ५ लाख गैरकाष्ठजन्य बिरुवा उत्पादन तथा रोपण गरिने मन्त्री केसीले बताए ।
यस्तै जडिबुटी खेती प्रवर्धन तथा उद्यम विकास कार्यलाई निरन्तरता दिँदै रुकुम पूर्व, रोल्पा, अर्घाखाँची, प्यूठान, पाल्पा, गुल्मी र दाङ जिल्लामा टिमुर खेती विकास कार्यक्रम सञ्चालन गरी टिमुर पकेट क्षेत्रका रूपमा विकास गरिने मन्त्री केसीले बताए ।