Thursday, May 14, 2026
घर ब्लग पृष्ठ 132

बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित

 निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् ।

गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए ।

प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ ।

बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमल्निे गरी घरमा क्षति पुर्‍याउँदा उहाँहरुको परिवारले विस्थापित हुनु परेको प्रनाउ रावलले जानकारी दिनुभयो ।

यस्तै, सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले विस्थापित हुनुपरेको छ । मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार वर्षासँगै गएको पहिरोले सिरिजङ्घा–७ मा नवराज लिम्बूको घर, भान्सा घर र पशुचौपाया गरी रु १६ लाख ९० हजार क्षति भएको छ । त्यस्तै, शुक्रराज लिम्बूको घर पूर्णरुपमा क्षति र पशुचौपाया गरी रु १० लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सिरिजङ्घा–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । पहिरोले खानेपानीमा क्षति पुर्‍याउँदा मामाङ्खेका करिब तीन सय परिवार खानेपानीबाट वञ्चित हुनु परेको पनि स्थानीयले जानकारी दिएका छन् ।

यसैगरी, याम्फदिनमा पनि दर्जनभन्दा बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिनुभयो । गत बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँचजनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५५ पशु चौपाया मरेका छन् ।

मनसुन पूर्णरुपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् ।

ताप्लेजुङको भूबनावट पहिरोको जोखिम पर्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यहाँका ६१ मध्ये ४१ वडा पहिरोको उच्च जोखिममा पर्दछन् ।

किशोरी लक्षित यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर

बर्दियाको गुलरिया नगरपालिका–१०, रत्नापुरमा १० देखि २४ वर्षीया किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेर सम्पन्न गरिएको छ ।


क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा गुलरिया नगरपालिका स्वास्थ्य शाखा र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा सो स्वास्थ्य शिविर संचालन गरिएको हो ।


सो शिविरबाट २७९ जना किशोरी तथा युवा महिलाहरुले महिला विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा बिभिन्न किसिमका सेवा तथा उपचार गराएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।


शिविरमा उपचारका लागि आएका किशोरीहरुले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुबाट पाठेघर, गर्भवती जाँच, मनोसामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएको अध्यक्ष तुलाधरको भनाइ छ ।


अनुगमनका लागि शिविरमा पुग्नु भएकी गुलरिया नगरपालिकाका उपमेयर साबित्रा गौतमले यस्ता शिविरहरु समय समयमा संचालन गर्नु आवश्यक रहेको जनाउँदै स्वास्थ्य सेवाबाट बन्चित समुदायलाई नियमितरूपमा यस्ता शिविरबाट उपचार सेवा दिन सकिने बताइन् ।


सोही प्रकारले स्वास्थ्यको पहुँच नपुगेका स्थानीय किशोरीले नेपालमा औषधि उपचार नगराएर सीमावर्ती भारतमा गएर उपचार गराउनु पर्ने बाध्यता रहेकोले यो स्वास्थ्य शिविरबाट धेरैजना लाभान्वित भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए ।


सो अवसरमा गुलरिया नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ओमकार शाह, पत्रकारहरु, जनप्रतिनिधि लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताए । स्वास्थ्य शिविरमा डा. कबिता सिन्हा र डा. आदिति धिताललगायतले किशोरीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

शुरु भयो ‘ए’ डिभिजन लिग फुटबल

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबार देखि शुरु भएको छ ।

शनिबार एक समारोहका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले प्रतियोगिताका रेफ्री लक्ष्मण घर्तीलाई बल हस्तान्त्रण गर्दै उद्घाटन गरेका हुन् । नगर प्रमुख आचार्यले खेलकुद र खेलाडीको विकासका लागि नगरपालिकाले सकारात्मक भएर सहयोग गर्ने बताए ।


कार्यक्रममा उनले भने,‘खेलाडीलाई खेलप्रति आर्कषित गर्न, उनीहरुको प्रतिभा देखाउने वातावरण निर्माण गर्नका लागि खेलकुदको बजेट हामीले बढाउँदै लगेको छौं । स्थानीय स्तरका खेलाडीले आफनो क्षमता देखाउने अवसर पाउनु पर्छ । उनीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाउने वातावरणको निर्माण गर्ने हाम्रो उद्देश्य हो । त्यो आज पनि छ र भविष्यमा पनि रहनेछ ।’


उद्घाटनको अध्यक्ष्ँता गरिरहेका आयोजक, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले फुटबलको विकासमा लिग फुटबलको महत्वपुर्ण भुमिका हुने बताए ।


कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल बराबरीमा सकिएको छ । साविक विजेता नेपालगन्जको धम्बोझी क्लब र कोहलपुर रेसिङ सहारा क्लबबिचको खेल १–१ को बराबरीमा सकिएको हो ।


खेलको २५औं मिनेटमा धम्बोझीका क्षितिज थापा मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर कोहलपुर रेसिङका ईश्वर श्रेष्ठले ५१औं मिनेटमा गोल गदैं खेल बराबरी गरेका थिए ।


खेलमा कोहलपुर रेसिङ सहाराका गोलकिपर सलोन परियारले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गरे । उनलाई अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोर्वद्धन सिंह सम्झना र कोहलपुर गोल्ड कपका संयोजक राम बहादुर मल्लले पुरस्कृत गरेका थिए ।


बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा फुटबल संघका पूर्व उपाध्यक्ष गोर्वद्धन सिंह सम्झना, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल लगायतको उपस्थिती थियो ।


बाँके जिल्ला फुटबल संघको आयोजनामा कोहलपुरमा सुरु भएको प्रतियोगितामा जिल्लाका ९ क्लबको सहभागिता रहेको छ । असारको १३ गते सम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भैरहेको छ ।


संघका महासचिव कमल खत्रीका अनुसार, प्रतियोगितामा सहभागी क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।


यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।


प्रतियोगिता अन्तर्गत आइतबार बिहान हुने पहिलो खेलमा जय किसान स्पोर्टस क्लब खजुरा र न्यु डाँफे स्पोट्स क्लबबिच हुनेछ । दोस्रो खेल ओशोनिक क्लब र रोयल नेपालगन्ज फुटबल क्लबबिच हुनेछ ।

जनप्रतिनिधिसंग छलफल गर्दै बाँके काँग्रेस

नेपाली कांग्रेस बाँकेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग छलफल गरेको छ । कांग्रेसबाट पालिकामा निर्वाचित प्रमुख एवम् उपप्रमुखसंग पार्टी कार्यालय नेपालगञ्जमा छलफल गरिएको हो । 

हालसम्म भएका प्रगति र पार्टीसंगको समन्वयका विषयमा छलफल आयोजना गरिएको सभापति नारायणप्रसाद गौडेलले बताए ।

हालसम्म भएका प्रगति र पार्टीसंगको समन्वयका विषयमा छलफल आयोजना गरिएको सभापति नारायणप्रसाद गौडेलले बताए । “प्रमुख-उपप्रमुखले निर्वाचन ताका गरेका प्रतिबद्धता के-कति पूरा भए, के-कति पूरा हुने चरणमा छन्, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा भएका प्रगति, भौतिक र मानवीय विकासको सूचक लगायत सुशासन र समग्र समृद्धिका हिसाबले भए गरेका प्रगतिबारे जानकारी लिने उद्देश्यले उहाँहरुसंग बैठक गरेका हौं,” सभापति गौडेलले भने-“जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न भनेका छौं, उहाँहरुले अहिलेसम्म भएका प्रगति, चुनौती र भावी योजनाबारे हामीलाई जानकारी गराउनुभएको छ ।” 

सीमित स्रोत साधनका बाबजुद जनअपेक्षा अनुसार काम गर्ने कोशिस गरिरहेको उनीहरुको भनाई छ । छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा  गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आ-आफ्नो दुई बर्षे कार्यकालबारे जानकारी गराएका थिए । 

छलफलमा सभापति गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिव रेनु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, महासमिति सदस्य लक्ष्मीनारायण शाह, खजुरा सभापति रमेश सिंजाली, जानकी सभापति दयाराम यादव, राप्तीसोनारी सभापति भिम राना क्षेत्री लगायत उपस्थित रहेको कार्यालय सचिव अमित कँडेलले बताए । 

कोहलपुरमा हुने भो, बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल

शनिबार देखि कोहलपुरमा बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ ।


बाँके जिल्ला फुटबल संघको आयोजनामा कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लब र नेपालगन्जको धम्बोझी क्लबबिच प्रतिस्पर्धा हुने छ । असारको १३ गते सम्म चल्ने प्रतियोगितामा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ९ क्लबको सहभागिता रहेको छ ।


लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा सहभागी क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब रहेका छन् ।


यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।


दुइ साता अघि बाँके जिल्ला फुटबल संघले कोहलपुरमै जिल्ला स्तरीय (बि डिभिजन) नकआउट फुटबल प्रतियोगिता गरेको थियो । शनिबारबाट हुने जिल्ला लिग फुटबलले बाँके जिल्लाबाट स्तरीय खेलाडी उत्पादनमा सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
लिग कम नकआउटका आधारमा सेमिफाइनल हुँदै फाइनलमा जित हासिल गर्ने टोली जिल्लाको लिग च्याम्पियन बन्ने छ ।


नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माण कार्य चलिरहेकोले कोहलपुरमा प्रतियोगिता आयोजना गर्न परेको आयोजकले बताएको छ । सुरुआतमा नेपालगन्जमा आयोजना गर्ने तयारी भएपनि मैदान अभावले अन्तिम समयमा आएर कोहलपुरमा प्रतियोगिता गर्नु परेको अध्यक्ष शाहीले बताए ।


अध्यक्ष शाहीका अनुसार, शनिबार बेलुका कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा भौतिक प्रगति

 जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ ।

‘चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ’, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने ।

इनारमा खसेर एकको मृत्यु

काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा इनारमा खसेर एक व्यक्तिको मृत्यु भएको छ ।

बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनारमा डुबेर ललितपुर बागडोल बस्दै आएका भोजपुर घर भएका ४० वर्षीय गोपाल महतको मृत्यु भएको हो ।

बिहीबार इनार सफा गर्ने क्रममा महत भित्र खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्‍वर र बिपद व्यस्थापन महाशाखाबाट खटिएको प्रहरीले उनलाई उद्दार गरेको थियो ।

उपचारकै क्रममा राष्ट्रिय ट्रमा सेन्टर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिका बलात्कार गरेको आरोपमा पक्राउ

भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेका छन् ।

उनलाई भक्तपुर प्रहरीले बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

एकीकृत समाजवादीको अपानि

एकीकृत समाजवादीले देशभर महाधिवेशन प्रतिनिधि छनोट एकै दिन गर्ने भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार ५ असारमा देशभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्नेछ ।

४ गते उम्मेदवारी दर्ता र ५ गते ५ः३० बजे मतदान गर्ने निर्वाचन तालिका छ ।

बालसुधार गृह बिषयमा कारण देखाउ आदेश

बालसुधार गृह रुपन्देहीमा रहेका बालकहरुको आधारभुत बालअधिकार र बालन्यायको लागी सार्वजनिक सरोकारको बिषयमा दायर रिटमा अदालतले बिपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश स्वीकृती पराजुलीको एकल एजलासले यस्तो आदेश जारी गरेको हो । ‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै कुनै आधार कारण र प्रमाण भए सो समेत साथै राखी सुचना पाएको मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु’ भनी बिपक्षीहरुका नाममा आदेश गरेको छ ।

‘साथै प्रस्तुत निवेदनमा उठेका बिषयहरु ब्यक्तिको जिवनको अधिकारसंग जोडिएको बिषय देखिएकाले प्रस्तुत निवेदनलाई अग्राधिकार दिई नियमानुसार पेश गर्नु’ भनी आदेश भएको छ । सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत सार्वजनिक सरोकार कानून ब्यवशायी समुह र अधिकारकर्मीले २०८१ जेष्ठ ३० गते उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा परमादेशको रिट दायर गरेका थिए ।

वरिष्ठ अधिवक्ता एवं सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका संयोजक सुनील कुमार श्रेष्ठ, सार्वजनिक सरोकार कानून ब्यवशायी समुहमा आवद्ध अधिवक्ताहरु एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ प्रदेश संयोजक बसन्त गौतम, ऐ.का लुम्बिनी प्रदेश संयोजक अधिवक्ता इन्द्रिरा आचार्य, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, अधिवक्ताहरु लोक बहादुर शाह, बल बहादुर चन्द, बिश्विजत तिवारी बिकाश आचार्य, केवल सिंह थारु, सुरेश कुमार गौतम र संजिता पौडेल लगायतले संयुक्त रुपमा रिट दर्ता गराएका बिहिवार भएको बहशमा रिट निवदनको पक्षमा वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेल, अधिवक्ता त्रय बसन्त गौतम, इन्द्रिरा आचार्य र संजिता पौड्यालले बहश गरेका थिए ।

बिहिवार भएको बहशमा रिट निवदनको पक्षमा वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेल, अधिवक्ता त्रय बसन्त गौतम, इन्द्रिरा आचार्य र संजिता पौड्यालले बहश गरेका थिए ।