नयाँ बर्ष २०८० ले नेपालीको फुस्रोपन मेटाओस्


गत बर्ष २०७९ बैसाख १ गते २०७८ लाई बिदाइ गर्दैगर्दा नयाँ बर्ष २०७९ ले हरेक नेपालीको तनमनमा लागेको फुश्रोपन मेटाओस् भन्ने कामना गरेका थियौं । त्यस्तो कामनाका धेरैले धेरै अर्थ लगाए । देश गणतन्त्रको दोश्रो निर्वाचनको संघारमा थियो । स्थानीय निर्वाचनको गर्मी बढेको थियो । देशका दुई ठूला पार्टी नेपाली काँग्रेस र एमाले आआफ्नो कित्ता शक्तिशाली बनाउने कसरतमा अन्य पार्टीलाई मिलाएर सर्वतरुपी चुनावी घोल तयार गर्दै थिए । गणतन्त्रको लड्डू कसको फाइदाको हुने भन्ने दौडमा लोकतन्त्रका सबै नियमहरु भत्काउँदै थिए । नीति नैतिकता र राजनीतिको न्यूनतम आर्दशका सबै पर्खालहरु भत्काएर पद पद अनि पद…जसरी पनि पदको गठबन्धनहरु बन्दै थिए । रनभूल्लमा परेका जनतालाई हर्ष न बिस्मात भएता पनि जनता भन्दा कार्यकर्ता बढि भएको देशमा चुनावी नशामा उन्मत्त भएर नयाँबर्ष २०७९ शुरु भएको थियो । त्यो बैसाखबाट शुरु भएको चुनावको छताछुल्लता यो बर्ष २०८० को वैसाख १० गतेसम्म चल्दै छ । तर उपचुनाव भएकोले यसपटक देश गतबर्ष जस्तो चुनावको रंगोलीमा भने छैन । २०७९ ले धेरै कुराहरु सम्झिन लायक छोडेर गएन । नेपाली जनतामा आएको फुस्रोपन गणतन्त्रको त्यो दोस्रो चुनाव र नयाँ बर्ष २०७९ ले मेटाउन सकेन पनि ।

नेपाली जनताको जीवन दिनचर्याका हरेक क्षेत्रमा निकै उतारचढावहरु आए । रुस युक्रेन युद्धबाट उकालो लागेको इन्धनको भाउ, महङ्गाइको पारा ओरालो लाग्न सकेन । आफ्नै खेतखलियानमा फल्न सक्ने गहुँको पीठो एकसय रुपैंयाको हाराहारीमा पुग्यो । तेलको चिप्लोपन नै हरायो । जसोतसो गरेर बैंकबाट ऋणधन गरेर चलाएको सानोतिनो ब्यापारहरु बन्द गरेर भाग्न पर्ने अवस्था आयो । बैंक ब्याजदरमा आएको दोहोरो बढोत्तरीले ऋणिहरुलाई बैंक ऋण निल्नु न ओकल्नु भयो । नीजि क्षेत्र लगभग सम्हालिन नसक्ने गरि नै तहसनहस भयो । विगतका बर्षहरुमा भन्दा वैदेशिक रोजगारीका कार्यालयहरुमा राहदानी जम्मा गर्नेहरुको लाइन बढ्यो । तथापि देशमा चुनाव भयो । तीन तीनवटा सरकार बने । राजनीतिका पसलहरु सबै चकाचक भएका छन् । सत्ताको चास्नीमा जान गुट परिवर्तन गर्न सजिलो भएको देखियो । बर्षको उत्तरार्धमा देशको राजनीतिक इतिहासमा नै सबैभन्दा लाजमर्दो गठबन्धनहरु र सत्ताका दाउपेचहरु चले र आजपर्यन्त उस्तै छन् । बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष भन्ने भनाइहरु मिथ्या भए । लोकतन्त्रको बोली लाग्यो । यहि बोलिमा आज देशका दुई ठूला दलहरुले आफ्नो एक तिहाइ हैसियतमा पनि नरहेको दलको दलदलमा भासिन र उसको आदेश मान्न तयार भएका छन् । तीन महिनामा सातपटक मन्त्री परिषद विस्तार हुँदा पनि अपुरो सरकार बनेको छ । प्रदेशहरुमा तीन महिनामा दुईदुई वटा सरकार बनेका र अझै बन्दै जानेछन् । बर्ष २०७९ ले नेपाली जनतामा निरासा र राजनीतिक दल र दलका कार्यकर्तामा भने चिल्लोपना मात्रै होइन दुबै हातमा घिउ र टाउको चौंठीभित्रै नै पुर्याएको छ ।

थुप्रै असहजताका बीच पनि बर्ष २०७९ केहि हदसम्म नेपाली जागरणको हिसाबले विगतका बर्षभन्दा अलि उच्च नै रह्यो । नेपाली जनताले गणतन्त्र र विदेशी वादको हाँडीमा पाकेको सपनाको खोलेको स्वाद चाखेका छन् । नेपालको अस्तित्व अब नेपालका वर्तमान सत्ता राजनीतिमा टाँसिएका दलहरुबाट सुरक्षित रहन सक्दैन भन्ने बुझाइ बढ्न थालेको छ । नेपाली पत्रकारिता जगत, न्यायलय, प्रहरी प्रशासन र सिँगो सिँहदरबार कसका लागि सर्मपित छ ? भन्ने केहि पर्दाहरु खुलेका छन् । विदेशी आइएनजिओहरुले नेपालका गाउँ गाउँमा रोपेको कित्ताकाट र घृणावादको बीऊ केहि भए पनि मक्किन थालेको छ । नेपालीत्व प्रति नेपाली युवापुस्तामा समेत केहि जागरण आएको छ । यो कुरा बर्ष २०७९ को उपलब्धिको रुपमा आएको छ भन्न सकिन्छ ।

भुकम्पको त्रिपाल, जस्तापाता, बाढिपीडितको चामल र सिँङ्गो सांसदको तलबभन्दा आइएनजिओको भत्तामा बिक्ने रमाउने नेपाली नेताहरुको नियतमा शंका गर्नु पनि कसरी ? हाडनातामा सम्बन्ध लाग्ने र विवाहको नेपाली परम्परा भत्काएर पशुजन्य यौन सम्बन्धमा साम्यवादको सपना देख्ने योजनामा लाग्ने सत्ताको खेल नेपाली जनताले कति बुझे बुझेनन् तर देशको अस्मिता बेच्ने नियत नाङ्नि भनि थालेको छ । यति हुँदाुहँदै पनि आजपनि नेपाली जनताको आधारभूत समृद्धि अधुरो छ । यस बिषयमा चिन्तन गर्ने राज्य छैन । सरकार छैन् । नेतृत्व छैन । पाँच बर्षे सरकार बन्नुपर्नेमा किस्ताबन्दिको सरकारहरु बन्ने, पाँच बर्षका पहिलो बर्ष र अन्तिम बर्ष चुनावी सिण्डिकेट बनाउन मै व्यस्त हुने राजनीतिक पार्टीहरुमा नेपालको मूलभूत कुराहरुप्रति एजेण्डागत चर्चा हुन सकेन र हुँदैन । देशका स्वदेशी लगानीकर्ताहरु सडकमा आउँदा पनि सिँहदरबारमा सुतेकाहरुको निद्रा खुल्दैन । अर्थशास्त्रीहरुको कलम चल्दैन । समाजसुधारकहरुको आवाज निस्किन्न । एउटा आइएनजिओको खेतालोलाई अप्ठ्यारो पर्यो भने बावुवाटार घेर्न पुग्ने नागरिक समाज देशको अर्थतन्त्र उत्तानो पर्दा पनि सुतेर बस्छ । बर्ष २०७९ यहि र यस्तै नियतिमा गुज्रियो ।

आज बैसाख १, नयाँ बर्ष २०८० । नेपाली मौलिक पात्रोको पहिलोको दिन । नयाँ बर्ष पनि फिकाफिका फुस्रो जस्तो लागेको छ । तर हाम्रो मौलिक नयाँ बर्ष हो । यसमा शुभकामना दिनुलिनु हाम्रो आफ्नो पहिचान हो । यो बर्ष सबै नेपालीको लागि सुखमय होस भन्ने शुमकामना गतबर्ष झैं दिनु बाहेक यो पङ्तिकारसँग केहि छैन । राष्ट्रको ढु्कुटी रित्याउञ्जेल दरबारमा चिल्लोचाप्लोमा रमाएकाहरुको अर्कालाई दोष लगाएर आफु चिल्लै भएको र देशको ढुकुटी पनि चिप्लै भएको अलाप आजपनि विद्यमान छ । नयाँ बर्ष २०८० ले हिजोका ती तमाम लज्जापूर्ण व्यवहारमा त चिल्लो लाउन सक्छसक्दैन तर सधैं आशावादी बनिरहने नेपालीको आशा अझैं मरिहालेको भने छैन । नमरोस् पनि । महङ्गाई, राजनीतिक गैरजिम्मेवारीपनाको पुनराबृति २०८० सालमा नहोस् । नेपाल र नेपालीको अस्मिताको रक्षा, नेपाली मौलिकताको रक्षामा यो बर्षमा थप सुधार आओस् । नेपाली राजनीतिमा स्थिरताको कामना प्रायः झुठो नै भैरहेको हुन्छ तर राज्य नागरिकप्रति अलिकति भएपनि जिम्मेवार बनेको हेर्न चाहनु नयाँ बर्षको चाहना पक्कै हुनसक्छ ।

सिंङ्गो हिउँदभरि (असोजदेखि) बर्षा नभएर किसानहरु आकाशतिर हेरिरहे । कठिन परिस्थितिमा उब्जाएको तरकारी सडकमा फाल्नपर्ने अवस्था आयो । सिंचाइ मलखादको अभावका बीच जनतन लगाएको मसुरो र गहुँबाली चैतको तेस्रो सातामा परेको अबिरल बर्षाका कारण खेतमा सोत्तर भयो । गहुँको पीठोको भाउ सय रुपैंया पुग्दा समेत गहुँको मूल्य नपाउने अवस्था बनेको छ । केहि ब्यापारीहरुका लागि बर्षातमा डुबेको गहुँ भन्ने बहाना बनाएर किसानको गुहँको मोल घुइयाको भाउ बनाउने दाउपेच शुरु भएको छ । अधिकाशं गाउँ युवाबिहीन बनेपछि रित्तिएको कृषि मजदूरका कारण नेपाली कृषि क्षेत्रले संकटको सामना गरेको छ । खेत बाँझो रहने तर खाद्यान्न आयात गर्ने अवस्था बनाएर सरकार विप्रेषण बढेको भनेर अर्थतन्त्र नियन्त्रणमा रहेको अलाप गरिरहेको छ । अर्थमन्त्री गर्भनर र प्रधानमन्त्रीको अर्थतन्त्रप्रति दिएको अभिव्यक्ति विदेशी मुद्राको पोको खासै नघटेको देखेर दिएको बाहेक देशभित्रका आर्थिक क्रियाकलापमा सुधारै आएकोले हो भन्न किमार्थ सकिन्न । फागुनसम्म मै कुल राजश्वले चालुखर्च नै धान्न सकेन । चैत्र महिनाको अन्तिम हप्तामा कर कार्यालयमा लाग्ने गरेको करदाताहरुको लर्को देखिएन । बैंकका शाखा प्रबन्धकहरु ब्याज नउठेकोमा लामालामा सुस्केरा हाल्दै थिए । यसैले देशको अर्थतन्त्र कुन बाटोमा छ भन्ने प्रष्ट पारेको छ । यो तथ्य बोलेको हो । सरकारले जनता ढाँट्दै आएको छ र अझै ढाँट्ने प्रयास गर्दैछ । तर आफुलाई कसरी ढाँट्छ ? यसपटक करको किस्ता बुझाउन नसकेका जनता र चालुखर्चका लागि करको कटौरा थापेको सरकारका बीच कतै तालमेल नै मिलेको देखिएन । यो नयाँ बर्षमा पक्कै पनि धेरै कुराहरु हेर्नु र भोग्नु पर्ने नेपाली बाध्यताका बीच सरकार र नेपाली जनताको दैनन्दनी भने सजिलो पक्कै छैन ।

सरकारलाई मात्रै दोष दिने र रातदिन गाली गरेर सुत्ने गरेका नागरिकस्तरमा चेतनाको अभिवृद्धिको अझै खाँचो छ । देशमा अधिकारका संघर्षहरु मात्रै गर्ने नागरिकले कर्तव्यप्रति जिम्मेवार रहेको देख्ने नयाँ बर्ष २०८० को अभिलाषा हुनुपर्छ । अधिकारका नाममा पद्धति भत्काउने, थिति भत्काउने, संस्कार सँस्कृति भत्काउने, नैतिकताका सबै पर्खालहरु नाघ्ने प्रवृति बढ्दा देश नै नरहने अवस्था आउन लागेको छ । यो अवस्था धेरै रहनु हुँदैन । देशभक्तिका कथाहरु हालेर, नारा लगाएर, संजालमा अलाप गरेर मात्रै देशको रक्षा हुने होइन यसका लागि त आ आफ्नो वरकतले भ्याएसम्म र उपलब्ध भएसम्म व्यवहारमै लागू गरेर जानुपर्छ भन्ने चेतना नयाँ बर्ष २०८० ले सबै नेपाली जनतामा भरिदेओस् । कर्तव्य प्रति जिम्मेवार नागरिकले मात्रै कर्तव्यप्रति जिम्मेवार सरकार निमार्ण गर्न सक्छन् र सरकारलाई पनि कर्तव्यप्रति जिम्मेवार हुन बाध्य पार्न सक्छन् । हामी सबैमा यस्तो चेतना र जागरण नयाँ बर्षले ल्याओस् । नेपाली जनतामा रहेको फुस्रोपन नयाँबर्षले मेटाओस् ।
नेपालको मौलिक सम्बत नयाँ बर्ष २०८० को सबैलाई हार्दिक एंव मंगलमय शुभकामना !

प्रतिक्रिया

प्रतिक्रिया