महसुर तानाशाह जो एक सम्पादक थिए

राजेन्द्र स्थापित

महसुर तानाशाह जो एक सम्पादक थिए ‘सिद्धान्ततः प्रजातान्त्रिक व्यवस्था राम्रो छ तर व्यवहारमा यो एक भ्रमजाल मात्र हो ।’ ‘समाजवाद एक धोखा हो, एक प्रहसन हो, प्रेत हो, ब्ल्याकमेल हो ।’ ‘फासीवाद एउटा धर्म हो, २० औं शताब्दी यही धर्म शताब्दीको रुपमा इतिहासमा अंकित हुन्छ ।’ यी उद्गार फासीवादको जनक बेनिटो मुसोलिनीका हुन् । ‘प्रत्येक अराजकतावादी पछि चामत्कारिक तानाशाह बन्छ’ भन्ने उनी आफैं एक खुँखार तानाशाह थिए । कमैलाई जानकारी होला, तानाशाह बन्नुपूर्व उनी एक पत्रकार थिए । पत्रिकाका सम्पादक थिए ।

 

जन्म इटलीको प्रिदाप्योमा भयो । बाबु अलेक्ज्याण्ड्रो मुसोलिनी पेशाले कामी थिए । आमा रोजा माल्तोनी शिक्षक । अलेक्ज्याण्ड्रो राजनीतिक विचारले समाजवादी थिए । त्यसैले जेठो छोराको नाउँ राखे, ‘बेनितो एमिल्कर आण्ड्रिया मुसोलिनी ।’ बेनितो प्रसिद्ध मेक्सिकन वामपन्थी राष्ट्रपति बेनितो स्वारेजको नाउँ तथा एमिल्कर र आण्ड्रिया इटलीका दुई समाजवादी नेता एमिल्कर सिप्रियानी र आण्ड्रिया कोस्टाको नाउँबाट राखिएको हो । बेनितोले प्रारम्भिक शिक्षा भिक्षुसंघले सञ्चालन गरेको स्कुलबाट प्राप्त गरे । बाबुको काममा पनि सघाउँथे । स्नातक सकेपछि शिक्षण पेशामा लागे । गरिबीबाट परिवार चलाउन नसक्ने भएपछि स्वीटजरल्याण्ड पुगे । मजदुरी गरे । रातिराति समाजवादीहरुसित बसेर समाजवादको अध्ययन गरे । दार्शनिक फ्रेडरिक नित्से, समाजवादी भिल्फ्रेडो पारेतो, श्रमिक संघवादी चाल्र्स पेगुइको प्रभावमा परे । त्यहीँ बसेरै इटलीको समाजवादी आन्दोलनमा सक्रिय भए र जुरिचबाट प्रकाशन हुने इटली भाषाको पत्रिका L’avvenrire Del Lavoratore (श्रमिकहरुको भविष्य) मा काम थाले ।

 

उक्त पत्रिका सन् १८९७ मा जुरिचमा स्थापना भएको हो । स्वीटजरल्याण्डमा बसिरहेका समाजवादी आन्दोलनका समर्थक इटालियनहरुले निकालेको । प्रकाशक थियो– इटालियन कोअपरेटिभ सोसाइटी अफ जुरिच । उक्त सोसाइटीले जुरिचमा एउटा रेष्टुराँ पनि सञ्चालन गरेको थियो । सो रेष्टुराँ युरोपेली वामपन्थीरुको भेटघाटस्थल थियो । आवश्यक समाचार, लेख त्यहींबाट संकलन गरिन्थ्यो । पत्रिकालाई इटलीका समाजवादीहरु गियोकोमो मात्तेउती, पियत्रो नेनी, गुइसेपे सारागात, साण्ड्रो पर्तिनी, इग्नासियो सिलोनलगायत स्वीस समाजवादीहरु इजियो कानोनिका र डारियो रोबियानीहरुले सघाउँथे । स्मरणीय छ, पछि इटलीमा फासीवादको उदय भएपछि गियोकोमो उनीहरुकै हातबाट अपहरित भए र मारिए । यो पत्रिका सन् १९९५ देखि २००० सम्म पाँच वर्ष बन्द भयो । यतिखेर त्रैमासिक बनेको छ । त्यो पनि न्युजलेटरको रुपमा । निःशुल्क वितरण गर्नेगरी । एण्ड्रिया इर्मानो र इटलीका वामपन्थी तथा पूर्व सांसद फेलिस बेसोस्त्री यसको निर्देशक बनेका छन् । पत्रिकाको कार्यालय जुरिचको कोअपरेटिभ सोसाइटीद्वारा सञ्चालित पुरानै रेष्टुराँमा छ ।

 

बेनितो मुसोलिनी उक्त पत्रिकाको सम्पादकसमेत भए । सन् १९०२ नोभेम्बर २२ को अंकमा समाजवादको वकालतमा लामै लेख प्रकाशत गरे । पुँजीवाद र समाजवादको तात्विक भिन्नता देखाए । उनी पत्रकारिता त गर्दै थिए, साथसाथै सांगठानिक बैठकहरुमा भाग लिने, श्रमिकहरुको भेलामा गई भाषण गर्ने काममा पनि व्यस्त रहे । इटालियनहरुको श्रमिक संगठन, नुजानको सचिवको रुपमा कार्यरत पनि । राजनीतिक सक्रियतासँगै श्रमिकहरुले हिंसात्मक आन्दोलन थाल्नुपर्छ भनी वकालत गर्न थालेपछि बर्नमा पक्राउ परे । दुई हप्ता जेल बसे । स्वीस सरकारले इटली फर्काइदियो । स्वदेश फर्केको केही समयमै स्वीट्जरल्याण्ड फर्के । फेरि पक्राउ परे । पछिल्लोपटक लामो समय जेल बस्नुप¥यो । सन् १९०४ मा स्वदेश फर्के । दुई वर्षे अनिवार्य सैन्य सेवामा संलग्न भए । सैन्य सेवापछि पुनः शिक्षण पेशामा लागे ।

 

राजनीतिमा पनि सक्रिय भइरहे । सन् १९१० मा जन्मस्थान फोर्ली फर्के । फेरि पत्रकारितामा लागे र साप्ताहिक पत्रिका लोट्टा डि क्लासे (वर्गसंघर्ष निकाले – आफ्नै सम्पादनमा । उनी आफूलाई बुद्धिजीवी ठान्थे । धेरै पुस्तक पढेका । हुन पनि पढ्न भनेपछि हुरुक्कै हुन्थे । उनलाई मनपर्ने लेखकहरु थिए, फ्रान्सिसी दार्शनिक जर्ज युजिन सोरेल, इटालियन भविष्यवादी फिलिपो मिरिनेट्टी, फ्रान्सिसी समाजवादी गुस्ताभ हार्भे, इटालियन अराजकतावादी इरिको मालाटेष्टा र जर्मन दार्शनिकद्वय कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स । जर्मन र फ्रान्सिसी भाषा पनि सिकिसकेका थिए । त्यसैले जर्मन दार्शनिकहरु फ्रेडरिक नित्से, श्चोपेन्हाउर र इमानुयल कान्टका लेखहरु अनुवाद गरेर प्रकाशन गर्न थाले । यसबीच नै उग्रधारको पत्रिका ‘ला भोस (भ्वाइस)’ मा ‘एकजना समाजवादीको आँखामा ट्रेन्टिनो’ ट्रेन्टिनो इटलीको एक प्रान्त हो प्रकाशित गरे, जुन पछि पुस्तकको रुपमा आयो । ‘ला भोस’ इटलीको साहित्यिक पत्रिका हो ।

 

यो पत्रिका सन् १९०८ देखि १९१६ सम्म मात्र प्रकाशित हुन सक्यो । मुसोलिनीले त्यस समय जर्मन साहित्यलाई लिएर लेख, निबन्ध र कथासमेत लेखे । L’amante del cardinole : claudia particella (The cardinal’s mistress) उपन्यास नै लेखे । यो उपन्यास ‘हिटलर एण्ड मुसोलिनी ः दि सिक्रेट मिटिंग्स’ का लेखक तथा पत्रकार सान्ति कोर्भाजासँग मिलेर लेखेका हुन् । मुसोलिनीद्वारा लिखित यो उपन्यास ट्रेन्टोबाट प्रकाशन हुने पत्रिका ‘इल पोपोलो डि’इटालिया’ (इटलीका जनता) मा धारावाहिक रुपमा सन् १९१० को जनवरी २० देखि मे ११ सम्म प्रकाशित भयो । उपन्यास इसाइ पादरीको विरुद्ध थियो । पछि भ्याटिकन सिटीसँग सम्झौता भएपछि मुसोलिनीले उपन्यास छापिएको पत्रिका सबैबजारबाट उठाउन लगाए । त्यसबेलासम्ममा मुसोलिनी घागडान समाजवादी बनिसकेका थिए ।

 

सन् १९११ को सेप्टेम्बरमा समाजवादी पार्टीको आह्वानमा आयोजित प्रदर्शनीमा भाग लिए । लिबियासित युद्धको विरोधमा । सभालाई संबोधन गर्दै इटलीको साम्राज्यवादी नीतिको चर्को विरोध गरे । नतिजा पाँच महिना जेलमा बस्नुप¥यो । रिहा भएपछि पार्टीभित्र युद्धको समर्थन गर्नेहरुको विरोधमा मोर्चाबन्दी गरे । युद्ध समर्थक नेताद्वय इभानोइ बोनोमी र लियोनिडा बिस्सोलाटीको सदस्यता निलम्बन गरी छाडे । समाजवादी पार्टीले उक्त साहसिक कामको उच्च मूल्यांकन ग¥यो । र, पुरस्कारस्वरुप पार्टीको मुखपत्र दैनिक ‘अभान्ती’ को सम्पादक बनायो । सम्पादन शुरु गरेलगत्तै मुसोलिनीले दनादन क्रान्तिकारी सम्पादकीय लेख्न थाले । माक्र्सवादी साहित्य र लेख लगातार प्रकाशन गर्दै गए । ‘माक्र्सवादलाई महान सिद्धान्त’ घोषणा गरे । उनले सम्पादन थालेको केही समयपछि नै पत्रिकाको बिक्री २० हजारबाट एक लाख पुग्यो । अभान्तीको अर्थ अग्रगामी हो । पहिलो प्रकाशन सन् १८९६ को डिसेम्बर २५ मा भएको हो । जर्मनीको समाजवादी पार्टीले पनि भोवार्टस (अग्रगामी) नाउँकै पत्रिका निकाल्थ्यो । इटलीका समाजवादीहरुले जर्मनीकै सिको गरेका हुन् । शुरुमा अभान्ती दैनिक रोमबाट निस्कन्थ्यो पछि सन् १९११ देखि मिलानबाट निकाल्न थालियो । मुसोलिनी सो पत्रिकामार्फत इटलीको विदेश नीतिको विरोध गर्थे ।

 
सन् १९१३ मा ‘गियोभानी हुस, इल भर्डिको’ प्रकाशित गरे । इतिहास र चेक सुधारवादी नेता जान हुसको जीवनी तथा उनका अन्धसमर्थक हुसितीहरुबारे । यस अवधिमा ‘भेरो इरेटिको’ को छद्म नाउँले धेरै लेख लेखे । समाजवादी त थिए तर उक्त बादको एउटा अनिवार्य तत्व ‘समतावाद’ को भने विरोध गर्थे । इसाइ सिद्धान्तको विरोध र इश्वरको अस्तित्वलाई नकार्थे । माक्र्सवादमा प्रजातान्त्रीकरण मिसाएर समाजवादी सिद्धान्तलाई दह्रो पार्नुपर्छ भन्थे । सन् १९१४ मा जब विश्वयुद्ध शुरु भयो, इटलीको समाजवादी पार्टीभित्रको एउटा सानो समूह मात्र पक्षमा उभियो । शुरुमा मुसोलिनीले पार्टी नीतिको पक्ष लिए । ‘युद्ध बन्द हुनुपर्छ र हामी तटस्थ बस्नुपर्छ’ भन्ने पार्टीको नारालाई ‘अभान्ती’ मा स्थान दिए । तर, उनको यो अडान लामो समय टिकेन ।

 

युद्धले इटलीलाई अष्ट्रिया–हंगेरीको साम्राज्यबाट छुटकारा पाउने मौका प्रदान गर्न सक्छ भन्ने अष्ट्रियाविरोधी र राष्ट्रवादी इटलीका जनताको प्रभावमा परे । उनलाई यसो लाग्नुको एउटा कारण अष्ट्रिया–हंगेरीको शासनले समाजवादीहरु माथि चर्को दमन गरिरहेको थियो । त्यसैले युद्धको विरोध गरिरहेका बहुसंख्यक समाजवादीहरुसित टक्कर लिन पुगे । विश्वयुद्धलाई उपयोग गरी क्रान्तिमा परिणत गर्नुपर्ने भन्दै पत्रिकामार्फत इटली युद्धमा तटस्थ बस्नुपर्छ भन्ने विचारको खण्डन गर्न थाले । इटली पनि ब्रिटेन र फ्रान्ससरह युद्धमा होमिनुपर्छ भनी वकालत गरे । हातमा आएको मौकालाई सदुपयोग गर्न नजानेकै कारण समाजवादीहरु सधैं असफल हुने गरेको भन्दै आलोचना गरे । नतिजा, अभान्तीको सम्पादक पदबाट बर्खास्त भए । समाजवादी पार्टीले पछि निश्कासनै ग¥यो ।

 

 

अभान्ती दैनिकको सम्पादनको काम गियासिन्तो मेनोती सेर्रातीले सम्हाले । यता पार्टीबाट निश्कासित भएपछि उनमा ठूलो परिवर्तन आयो । वर्गसंघर्षको विरोध गर्न थाले । क्रान्तिकारी राष्ट्रवादीसँग कुम जोड्न पुगे । समाजवादीविरुद्ध खनिने अभिप्रायःले समाजवादी पार्टीबाट निश्कासित उनीजस्ता अरु र श्रमिक संघीयतावादीहरु
सँग मिलेर छुट्टै पत्रिका ‘इल पोपोलो डि’इटालिया’ शुरु गरे । सन् १९१४ मा निकाल्न थालिएको यो पत्रिकाको सम्पादक, प्रकाशक उनी आफैं बने । लगत्तै सोही वर्षको अक्टोबरदेखि fasci rivuluzionari d’azione internazionalista (revolutionary facsi for international action) पनि निकाल्न थाले । इटलीको समाजवादी आन्दोलनलाई कमजोर बनाउन यो पत्रिकालाई फ्रान्सिसी उद्योगपतिहरुले सहयोग गरे । उनीहरु युद्धमा भाग लिई इटली फ्रान्सको पक्षमा लागोस् भन्ने चाहन्थे । मुसोलिनीले पत्रिका मार्फत शास्त्रीय समाजवादीको खुलेर विरोध गरे । सैन्यवाद र अमुक्त संयोजनवादको वकालत गर्न थाले । तथापि राष्ट्रवादी समाजवादीहरुको समर्थन भने गर्न छाडेनन् । हस्तक्षेपवादको समर्थन गर्दै शास्त्रीय माक्र्सवादको पनि विरोध गरे । पछि फासीवादको पत्रिका बन्न पुगेको यो पत्रिका सन् १९४३ को जुलाई १४ सम्म निस्क्यो ।

 

 

मुसोलिनीले इटलीमा जन्मदर बढाउनुपर्ने वकालत गरे । जसको कारण धेरै युवा उनको विचारमुनि गोलबन्द भए । सन् १९३६ पछि राजनीतिज्ञ तथा पत्रकार जर्जियो पिनी यसको सम्पादक बने । फासीवादको वकालत गर्ने समाचार एजेन्सी ‘एजेन्सिया स्टेफानी’ का अध्यक्ष मानिलो मोर्गाउनी पनि संस्थापक हुन आए । एजेन्सिया स्टेफानी पत्रकार गुगलिल्मो स्टेफानीले सन् १८५३ को जनवरी २६ मा स्थापना गरेको न्युज एजेन्सी हो, जुन १९४३ को अप्रिल २९ मा बन्द भयो । अभान्ती दैनिकको सम्पादक र समाजवादी दलबाट निश्कासित भएपछि मुसोलिनी आफ्नै ढंगबाट राजनीतिमा अघि बढे । सन् १९१४ मै छुट्टै आन्दोलन शुरु गरे । विश्वयुद्ध शुरु हुँदा सामेल हुनुपर्छ भन्ने उनको विचारप्रति समर्थन गर्नेहरु नै यो आन्दोलनमा सहभागी बने । उनीहरू आफंैलाई ‘फासिष्ट’ भन्न थाले । शुरुमा यो समूह सानो भएकाले सरकार र समाजवादीहरुको तर्फबाट धेरै सताइए । ठाउँ– ठाउँमा समाजवादी समूहसित झडपसमेत भयो । मुसोलिनी बिस्तारै समाजवादीहरुबाट टाढिँदै गए । अमुक्त संयोजनवादी राजनीतिज्ञ र सोही राजनीतिक दर्शन मान्ने अष्ट्रियाका पत्रकार सिजार बातिस्तीसित नजिकिए । उनीहरुकै उक्साहटमा सेनामा भर्ति भए । नौ महिना लामो सैनिक अनुभवबारे उनले ‘डायरियो डि ग्वेर्रा’ मा सबिस्तार उल्लेख गरेका छन् ।

 

 

ग्रिनेड पड्केर घाइते भएपछि सैनिक जीवनको अन्त्य भयो । शरीरमा ४० टुक्रा धातु पसेको थियो । सन् १९१७ को अगस्तमा अस्पतालबाट घर फर्के । त्यसबेलासम्म ‘इल पोपोलो डि’इटालिया’ का प्रधानसम्पादक नै थिए । लगत्तै इटलीको सेनामा चेक सहभागिताको पक्षमा समाचार लेखे । यसअघि सन् १९१५ मा पुरानी प्रेमिका राचेल गुइडीसँग बिहे गरिसकेका थिए । जबकि राचेलले सन् १९१० मै मुसोलिनीको तर्फबाट छोरी जन्माइसकेकी थिइन् । सन् १९१९ मा नयाँ संगठन बनाए । दलको नाउँ राखे ‘फासी दि–कंबात्तिमेन्टी’ । पाँच वर्षअघि शुरु गरेको आन्दोलनमा सहभागी र समर्थकहरुलाई संगठित पारे । यसमा धेरै पूर्व सैनिक जोडिए । यो नयाँ दलले सेना र बेरोजगार युवाको समर्थन पायो । मुसोलिनीका समर्थकहरु ‘ब्ल्याक शर्ट’ को नाउँले प्रख्यात बने । उनीहरुको काम भनेको आफ्ना दलका विरोधीहरुलाई डराउने, धम्क्याउने र मार्ने । यसक्रममा सन् १९१९ को अप्रिल १५ मा अभान्तीको कार्यालयमा आक्रमण गरे । कार्यालय जलाइदिए । संगठनको विस्तारसँगै चतुर मुसोलिनीले अवसरको लाभ उठाउँदै गए । यहाँसम्म कि उनका समर्थक फासिष्टहरुले सन् १९२२ को अक्टोबर ३० मा रोममाथि कब्जा जमाए । यसरी छोटो समयमै मुसोलिनी ठूलो नेता बने । र, सन् १९२५ मा आफैंलाई ‘तानाशाह’ घोषित गरे ।

 

 

सम्पूर्ण इटलीलाई एक सूत्रमा बाँध्ने र युरोपभरिको शक्तिशाली मुलुक बन्ने उद्देश्य लिएर अघि बढे । एक वर्षपछि सन् १९२६ मा अभान्तीमाथि प्रतिबन्ध लगाइदिए । पत्रिका पछि साप्ताहिकको रुपमा पहिला फ्रान्स रस्वीट्जरल्याण्डबाट निस्कन थाल्यो । द्वितीय विश्वयुद्धमा जर्मनीसँग मिले । फ्रान्स र ब्रिटेनमाथि हमला गरे तर अफ्रिका र बाल्कनको युद्धमा पराजित बने । पराजयको कारण सन् १९४३ को जुलाई २५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिनुप¥यो । पछि पक्राउसमेत परे । मुसोलिनीको पतनपछि अभान्तीको पुनः इटलीबाट निकाल्न थालियो तर त्यतिञ्जेलसम्ममा समाजवादी पार्टीका सदस्यहरुले मात्र पढ्ने पत्रिका बनिसकेको थियो ।

 

यसबीच हिटलरले मुसोलिनीलाई बन्दीगृहबाट छुटाए र फेरि इटलीको जिम्मेवारी सुम्पे । नाममात्रको शासक बन्न पुगे । सन् १९४५ को अप्रिल २६ मा मित्रराष्ट्रको सेना इटली पस्यो । उनी समातिए र पर्सिपल्ट मृत्युदण्ड पाए । (प्रेस काउन्सिलको संहिता २०७४ बाट)

प्रतिक्रिया

प्रतिक्रिया