नेपाली जनतामा हरेक दिन बिहानीको सूर्योदय सगै नया नया आशा पलाउदै गएको हुन्छ तर त्यो आशा सुर्यास्त स“गै विलिन भएर जान्छ । प्रजातन्त्र पुनस्र्थापना पछि समय नपुगी पटक पटक भएका सरकार परिवर्तनले जनतामा के सन्देश दिएको छ भने प्रधानमन्त्रीहरु न देशका भएका छन्, न पार्टीका भएका छन् न त जनताका भएका छन् ।
यिनीहरुलाई त गुटको प्रधानमन्त्री मात्र मानिएका छन । यहि कटू नीतिको शिकार हिजो देखि आजका प्रधानमन्त्री भएका छन् । पछिल्लो समय सामाजिक सञ्जालको बढ़्दो प्रयोगले सकारात्मक भन्दा नकारात्मक टिप्पणी गर्नेको झुण्ड एकाएक बढिरहेको छ । कतिखेर कस्ले के बोल्ला र उपहास गर्न पाउँला भनेर अहोरात्र आँखा उघार्नेहरु यता उता देख्न सकिन्छ ।
संसारले विकास र प्रविधिमा ठुलो फड्को मारिसक्यो तर हामीहरु युवाहरु निर्यात गरेर खाडीको ५० डिग्रीमाा समृद्धिको गफ हाँकिरहेका छौँ, दिनहुुँ युवाहरूलाई बिदाई गरेकै छौ । धन्न रेमिट्यान्सले हाम्रो चुल्हो बलेको छ नत्र के के हुन्थ्यो । यस्तै कठिन समयमा न हाम्रो राजनीतिमा स्थायित्व छ न त प्रकृतिले नै साथ दिएको छ नत हाम्रा मित्र राष्ट्रहरुको नै इमानदारी देखिएको छ ।
भनिन्छ राजनीतिले देश बदल्छ, नकारात्मक सोच बदल्छ बदल्नुपर्छ तर आफू र आफ्ना कार्यकर्ताको मात्र जीवनस्तर मात्र बदल्ने राजनीतिले जनतामा बितृष्णा दिकदारि पक्कै ल्याएको छ । कुनै पनि देशको जनताले चुनेको दल र उनैले चुनेको प्रधानमन्त्री पद आफैमा खराब कसरी हुन्छ ? खराब बनाउने र खराब सावित गर्नमा तपाई हामी जस्ता कार्यकर्ता, टाट आलोचक गुटका परमभक्त, सुषुप्त नागरिक र सोझा जनता अनि सत्यता बंगाएर लेख्ने कलमचरीहरुको पनि कम दोष छैन ।
जननिर्वाचित प्रधानमन्त्रीले पूरा समय काम गर्न नपाउँदै बन्ने नयाँ नयाँ सत्ता समीकरणले देशको अर्थतन्त्र र जनताको मनलाई धुजा धुजा पारेको छ । हिजो गिरीजा प्रसाद कोइराला, मनमोहन अधिकारी, शेर बहादुर देउवा, प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल, माधव नेपाल लगायत सबैजसो प्रधानमन्त्रीहरु यहि प्रवृत्तिको शिकार भएकै हुन् । अझै पनि प्रगतिशील ठानिएको संबिधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको ब्यवस्था नहुनुको पीडा अहिले देशले भोगिरहेको छ, हामीले भोगिरहेका छौ ।
भुतपूर्व प्रधानमन्त्री ओली आफ्नो कार्यकालमा निरन्तर बोलिरहेका थिए एक पछि अर्को सपना बाँडिरहेका थिए, तुइन हटाउने, लोडसेडिङ्ग मुक्त गर्ने, फाष्टट्रयाक आफै बनाउने, पाइप लाइनबाट ग्याँस ल्याउने, चुच्चो परेको रेल चलाउने, प्रशान्त महासागरमा आफ्नै पानीजहाज चलाउने आदि आदि ।
अझैसम्म भुकम्प पीडितहरु पालमुनि छन् , कालो बजारी बढिरहेकै छ, भ्रष्टाचार बढिरहेकै छ, युवाहरु बिदेशिएकै छन्, आन्दोलनहरु भइरहेकै छन्, बिवादित निर्णयहरु भइरहेकै छन्, देशका हरेक क्षेत्रहरु तहस नहस छन् । यसै बेला विमतिका स्वरहरुले गणतन्त्र र धर्मनिरपेक्षतालाई सरापिरहेका छन् मानौ यी दुबै अभिशाप थिए । बोलेका कुरामा गुणात्मक सुधार भएकै छैन तर सुधार गर्ने काममा नागरिक, दल, कर्मचारीतन्त्र, गÞैरसरकारी संस्था, पत्रकार आदिले गर्ने दायित्व के हामीले पूरा गरेका छौ त ?
भुतपूर्व प्रधानमन्त्रीले धेरै कुरा बोलेर जनता हँसाएका पक्कै हुन तर देशघाती कुरा गरेका थिएनन देश कसैलाई सुम्पने कुरा गरेका थिएनन, स्वर्गमा सिँढी बनाउछु भनेका थिएनन् । आकाशमा सहर बनाउँछु भनेका थिएनन्, उनले बोलेका धेरै कुराहरु तथ्य र लक्ष्य नजिक छन् । ओलीका बेला बेलाका बोलीहरुले जनतालाई सपना देखाएका छन् , अहिलेको युगमा बिकास र समृद्धिको सपना देख्नु पनि के अभिशाप हो र ? यसलाई खोक्रो राष्ट्रवाद भन्नेहरुले सोचौँ यो भन्दा पहिलेका कुन प्रधानमन्त्रीको स्वादिलो राष्ट्रवाद देख्नु भो ? तिनै ओलीले बोलेका कुराहरु अहिले बजेटमा छन् ।
के अझै पनि हामीले दास भएको, अशिक्षित भएको, अभाव भएको र दबिएको दबाइएको सपना देखिरहने हो र ? के फेरिपनि भद्र सहमति भन्दै सरकार फेरिरहने होकी ?केहि गर्ने हो ? जस्ले सोच्छ , त्यसैले सपना देख्छ र सपना देख्नेले बाटो पनि ठम्याउँछ । तर, ओलीले देखेको सपना पुरा गर्न र गराउनको लागि सपनाबाट बिउझिएर विपनामा ल्याएर काम गर्न दिनु पर्यो नि !
यसैगरी हरेक प्रधानमन्त्रीलाई कसैले उडाएर, त कसैले समीकरण बदलेर, त कसैले देश विदेश हारगुहार गरेर बोल्न र गर्न नदिने हो भने देश कसरी बन्छ ? देशलाई सा“च्चिकै विकसित बनाउनु छ भने केहि समय अडिएर काम गर्न दिन किन सक्दैनौ । यो काम गर्छु भनेर बोल्न पाएका हुनन् हाम्रा प्रधानमन्त्री फेरि बोलेको कुरा पुर गर्छन् कि साच्ची यो देश विकसित भैहाल्छ कि भनेर जिब्रो निमोठ्ने र खुट्टा तान्नेको लाइन लागेको हुन्छ ।
एउटा सरकारले आफ्नो हनिमून मनाउन नपाउँदै कुर्सी धरापमा परिरहने हो भने देश कहिले उँभो लाग्ने ?अहिले प्रचण्ड सरकार थियो ठिकै थियो राजीनामा किन दिइयो ? के को भद्र सहमति ? राजीनामा नदिए नेपाल माथिको आकाश झर्ने वाला थियो र ? अरु केही पनि होइन देश लुटेर खाने दाउ मात्रै हो । होइन भने यो चुनावी माहोलमा सरकार किन छोड्नु पथ्र्याे ? जनताको अमुल्य मतपत्र च्यात्नको लागि ? अनि फेरि तीन पटक असफल भैसकेकालाई नै प्रधानमन्त्री बनाउन पर्छ भनेर संविधानको कुन धारामा लेखिएको छ ? गगन थापा जस्ता योग्य युवा नेतालाई प्रधानमन्त्री बनाउदा साथ देश समुन्द्रमा डुब्ने वाला छ र ?
हो ! ओलीले बोलेका सबै कुराको जादूमय समाधान यूँ हुन सक्दैन, ओली मात्र होइन भोली जो सुकै प्रधानमन्त्री आए पनि तुरुन्त समाधान हुँदैन, त्यसका लागि समय लाग्छ । त्यतिन्जेल बरु यो काम किन भएन भनेर सहयोग सहितको खबरदारी गर्नु हाम्रो दायित्व हो कि होइन ? के देशको अभिभावक प्रधानमन्त्रीले बोलेको कुरालाई यति निम्नस्तरले आलोचना गर्नु सभ्य राजनीतिक संस्कार भित्र पर्छ र ? रात दिन जनताको लागि घर बनाउन खट्ने धुर्मुस सुन्तलीले गरेजस्तै सकारात्मक काम हामीले पनि गरे हुन्न र ? यदि सरकार देश प्रति बफादार हुन्थ्यो भने धुर्मुस र सुन्तलीलाई जनता समाज सेवा पदक प्रदान गर्दा देशलाई तेस्तो ठुलो नोक्सान के हुने वाला थियो र ?
म त भन्छु सबै प्रधानमन्त्रीहरुले सपना देख्नुपर्छ । दलहरुले निश्चित समय सम्म सरकार बदल्ने खेल खेल्नु हुँदैन, राम्रो काम गर्नेहरुलाई जनताले पत्याउँछन् , नराम्रो काम गर्नेहरु बढारिन्छन् । अरु दल समूह र बिचारको आलोचना गर्नु भन्दा आ–आफ्नो दल समूह र बिचारमा सुधार गरौँ गुटबन्दीको विरोध गरौ !
पहिले ओली सरकार अनि प्रचण्ड सरकार अहिले फेरि देउवा सरकार भएको छ । तर, अगाडी जुनसुकै सरकार भएता पनि देखेको, बुनेको र बोलेको सपनालाई विपनामा आउन नदिइ सपनामै तुहाउने काम भयो । अब आज देशमा देउवा सरकार छ उसलाई पनि सपना देख्न दिउ बोल्न अनि गर्न दिउ । तर, अब फेरि चलखेल हुन लागिसक्यो आफ्नो बोलीमा विकास गर्न नसक्नेले देश र जनताको बिकास कसरी गर्न सक्छ भनेर अब फेरि सरकार गिराउने तयारी हुन थालिसक्यो आखिर जति सरकार बनाएपनि गिराएपनि तुहिने त नेपाल अनि नेपाली जनताको सपना हो ।
त्यसैले अब यो सरकार बनाउने गिराउने खेल छोडेर सबै भन्दा पहिले अरु तिर औला तेर्साउनु भन्दा अघि आफु कस्तो छु भन्ने कुरा सोचौ अनि पहिले आफु परिवर्तन हौ । अनि अरुलाई परिवर्तन गर्न लागौ । अब यो परिवर्तन युवाबाट सुरु गर्नु पर्छ युवाले चाहेमा अवश्य काचुली फेर्न सक्छ । यो देश र यो देशका राजनीतिकर्मी, राजनेता आम नागरिक जनताले अबको देश बनाउने जिम्मेवारी युवालाई नै दिनु पर्छ ।