सम्वृद्धिका आधारहरु

बाँकेको पुरानो र ऐतिहासिक ठाउँ हो खजुरा । स्थानीय तहको पूनर्संरचना हुनु पूर्व नै खजुरा क्षेत्रका रुप साविकका गा.वि.स. हरु बागेश्वरी, सितापुर, राधापुर, उढरापुर, रनियापुर बुझिन्थे । यिनै ६ गा.वि.स. जोडिएर करिब ५० हजार जनसंख्या रहेको यो क्षेत्र खजुरा गाउँपालिकाको रुपमा घोषणा भैसकेको छ ।

यस लेखमार्फत अबको खजुराको गाउँपालिकाको समृद्धिका आधारहरु र यस गाउँपालिकाको भविष्य कस्तो निर्माण गर्नु सकिन्छ भन्ने सन्दर्भमा चर्चा गर्ने प्रयास गरिएको छ ।

खजुरा गाउँपालिका जनताको जिवीकोपार्जनको मुख्य आधार कृषि हो । बाँके जिल्लाको तरकारी उत्पादनको महत्वपूर्ण क्षेत्र र कृषिको पकेट एरियाका रुपमा यसपालिकाका सितापुर, उढरापुर र बागेश्वरी गाउँहरुले आफ्नो पहिचान बनाइसकेका छन् । यस गाउँपालिका भित्र सयौँको संख्यामा कृषि समूहहरु सकृय छन् ।

व्यवसायिक कृषिका लागि समुहहरुलाई अनुदान दिने, आधुनिक कृषि मेशिनरीको प्रयोगमा वढावा दिने, कृषिको इ–मार्केटिङ्ग गर्ने आधुनिक सुविधा सम्पन्न कृषि तथा तरकारी बजारको निर्माण गर्ने र आलु, प्याज लगायतका कृषि जन्य वस्तुको लामो समय सम्म भण्डारण गर्नु आधुनिक कोल्ड स्टोरेज निर्माण गर्नु जरुरी छ ।

खजुरापालिकाको खजुरा बजार जिल्लाकै पुरानो गल्ला मण्डीको रुपमा स्थापित छ । यसलाई रिभाइव गर्नु अबको प्राथमिकता हुनुपर्छ ।

खजुरा गाउँपालिकाका स्थानीयको अदम्य साहस र निरन्तरको मिहेनतबाट तयार भएको क्यान्सर अस्पताल प्रदेश नं. ५ र प्रदेश नं. ६ को क्यान्सर पीडित विरामीको स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य अस्पतालका रुपमा अगाडि बढिरहेको छ । यो खजुराको सम्वृद्धिका लागि कोशेढुंगा हुनसक्छ ।

मुस्लिम, मधेसी, दलित, भूमिहीन र सिमान्तकृत समुदायलाई माथि उकास्न विशेष आर्थिक प्याकेजको व्यवस्थापन गर्न जरुरी छ ।

व्यवस्थित बसोबासका लागि पुर्नवासद्धारा बस्ती बसाइएका गाउँपालिकाका केहि वडाहरु जस्तै सबै वडाहरुको व्यवस्थित बनाउनु आवश्यक छ । ताकि भविष्यमा यि वस्तीहरुलाई प्रदेश नं.५ कै उत्कृष्ट नमुना स्मार्ट सिटीको रुपमा विकास गर्न सकियोस् ।

नेपालगन्ज, खजुरा, उढरापुर, सितापुर, गौघाट, रिमझिम बजार, परसपुर हुदै नेपालगन्ज जोड्ने रिङ्ग रोडको विकास गर्न सके यस पालिकाको समृद्धि र आर्थिक विकासमा टेवा पुग्न सक्छ ।
गिजरा सामुदायिक वन र गौघाटको सामुदायिक वनलाई उचित संरक्षण र व्यवस्थापन गरी यस क्षेत्रमा पर्यापर्यटनको विकासमा मद्दत पु¥याउन सकिन्छ ।

यस पालिका जिल्लाकै शैक्षिक क्षेत्रका हिसाबले समेत अब्बल गाउँपालिका हो । यहाँ एकवटा सामुदायिक क्याम्पस, एकवटा निजी क्याम्पस, दर्जनौ निजी र दर्जन बढी सरकारी विद्यालयहरुले शिक्षा प्रदान गरिरहेका छन् ।
जनता मा.वि. सन्तकुटीले कृषि सम्बन्धी विशेष शिक्षा सेवा दिइरहेको छ भने ज्ञानोदय मा.वि.ले ओभरसियर सम्बन्धी पठनपाठन गराउदै आएको छ । यस पालिकामा रहेका ६ वटा निजी मा.वि. र दर्जन बढी आधारभूत तहका निजी विद्यालयले गुणस्तरीय शिक्षा सुविधा दिइरहेका छन् ।

खजुरा गाउँपालिका भित्र रहेको जनक शिक्षा सामाग्री केन्द्रको छापाखाना सञ्चालन गर्न भवन निर्माण गरिएको लामो समय भै सक्दा पनि सरकारी उदासीनताका कारण यो सुचारु हुन सकेको छैन । अब, यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी यसै गाउँपालिकाले लिई काम सुरु गरे प्रत्येक वर्ष बाँके, बर्दिया लगायत प्रदेश नं.५ र ६ मा हुने पुस्तक अभावको समस्यालाई व्यवस्थापक गर्नका साथै यस पालिकामा रोजगारीको सिर्जना गर्न सकिन्छ ।

लगभग राज्यले विघटनको मार्गमा पुर्याउन लागेको कपास विकास समिति प्रधान कार्यालय खजुराको पुनर्जिवन दिनु र यसलाई उचित योजनाका साथ अगाडि बढाई संचालन गर्न सके हाम्रो आधारभूत आवश्यकता मध्येको महत्वपूर्ण आवश्यकता स्वदेश मै पुरा गर्न सकिन्छ र यसले रोजगारीको थप ढोका खोल्ने छ ।

निकै प्रतिक्षापछि अब बन्न लागेको हुलाकी सडकको निर्माण पूरा भै संचालनमा आए खजुरा गाउँपालिकाको खजुरा बजारको समृद्धिको बाटो अझ फराकिलो हुने खजुरा बजार प्रदेश नं.६ को मुख्य प्रवेशद्धारको रुपमा उदाउने छ । प्रदेश नं.६ का मुख्य पर्यटकीय गन्तव्यहरु कर्णाली, घोडाघोडी ताल, टिकापुर पार्क, खप्तड क्षेत्र, शुल्लाफाँट बन्यजन्तु आरक्ष र हाम्रो छिमेकी जिल्ला बर्दियाको ठाकुरद्धारा जान स्वदेशी तथा विदेशी पाहुनाहरुको बढि बसाई गर्ने ट्रान्जिट स्थलको रुपमा यसको विकास हुने सम्भावना बलियो छ ।

यो सबै सम्भावनालाई कार्यान्वयन गर्न सक्षम जनप्रतिनिधिको विकल्प छैन । बैसाख ३१ को निर्वाचनमा विवेकपुर्ण मतदान गरौं । सपनालाई पुरा गर्ने अदम्य साहस र खजुरेली जनताको अपेक्षामा खरो उत्रिन सक्ने नेतृत्व चुनौं ।

(युवा राजनीतिकर्मी निरौला नेकपा एमाले खजुराका सह/संयोजक हुन्)

प्रतिक्रिया

प्रतिक्रिया