पत्रकारीतामा पछिल्लो पटक छिरेको र चर्चामा रहेको वाक्यांश हो, ‘मोवाइल जर्नालिज्म’ । यो प्रविधि अहिले धेरै सञ्चार गृहहरुले पच्छ्याइरहेका छन् । यो प्रविधि प्रयोग गरेर पत्रकारीता गर्ने पत्रकारलाई ‘मोजो’ (मोवाइल जर्नालिष्टको छोटो रुप) भनिन्छ । सन् २००५ मा अमेरीकाबाट सुरु भएको मोजो शब्द र यिनको काम अहिले सन्सारका हरेक कुनामा फैलदो छ । मोजोहरुले साथै बोकेर हिड्न मिल्ने विद्युतीय उपकरण प्रयोग गर्छन् र पलपल सूचना अद्यावधिक गर्छन् । जस्तो कुनै समाचारदाता समाचार श्रोत नजिकै पुग्छ, जानकारी र तस्वीर संकलन गर्छ र त्यहीबाट सामाजिक सञ्जालमा सूचना अपलोड गर्छ भने यो मोवाइल जर्नालिज्मको परिभाषा अन्तरगत पर्छ ।
सूचनाको पहुँचमा इन्टरनेट बरदान सावित भएको छ । सञ्चार गृहहरु सामाजिक सञ्जालमा आवद्ध छन् । फेसबुक र ट्वीटर अहिलेका सूचना प्रसार गर्ने लोकप्रिय सामाजिक सञ्जालका साइट हुन् । मानिसका हातहातमा मोवाइल फोन छ । मोवाइल फोनमा इन्टरनेट जडित हुन्छ, त्यहीँबाट सूचनाको सन्सार चियाउन सकिन्छ । अझ मानिसहरुमा सूचनाको भोक जाग्दो छ ।
उनीहरु हरपल ‘ब्रेकिङ न्यूज’ को पर्खाइमा हुन्छन् । सञ्चार गृहहरु मध्ये कतिपय त एसएमएसबाट पनि ‘ब्रेकिङ न्यूज’ प्रवाह गरिरहेका छन् ।
यस्तो अवस्थामा सूचना चाँडो प्रवाह गर्न सञ्चार गृहहरु सामाजिक सञ्जालको प्रयोग गर्छन् । मोजोहरुको भूमिका यसबेला महत्वपूर्ण हुन्छ । सामाजिक सञ्जालमा आएका समाचार अन्तरक्रियात्मक हुन्छन् । पाठकले तुरुन्तै कमेन्ट गर्न, सेयर गर्न, लाइक गर्न या असहमति जनाउन सक्छन् । कुनै सूचना अपुरो छ भने तुरुन्तै खबरदारी गर्न पनि सक्छन् । त्यसैले यो छापा माध्यम या रेडियो टेलिभिजन भन्दा फरक छ । अन्तरक्रियात्मक भएकाले लोकप्रिय पनि छ ।
पछिल्लो पटक अर्को शव्दावलीले पत्रकारीतामा प्रवेश पाएको छ, ‘व्याकप्याक जर्नालिज्म’ । मोवाइल जर्नालिष्ट (मोजो) हरुले गर्ने पत्रकारीतालाई व्याकप्याक जर्नालिज्म भनिन्छ । यस परिभाषाले पत्रकारले केवल समाचार संकलन र सम्प्रेषण मात्र गर्दैन, उसले त्यही समयमा फोटोग्राफर, भिडियोग्राफर, समाचार÷भाषा सम्पादक, फिचर लेखकको फरक भूमिका पनि निभाउने गर्दछ भन्ने मान्यता राख्छ । यस्ता पत्रकारको पिठ्यूँमा यौटा झोला हुन्छ । त्यो झोलामा यौटा ल्यापटप, क्यामेरा, इन्टरनेट डिभाइस, भ्वाइस रेकर्डर हुन्छ । पत्रकारले सूचना संकलन गर्ने वित्तिकै त्यसलाई समाचारको रुप दिन्छ र पाठक/दर्शक-श्रोतासम्म पुर्याउछ । पत्रकारले पिठ्यूँमा झोला बोकेर हिड्ने भएकाले यसलाई व्याकप्याक जर्नालिज्म (झोले पत्रकारीता) भनिएको पनि हुनसक्छ ।
मोवाइल जर्नालिष्ट हुनलाई नयाँ प्रविधि प्रयोग गर्न सक्ने हुनुपर्छ । खल्तीमा यौटा डायरी र कलम मात्र बोकेर गोष्ठीमा जाने र सञ्चार गृहमा आएर हातैले लेखेर सम्पादकलाई समाचार दिने चलनको लगभग अन्त्य नै भै सकेको अवस्था छ । सामाजिक सञ्जालमा समाचार अपलोड गर्ने जिम्मेवारी नपाएपनि मोवाइल जर्नालिष्टले सम्पादकलाई डिजिटलाइज्ड सामाग्री नै उपलब्ध गराउँछ । यसले सञ्चार गृहमा समाचार टाइप गर्ने कार्य बोझ घट्छ भने सम्पादक र समाचारदाता दुवैलाई सहज हुन्छ ।
अबको यक्ष प्रश्न भनेको, सूचनाको सर्वव्यापीकरण भै रहँदा छापा माध्यमको भूमिका र भविश्य के हुने भन्ने हो । बिहानै कतै सडक दुर्घटना भएको छ भने त्यसको समाचार छापा माध्यममा भोलिपल्ट मात्रै आउँछ । तर, दुर्घटना हुने वित्तिकै पत्रकारहरु घटनास्थल पुगेर सूचना र तस्वीरहरु सामाजिक सञ्जालमा अपलोड गरिसक्छन् । एफएम रेडियो स्टेशनहरुले हरेक घन्टामा ‘अपडेट’ दिन्छन् । यौटा पाठक-श्रोता यौटै समाचार दिनभरी पढ्दा र सुन्दा वाक्क भै सकेको हुन्छ । त्यही समाचार भोलिपल्टको छापा माध्यममा समेत मुख्य समाचार भएको देख्दा उसको मनस्थिति कस्तो होला । समाचारमा नयाँपन भएन भने पाठक संख्या घट्ने मात्र होइन, त्यसले नकारात्मक प्रभाव पनि
पार्नेछ ।
मेरो प्रश्न छ, पत्रिका किन प्रकाशन गर्ने ? प्रकाशकहरुले जनताको सूचनाको हक स्थापित गरेर समाजसेवा गर्न पत्रिका निकालेको ‘आर्दश दावी’ गर्न सक्लान् । अहिलेको ‘पैसा युग’मा पत्रिका समाज सेवागर्न होइन, केही कमाउन, आफू रोजगार हुन र अरुलाई पनि रोजगारी दिएर समाजसेवा गर्न प्रकाशित हुन्छन् भन्ने मेरो दावी छ । नाफा कमाउने उद्धेश्य राखेपछि त्यहाँ विज्ञापनको कुरा आउँछ । व्यवसायीहरुले विज्ञापन मार्फत लगानी गरेपछि उनीहरुले प्रतिफल पनि खोज्छन् । पाठक गुमाउँदै लगेपछि पत्रिकाले विज्ञापन पनि गुमाउँदै जान्छ । यस्तो अवस्थामा प्रतिवपर्धा अस्वस्थ हुन्छ । प्रकाशकहरु संहिता विपरितका सम्झौता गर्न समेत कहिलेकाँही बाध्य हुन्छन् । यस्तो अवस्था आउन नदिने राम्रो उपाय सत्य, निष्पक्ष र नयाँ समाचार दिएर पाठक खुशी पार्ने हो भन्नेमा दुइमत नहोला । प्रयोगमा आएका प्रविधि प्रयोग गर्दै पत्रकार आफू अद्यावधिक हुने र सूचना सम्प्रेषण विधिमा नयाँपन दिन सकिएमा पाठकको माया पाइरहन सकिएला ।
मोफसलमा पत्रिका निकालेर निरन्तरता दिन सहज पक्कै छैन । तर, मोफसलमा जति धेरै चुनौती छन्, त्यो भन्दा धेरै अवसर छन् । दैनिक नेपालगन्ज सूचना लिएर पाठकसामु सबैभन्दा पहिले पुगिरहेको दावी गर्छ । नेपालगन्जमा निस्कने अन्य दैनिक पत्रिकाहरुको संख्या भन्दा धेरै दैनिक नेपालगन्जका सामाजिक सञ्जालका पाठकहरु हुनुले पनि यो कुराको पुष्टी गर्छ । हामी फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत पाठकसँग पलपल जोडिएका छौं । नेपालगन्जन्यूज डट कम मार्फत सन्सारभरीका नेपालीभाषी पाठकहरु हामीसँग आवद्ध छन् ।
बदलिँदो परिवेश र प्रविधिको युगमा दैनिक नेपालगन्जले आफूलाई समय सापेक्ष बनाउँदै लगेको छ र आगामी दिन यो क्रम जारी रहने छ । पाठकहरुको माया यसरी नै मिलिरहोस् र हामीलाई पलपल समाचार सम्प्रेषण गर्ने प्रेरणा मिलिरहोस् भनेर नेपालगन्जन्यूज डटकमलाई नयाँ ढाँचामा प्रस्तुत गरिएको छ । पाठकका रचनात्मक सुझाव सधैं स्वागतयोग्य रहनेछन् ।