बाँकेको स्वास्थ्य चौकीमा औषधी अभाव

तीन तहका सरकार हुँदा पनि स्वास्थ्य क्षेत्रमा समस्या

नेपालगन्ज – देश संघीयतामा गएसंगै सबै सेवाहरु स्थानीय तहमा गएको छ । जिल्ला स्थित विषयगत कार्यालयहरुले प्रवाह गर्ने सेवा स्थानीय तहबाट प्रवाह हुन्छ । स्थानीय तहको निर्वाचन हुनुपुर्व जिल्ला जन स्वास्थ्य कार्यालयको मातहतमा रहेका स्वास्थ्य संस्थाहरु स्थानीय तहमा गएका हुन् ।

देश संघीयतामा गएपछि विगत भन्दा सहजताका साथ स्वास्थ्य सेवा पाइन्छ भन्ने आम नागरिकको आशा थियो । नेपालको संविधानमा नै आधारभुत सेवामा परेको स्वास्थ्य सेवाको क्षेत्रमा बिगतको तुलनामा झन् समस्या देखिएको छ । अहिले स्वास्थ्यको क्षेत्रमा बिभिन्न समस्या बेहोरिरहेको स्वास्थ्यकर्मीहरुको गुनासो छ । संघीयताले स्वास्थ्य क्षेत्रको सेवा कार्यान्वयन गर्न समस्या भएको प्रश्न पनि उठ्न थालेको छ ।
जिल्ला जन स्वास्थ्य कार्यालय हुँदा एउटै कार्यालय मार्फत एकै तरिकाले समन्वय हुने भएकाले स्वास्थ्य क्षेत्रमा खासै समस्या देखिएको थिएन । हाल जिल्ला जन स्वास्थ्य कार्यालयसँग सम्बन्ध टुटेपछि स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव हुने गरेको छ । नेपाल सरकारले स्वास्थ्य चौकी स्तरमा ३५ प्रकारको औषधिहरु निशुल्क उपलब्ध हुनुपर्ने ब्यवस्था गरेको छ । तर, बाँकेका स्वास्थ्य चौकीहरुमा ३५ प्रकारको औषधीहरु नियमित रुपमा उपलब्ध नभएको नागरिकहरुको गुनासो छ । औषधी लिनको लागि स्वास्थ्य चौकीमा गएपछि औषधि नै नपाइने गरेको नागरिकहरु बताउँछन् । स्वास्थ्य संस्थामा उपलब्ध हुने औषधीको खरिद प्रक्रिया सहज नहुँदा नागरिकको माग अनुसारको औषधीको आपूर्ति हुन नसकेको बताइन्छ ।

स्वास्थ्य सेवा स्थानीय तहमा आएपछि सहज, सरल र सुलभ तरिकाले सेवा पाउने आशा बोकेका नागरिकहरुले पहिलेको तुलनामा स्वास्थ्य सेवामा समस्या भोग्नु परेको छ । खजुरा गाउँपालिका वडा नं. ६ का वेनी प्रसाद वर्माले स्वास्थ्य चौकीमा औषधीको अभाव हुने गरेको बताए । स्थानीय सरकारको मातहतमा स्वास्थ्य सेवा आएपछि स्वास्थ्य सेवामा सुधार आउनुको साटो स्वास्थ्य संस्थामा गएको समयमा औषधि नै नपाइ फिर्ता हुनपरेको वर्माको भनाइ छ ।

खजुरा गाउँपालिका वडा नं. ५ का रंगि लाल यादवले पहिले मागेको औषधी पाइने गरेकोमा अहिले भने अनसारको औषधी पाउन छोडेको बताए । ‘३५ प्रकारको औषधि निशुल्क पाइने बताए पनि सबै औषधीहरु पयाप्त मात्रामा भएको पाइँदैन,’ यादवले भने । नागरिकहरुको नजिकको अस्पताल स्वास्थ्य चौकी भएपनि जहिले औषधी छैन भन्ने सुनिनु राम्रो नभएको यादवको भनाइ छ । स्वास्थ्य चौकीमा पर्याप्त मात्रमा औषधि उपलब्ध नहुँदा नियमित रुपमा सेवाग्राहिको माग अनुसारको औषधी वितरण गर्न नसकिएको उढरापुर स्वास्थ्य चौकीका कर्मचारी बताउँछन् ।

तोकिएको सबै प्रकारका औषधिहरु कहिल्यै पनि उपलब्ध नहुने गरेको बताउँदै कर्मचारीहले भने, ‘विरामीहरुलाई आवश्यकता अनुसारको औषधी दिन नसक्दा आक्रोश व्यहोर्नु परिरहेको छ ।’ ‘औषधी अभावको कारण १५ दिन सम्म औषधी सेवन गर्नुपर्ने ब्यक्तिलाई ३ दिनको लागि मात्रै दिएर पठाउनुपर्ने बाध्यता हुन्छ,’ उनीहरुले भने ।’
सितापुर स्वास्थ्य चौकीका इन्चार्ज खडानन्द भट्टराइले स्वास्थ्य संस्था स्थानीय तहमा आएपछि केहि कुरामा सुधार आएपनि औषधी आपूर्तिमा भने समस्या आएको बताए । पर्याप्त मात्रामा औषधि नहुँदा सेवाग्राहीलाई सबै प्रकारको औषधि उपलब्ध गर्न असम्भब भएको भट्टराइले बताए । सम्बन्धित निकायले समयमा औषधी खरिद गर्न नसक्दा समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ ।

पहिले जिल्ला जन स्वास्थ्य कार्यालय मार्फत सबै औषधिको आपूर्ति हुने गरेको थियो भने अहिले केहि औषधि संघ, केही प्रदेश र केही स्थानीय सरकारले खरिद गरि पठाउने ब्यवस्था छ । तीन वटा सरकार कसले कुन औषधि खरिद गर्ने भन्ने विषयमा स्पष्टता नहुँदा पनि औषधी आपूर्तिमा समस्या आएको सम्बद्धहरु बताउँछन् ।

खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण बहादुर खड्काले स्थानीय तह, प्रदेश र संघ सरकारसँग राम्रो सहकार्य तथा समन्वय नहुँदा औषधी आपूर्तिमा समस्या आएको बताए । सबै औषधि एउटै निकायबाट खरिद गर्न सकिने प्रावधान नहुँदा समस्या आएको बताउँदै कुन औषधी कस्ले र कति खरिद गर्ने भन्ने विषयमा तीन तहको सरकार बीच समन्वयको अभाव भएको खड्काले बताए । अहिलेको औषधी खरिद प्रक्रिया नै सहज नहुँदा स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधी पु¥याउन नसकिएको र नागरिकहरुले माग अनुसारको औषधी पाउन नसेकेको खड्काको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा औषधीको समस्या मात्रै नभइ स्वास्थ्य संस्थामा आवश्यक पर्ने बजेट नहुँदा कार्यालय ब्यवस्थापनमा समेत समस्या देखिएको छ । जिल्ला जन स्वास्थ्य कार्यालय हुँदा विरामी पर्चा वापत स्वास्थ्य संस्थामा जाने रकम बन्द भएपछि कार्यालय ब्यवस्थापनमा समस्या आएको स्वास्थ्यकर्मीहरु बताउँछन् । पहिले प्रति विरामी पर्चा वापत ५ रुपैयाँका दरले स्वास्थ्य चौकीलाई रकम प्राप्त हुने गथ्र्यो । पर्चा वापत प्राप्त हुने रकमबाट कार्यालय ब्यवस्थापन तथा मसलन्द खर्च चलाउँदै आएका स्वास्थ्य चौकीमा अहिले कार्यालय ब्यवस्थापनका लागि कुनै प्रकारको रकम आउँदैन ।

कार्यालयका लागि आवश्यक पर्ने सानोतिनो सामान खरिद गर्ने सम्म रकम नभएको स्वास्थ्य चौकीका कर्मचारीहरु बताउँछन् । एउटा डटपेनसम्म खरिद गर्न पनि पालिकाको मुख ताक्नुपर्ने अवस्था रहेको सितापुर स्वास्थ्य चौकीको प्रमुख खडानन्द भट्टराइले बताए । पहिले जिल्ला जन स्वास्थ्य कार्यालयबाट पर्चा बापत उपलब्ध हुने रकमबाट आवश्यक खर्च चलाउदै आएको र कार्यालय ब्यवस्थापन हुदै आएको बताउँदै अहिले ब्यवस्थापन गर्न असहज भएको उनले बताए ।
स्वास्थ्य सेवा स्थानीय सरकारको मातहतमा गएपछि स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिक्ताका साथ महत्व दिन नसक्दा जनताहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको स्थानीय सरकार माथि प्रश्न चिन्ह खडा भएको छ । स्वास्थ्य जस्तो संवेदनसिल विषयमा सम्बन्धित निकायहरुको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया