सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य विस्तार गर्ने संकेत दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्का ले बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा सुधारका लागि फिनल्यान्डसँग सहकार्य बढाउने प्रस्ताव राख्नुभएको थियो । विश्वस्तरमा उच्च गुणस्तरको शिक्षा प्रणालीका लागि परिचित फिनल्यान्डसँगको सहकार्यले नेपालको विद्यालय शिक्षामा सकारात्मक रूपान्तरण ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पोखरेलले नेपाल र फिनल्यान्डबीच दीर्घकालीन रूपमा सुमधुर सम्बन्ध कायम रहेको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले सरकारका प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै शिक्षा क्षेत्रमा प्राप्त सहयोगको प्रशंसा गर्नुभयो र भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
भेटमा द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन तथा शिक्षा क्षेत्रमा थप सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।
यस अवसरमा राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारको सहयोग आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।










