नेपालगन्ज – मंगलबार जिल्ला हुलाक कार्यालय बाँकेले नेपालगन्जमा रहेका रेडियोहरुको अनुगमन गरेको छ । हुलाकले बागेश्वरी, रेडियो मर्निङ्ग स्टार, रेडियो सदभाव एफ एम, भेरी एफ एम तथा रुबरु एफ एमको अनुगमन गरेको हो । अनुगमनका क्रममा इजाजत नविकरण, लाइसेन्स नविकरण, नेपालसरकारलाई बुझाउनु पर्ने रोयल्टी बुझाए नबुझाएको, संगीत रोयल्टी बुझाए नबुझएको, लोक कल्याणकारी बिज्ञापन प्रशारण गरे नगरेको तथा रेडियोको स्टुडियो तथा समग्र ब्यबस्थापनबारे जानकारी लिएको हुलाक प्रमुख गोविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
अनुगमन टोलीले प्रत्येक वर्ष असार मसान्त सम्ममा इजाजत तथा लाइसेन्स नविकरण गर्नु पर्ने, पौष मसान्तसम्ममा रोयल्टी बुझाउनु पर्ने तथा नबिकरण गर्नलाई संगित रोयल्टी तिरेको हुनुपर्ने बिषयमा जानकारी गराएको थियो ।
जिल्ला हुलाक कार्यालय बाँकेमा पाँच सय वाट क्षमता सम्मका दश बटा एफ एमहरुको इजाजत नविकरण, लाइसेन्स नविकरणका साथै लोक कल्याणकारी बिज्ञापन प्रशारण गरे नगरेको बिषयमा अनुगमनको काम हुदै आएको छ भने पांच सय वाट क्षमता भन्दा बढीका एफएम रेडियोहरुको अनुगमन गरी सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा प्रतिबेदन पेश गर्ने काम हुदै आएको छ ।
अनुगमनमा प्रमुख हुलाक अधिकृत पाण्डे, नायव सुब्बा गगन बहादुर थापा तथा खरिदार मोहनलाल कहार सहभागी थिए ।