बर्दिया÷भावुक योगी
पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको ज्यान गएको छ । बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणमा परी बाँसगढी नगरपालिका–२ राँझाकी ४० वर्षीय गंगा सलामी मगरको ज्यान गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिएका छन् ।
‘मृतकको हात र घाँटीमा बाघले हानेको गम्भिर घाउ देखिन्छ, उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजादै गर्दा बाटोमा नै ज्यान गयो’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताएका छन् । एकसाता अघि भगवती सामुदियक वनमा घाँस काटन गएकी एक महिला लक्ष्मी मल्ललाई पनि पाटे बाघले आक्रमण गर्दा घाइते बनाएको थियो । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको निकुञ्जले जनाएको छ ।
मंगलबार दिउँसो पाटे बाघले एउटा गोरु र ८ वटा बाख्रा समेत मारेको स्थानीयले जनाएका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन् । निकुञ्ज भित्रबाट निस्किएर सामुदायिक वनमा समेत पाटे बाघले आक्रमण गरेपछि यस क्षेत्रका स्थानीवासी त्रसित बनेका छन् ।
बाघको आक्रमणबाट फेरी एक महिलाको ज्यान गएपछि बाघ हिंस्रक भएको हुनसक्ने भन्दै निकुञ्ज प्रशासनले क्यामरा ट्रयापिङ प्रविधि सहित निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली तैनाथ गर्ने जनाएको छ । उक्त बाघ नियन्त्रणका लागि तत्काल हात्ती सहित प्राविधिक टोली खटाइने प्रमुख संरक्षण अधिकृत बरालले बताए ।
सात महिनाको अवधीमा बर्दियामा पाटे बाघको आक्रमणमा परि हालसम्म ५ जनाको ज्यान गएको छ । यसअघि गेरुवा गाउँपालिकाको दङ्गपुर र ठाकुरबाबा नगरपालिकाको भुरिगाउँमा बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको पाटे बाघले आक्रमण गर्दा दुई जनाको ज्यान गएको थियो । यसैगरी बढैयाताल गाउँपालिकाको मैनापोखरमा नेपाल तथा भारतीय जंगलबाट र राजापुर क्षेत्रमा भारतीय जंगलबाट आएको पाटे बाघको आक्रमणमा परि दुई जनाको ज्यान गएको थियो ।
पाटे बाघको आतंक बढिरहेको भन्दै बर्दिया निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका सामुदायिक वनभित्र घाँस, दाउरा लिन जंगलभित्र प्रवेस नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिएका छन् ।
यसैबीच, बर्दियामा पाटे बाघको आक्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्जले राहत स्वरुप १० लाख रुपैँया हस्तान्तरण गरेको छ । ठाकुरबाबा नगरपालिका १ भुरिगाउँका पहरिया थारू र गेरुवा गाउँपालिका ४ की रामकली शाहीका परिवारलाई निकुञ्जले राहत रकम हस्तान्तरण गरेको हो । पहरीया थारु र रामकली शाहीका परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्जका तर्फबाट प्रदान गरिने राहत वापतको १० लाख रुपैँया हस्तान्तरण गरिएको हो ।
यसअघि मृतक पहरिया थारुका परिवारलाई काजक्रिया वापत निकुञ्जले ५० हजार रुपैँया प्रदान गरेको थियो । यस्तै वन्यजन्तुबाट ज्यान गुमाएका परिवारलाई रहत स्वरुप हाम्रो मध्यवर्ति साकोसबाट १० हजार रुपैँया र ठाकुरबाबा नगरपालिकाबाट १० हजार रुपैँया समेत प्रदान गरिएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, श्रीरामनगर उपभोक्ता समितीका अध्यक्ष जनार्दन योगी लगायतको संयुक्त उपस्थितीमा मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैँयाको चेक हस्तान्तरण गरिएको हो ।
वन्यजन्तुहरु गाउँ पसेर स्थानियको ज्यान लिएमा नेपाल सरकारले १० लाख रुपैँया राहत स्वरुप प्रदान गर्दै आएको छ । गत भदौ ८ गते ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खानेपानी ट्यांकी नजिक करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला ७० वर्षीय वृद्ध पहरिया थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको थियो ।