नेपालगन्ज – दाङको तुलसीपुर बजारलाई सुरक्षित राख्नका लागि आधुनिक सिसि क्यामेरा जोडिने भएको छ । उपमहानगरपालिकाले टेण्डर आव्ह्वान गरे प्रक्रिया अगाडि वढाएको हो । मुख्य वजारमा विभिन्न खाले घटना भइरहेको भन्दै उपमहानगरपालिकाले सिसि क्यामेरा जडान गर्ने निर्णय गरेको हो ।
तत्कालका लागि वजार क्षेत्रभित्र मुख्य ठाउँमा २० वटा क्यामेरा जडान गर्ने गरी उपमहानगरपालिकाले टेण्डर प्रक्रिया समेत अगाडि वढाएको प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले जानकारी दिए । उनले उपमहानगरपालिका भित्र १ सय १ वटा क्यामेरा जडानको योजना भएपनि तत्कालका लागि २० वटा क्यामेरा जडान गरिने भएको पनि वताए ।
गतवर्ष वजेटमा उपमहानगरपालिकाले विनियोजन गरेको २५ लाखमा सिसी क्यामेरासँगै १ सय १ वटा सिसी क्यामेराको व्याकअप र अप्टिकल फाइवर विछ्याने काम समेत गरिने प्रमुख प्रशासकीय अधिकृत सारुले वताए । ‘व्याकअप र अप्टिकल फाइवरको काम पुरा भएपछि सिसि क्यामेरा राख्ने काम अन्य निकायले पनि गर्न सक्छ,’ उनले भने ।
इलाका प्रहरी कार्यालयले बनाएको गुरुयोजना अनुसार १ सय १ वटा नै सिसी क्यामेरा जडानका लागि प्रदेश र संघ सरकारसँग समन्वय गरिने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले स्थानीय व्यावसायिक संगठनहरुले पनि यसमा सघाउन सक्ने समेत वताए । ‘एक वर्षभित्र नै पुरै वजारभरि सिसी क्यामेरा हुनेछन् त्यसका लागि विभिन्न निकायसँग हामीले सहकार्य गर्नेछौ,’ नगरप्रमुख पाण्डेले भने । उनका अनुसार, अत्यन्त आधुनिक सिसी क्यामेरा जडान गर्नेगरी उपमहानगरपालिकाले योजना अगाडि बढाएको हो ।